अब दैनिक दुई लाखलाई कोरोना विरुद्ध खोप लगाइने

काठमाडौँ, १८ मङ्सिर । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दैनिक दुई लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।

“अहिले पनि करिव दुई लाख जनाका हाराहारीमा खोप लगाइरहेका छौँ”, उहाँले भन्नुभयो, “खोप लगाउन आएका कोहीलाई पनि खोप नलगाकन फर्काएका छैनाँै । खोपकेन्द्रमा आएका छन् सबैलाई खोप लगाएका छौँ ।” उहाँका अनुसार मन्त्रालयले जनताको घरदैलोसम्म खोप पु¥याउनका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । “हामीसँग प्रसस्त्र मात्रामा खोप रहेको छ । अहिले पनि नियमित खोप आइरहेका छन्”, सहप्रवक्ता डा अधिकारीले उहाँले भन्नुभयो, “खोप लगाउन कोही पनि नछुटुन भनेर जनताको घरदैलोसम्म खोप लगाउने अभियान सञ्चालन गर्नसम्बन्धी जिल्लाका खोप केन्द्रलाई निर्देशन दिइसकेका छौँ ।”

उहाँले सर्वसाधारणमा कोभिड–१९ विरुद्धको खोप पु¥याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गर्नेले खोप लगाइसकेको भन्दै अब स्थानीय तहमा पुगेर नै खोप लगाउन छुटेका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ ।

अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । कूल जनसङ्ख्यामध्ये ३३।७ प्रतिशतले पहिलो मात्रा र २८।४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । सरकारले पुस मसान्तभित्र कूल लक्षितको दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले खरिद गरेर र कोभ्याक्स सुविधामार्फत दैनिक खोप ल्याइरहेको छ । हिजो मात्र मङ्सिर १७ गते एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएका थिए । यस्तै मङ्सिर १० गते एक लाख ९६ हजार ८५३ जनाले मङ्सिर ११ गते एक लाख १५ हजार ४३४, मङ्सिर १२ गते एक लाख २७ हजार ६११ जनाले, मङ्सिर १३ गते एक लाख ४४ हजार ५३४ जनाले, मङ्सिर १४ गते दुई लाख ११ हजार ५५३ जनाले, मङ्सिर १५ गते दुई लाख २७ हजार ५८४ जनाले र मङ्सिर १६ गते एक लाख ४१ हजार ५५७ जनाले खोप लगाइसकेका छन् ।

काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयले नौ वटा खोप केन्द्रबाट खोप वितरण गरेको छ । कार्यालयका प्रमुख शम्भु काफ्लेका अनुसार वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल, बल्खुको वयोधा अस्पताल, नयाँ बसपार्कको लोत्से भवन र कोटेश्वरको जडीबुटीबाट नियमित खोप वितरण गरिरहेको छ । ती केन्द्रबाट दैनिक दुई हजार ५०० जनाले खोप लगाइरहेका छन् । उहाँले १८ वर्ष भन्दामाथिका व्यक्तिलाई खोप अभाव नभएको र जुनुसुकै बेला पनि ती खोप केन्द्रमा खोप लगाउन पाइने बताउनुभयो । उहाँले नगरपालिकाले आवश्यकताअनुसार खोप प्रदान गरिरहेको जानकारी दिनुभयो ।

मोडर्ना र फाइजर चाँडै आउँदै

सरकारले बालबालिका खोप लगाउनका लागि मोडर्ना र फाइजर ल्याउने अन्तिम तयारीमा गरेको छ । फाइजर खोप एक लाख मात्रा आइसकेको छ । यही पुस १५ गतेभित्र मोडर्ना र फाइजर खोप ल्याउने मन्त्रालयको तयारी रहेको छ । मोडर्ना ७७ लाख र फाइजर ६० लाख ल्याउनका लागि सबै प्रक्रिया पूरा गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । सरकारले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाब्वे, नामिवीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । भारतमा शुक्रबार मात्र ओमिक्रोन भेरियन्ट फेला परेको जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।