‘ट्राभल डकुमेन्ट’ बनाउन भुटानी शरणार्थीसँग सात लाखको बार्गेनिङ

झापा, ३० कात्तिक ।भुटानी शरणार्थी प्रतिनिधिले शरणार्थीको ट्राभल डकुमेन्ट बनाउन सिफारिस दिन सात लाख रुपैयाँ बार्गेनिङ गरेको पाइएकाे छ । भुटानी शरणार्थी शिविर बेलडाँगीको शिविर निरीक्षण टिमका संयोजक प्रेमकुमार भट्टराईले निःशुल्क बन्ने सिफारिसका लागि सात लाखको बार्गेनिङ गरेको अडियो रेकर्ड फेला परेको हो ।

पुनर्वास भएर अमेरिका पुगेकी भुटानी शरणार्थी लोकमाया अधिकारीसँग उनका बुबाआमाको ‘ट्राभल डकुमेन्ट’ बनाउन भट्टराईले सात लाख रुपैयाँ माग गरेका हुन् । उनका ८७ वर्षीय बुवा डिल्लीराम अधिकारी र ८० वर्षीया आमा नरमाया शिविरमा एक्लै छन् । उनीहरूलाई शिविरमा बस्दा खाना खुवाएर दिनेसमेत काेही नभएपछि लोकमायाले ‘स्पोन्सर’मा अमेरिका लैजाने तयारी गरेकी थिइन् । स्पोन्सरका लागि सम्पूर्ण तयारी सकिए पनि ‘ट्राभल डकुमेन्ट’ बन्न सकेको छैन । ट्राभल डकुमेन्टका लागि शिविर सुपरीवेक्षकले सिफारिस दिनुपर्छ । त्यो सिफारिस जिल्ला प्रशासन कार्यालय हुँदै गृह मन्त्रालयमा पुग्छ । गृहले राहदानी विभाग ट्राभल डकुमेन्टका लागि सिफारिस पठाउँछ । गृहसम्म जाँदा एक रुपैयाँ पनि पैसा नलाग्ने गृह मन्त्रालयले जनाएको छ ।

भुटानी शरणार्थी शिविरमा सुरेन्द्रराज दाहाल सुपरीवेक्षक छन् । प्राप्त अडियोमा भट्टराईले लोकमायासँग गरेको संवादमा दाहालले नै अह्राएर बार्गेनिङ गरेको प्रष्ट हुन्छ । ‘उहाँ (शिविर सुपरीवेक्षक)मार्फत जोडिएर उसले भने जति रकम दिनसक्ने भए काम गर्ने जिम्मा मेरो हो । डकुमेन्ट बनाएर घरसम्मै ल्याइदिन सक्छ । छ/सात लाख भयो भने काम गर्न सकिन्छ,’ लोकमायासँगको सम्पर्कमा भट्टराईले भनेका छन् । भट्टराईले सम्पर्क गरेलगत्तै शिविर सुपरीवेक्षक दाहालले लोकमायालाई सम्पर्क गर्दै भट्टराईले पठाएको म्यासेज हेर्न आग्रह गरेको अडियो न्युज कारखानालाई प्राप्त भएको छ । त्यसपछि म्यासेज हेर्दा भट्टराईले पैसा जम्मा गर्न खाता नम्बरसहितको सुकमाया सुब्बाको नाममा रहेको सिद्धार्थ बैंकको चेक पठाएको लोकमाया बताउँछिन् । सुकुमाया प्रेमकुमारको श्रीमती हुन् ।

वृद्ध बुबाआमालाई हेरचाहका लागि लैजान खोज्दा ‘ट्राभल डकुमेन्ट’ बनाउन सात लाख मागेको लोकमायाले आरोप लगाइन् । अमेरिकामा रहेकी उनले टेलिफोन सम्पर्कमा सात लाख बुझाउन नसक्दा बुवाआमालाई लैजान नसकिएको गुनासो गरिन् । ‘बुवाआमा वृद्ध हुनुहुन्छ । बिरामी हुनुहुन्छ । खाना बनाएर खान पनि सक्नुहुन्न । खाना पकाएर दिने पनि छैनन् । सँगै ल्याउँ भनेर प्रोसेस अघि सारेको ट्राभल डकुमेन्ट सिफारिसका लागि सात लाख माग्नुहुन्छ,’ उनले टेलिफोन सम्पर्कमा भनिन्, ‘हामीसँग सात लाख कहाँबाट हुन्छ ? शरणार्थी भएर गएका हामीलाई खान पनि धौ-धौ हुन्छ । घर भाडा तिर्न खान नै मुस्किल हुन्छ । कहाँबाट ल्याउने त्यत्रो पैसा ।’

शिविर सुपरीवेक्षक दाहालले यसअघि पनि भुटानी शरणार्थीलाई विभिन्न बहानामा दुःख दिएको शरणार्थीले गुनासो गर्दै आएका छन् । यद्यपि दाहालले भने अधिकारी दम्पतीलाई दातृ निकाय युएनएचसीआरले अस्वीकार गरेकाले ट्राभल डकुमेन्टका लागि सिफारिस गर्न नमिल्ने बताए । उनले कसैसँग पैसाको बार्गेनिङ नगरेको दाबी गरे । यद्यपि शिविर निरीक्षण टोली संयोजक भट्टराईले भने पैसाको बार्गेनिङ गरेको स्वीकार गरे । पैसाको लोभ देखाएका कारण आफूले खाता नम्बरसमेत पठाएको बताए । ‘म आफैँ माग्दै गएको हैन । मलाई लोभ देखाइयो । आस देखाएपछि मात्र मैले काम गर्न खोजेको हुँ,’ उनी भन्छन्, ‘तर, पैसा पठाउनलाई मैले दबाब पनि दिएको छैन । किन ढिला गरेको पनि भनेको छैन । मेरो लेभलबाट काम नहुने भएपछि मैले यो कामबाट हात झिकेको हुँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।