अदुवाले बजार नपाउँदा तेह्रथुमका किसान चिन्तित

प्रकाश पाक्साँवा/तेह्रथुम, २१ पुस ।फेदाप गाउँपालिका-३ का भोगेन्द्र लिम्बूले ६ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् । अदुवा बिक्रीबाट मात्रै उनले गत वर्ष तीन लाख आम्दानी गरेका थिए । अरु अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि उनले परम्परागत खेती मास्दै अदुवा खेती रोजेका हुन् ।निरन्तर अदुवाको मूल्यमा गिरावट आउनु र बजार नपाउनुले यतिबेला भने लिम्बू चिन्तित बनेका छन् । किसानले उत्पादन गरेको अदुवाकाे अहिले निकासीसमेत ठप्प छ । मूल्यमा गिरावट र निकासी नहुँदा किसानको मुख्य आम्दानी स्राेत नै गुमेको छ ।

अदुवा खेती नै मुख्य आम्दानीको स्राेत भएका किसानलाई परिवार धान्नसमेत सकस हुने गरेकाे छ । ‘पोहाेरसम्म व्यापारीहरू घरघरै आउँथे तर,यो साल अदुवा खरिदका लागि व्यापारीले सोधखोजसम्म गरेका छैनन्,’ उनले भने । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषिउपज वस्तुले बजार पाउँदै गर्दा किसानहरूले उत्पादन गरेको अदुवा अहिले बारीमै कुहिन थालेको छ ।

फेदाप-३ कै पदम पोखरेलले पनि दुई रोपनी क्षेत्रमा अदुवा खेती गर्दै आएका छन् । ०४२ सालमा आफैले खानका लागि अदुवा रोप्न सुरु गरेका पोखरेलले पछिल्लो समय व्यावसायिक रूपमा खेती गर्दै आएका हुन् । दुई वर्षअघि उनले अदुवा बिक्रीबाट वार्षिक तीन लाख आम्दानी गरेका थिए । उनी भन्छन्, ‘हामी किसानले उत्पादन गरेको कृषिउपजका वस्तुलाई भण्डार गरी बजारसम्म पुर्‍याउन सरकारले ध्यान दिए हुन्थ्यो । भण्डारण स्थापना गर्न सके मूल्य पाउन थालेपछि किसानहरूलाई राहत मिल्ने थियो ।’

लिम्बु र पोखरेलको मात्र नभई तेह्रथुमका किसानहरूको मुख्य समस्या नै यही बनेको छ । गत वर्ष ५० रुपैयाँ प्रतिकिलो बिक्री भएको अदुवा यस वर्ष मूल्यमा गिरावट आएपछि बजार पाउन सकेको छैन । किसानलाई यतिबेला आफूले उत्पादन गरेको अदुवाले बजार नपाउँदा निल्नु न ओकल्नुझै बनेको छ । राम्रो आम्दानी हुने आशले व्यावसायिक अदुवा खेतीमा लागेका तेह्रथुमका किसान अदुवा बिक्री नहुँदा चिन्तित बनेका छन् ।

जिल्लाामा उत्पादित अदुवालाई प्रशाेधन गरी बजारसम्म पुर्‍याउने प्रशाेधन केन्द्रको अभाव छ । यातायातको सुविधा नहुँदा त्यतिकै खेर जाने अदुवा गाउँगाउँमा पुगेको सडकले बजारसम्म पुर्‍याउन सहज भएको थियो । जिल्लामा दुई सय ७० हेक्टरमा अदुवा खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र धनकुटाका कृषि प्राविधिक विशाल राईले जानकारी दिए । जिल्लाको ६ वटै पालिकामा खेती हुँदै आए पनि आठराई गाउँपालिकामा अदुवा सबैभन्दा धेरै उत्पादन हुँदै आएकाे कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७७-७८ मा चार हजार ५० मेट्रिक टन अदुवा उत्पादन भएको थियो । यस वर्ष भने ३९ सय ४२ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । यहाँ उत्पादन भएको अदुवा पूर्वी तराई र भारतसम्म निकासी हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖