संघीय सरकारको निर्देशन नमान्ने, ४ माघदेखि विद्यालयमा नियमित पठनपाठन
बिशाल बस्नेत/महोत्तरी, २९ पुस । महोत्तरीको एक स्थानीय तहले संघीय सरकारको निर्देशन अटेर गरेको छ । कोभिड संक्रमण बढेको भन्दै केन्द्र सरकारले १५ माघसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिए पनि गौशाला नगरपालिकाले भने ४ माघदेखि पालिकाभित्रका सबै विद्यालय खोल्न निर्देशन दिएको छ । संघीय सरकारले निर्देशन जारी गरेकै दिन बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले ४ माघपछि कुनै पनि सिक्षण संस्था बन्द नगर्ने निर्णय गरेको हो।
यद्यपि, नगरपालिकाले २८ पुसदेखि ४ माघसम्म वर्षे बिदा कट्टा हुनेगरी जाडो बिदा भने दिएको छ । यसपछि सबै विद्यालय भौतिक उपस्थिति मै खुल्ने नगरपालकिाले जनाएको छ । पालिकाले २७ पुसमा सूचना प्रकाशित गरी कोरोना संक्रमण रोक्न स्वास्थ्य मापदण्ड अपनाएर ४ माघपछि विद्यालयहरूमा नियमित पठनपाठन गर्न भनेको छ । ‘विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गरी जोखिमप्रति सचेत हुँदै सम्पूर्ण शिक्षण संस्था खोल्ने निर्णय गरेका हौँ,’ नगरप्रमुख शिवनाथ महतोले भने ।
नगरपालिकाको निर्णयलार्इ शिक्षण संस्थाहरूले समेत स्वागत गरेका छन् । जोखिमलार्इ आकलन गरी सुरक्षित वातावरणमा पठनपाठन गराउने निजी तथा सरकारी विद्यालयहरूले प्रतिबद्धता जनाएका छन् । तर, जिल्लाका अन्य पालिकाले भने केन्द्रको सूचनाको पालना गर्न निर्देशन दिएका छन् ।
ए डिभिजन लिगको नवौं चरण शुक्रबारबाट, आफ्नो टिमबारे १० प्रशिक्षक के भन्छन् ?
काठमाडौं, २९ पुस/सहिद स्मारक ए डिभिजन लिगको नवाँै चरणका खेल भोलि (शुक्रबार)बाट सुरु हुँदै छन् । सुरुवाती तीन दिन दुई खेल हुनेछन् भने अन्तिम सोमबार एक खेलमात्र हुनेछ । हरेक खेल दशरथ रंगशालामा हुनेछ ।
पहिलो खेलमा विभागीय एपीएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्दा दोस्रो स्थानको मनाङले नयाँ प्रतिद्वन्द्वी सातदोबाटो युथको चुनौती सामना गर्नेछ । दोस्रो दिन पुछारमा रहेको फ्रेन्ड्स बलियो आर्मी फुटबल क्लबसँग आमुनेसामुने हुनेछ । सोही दिन साँझ हुने खेलमा थ्री स्टारले अपराजित संकटाको सामना गर्नेछ ।
तेस्रो तथा आइतबार ब्रिगेड ब्वाईज क्लब (बीबीसी) ले शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबको सामना गर्दा सोही दिनको दोस्रो खेलमा रेलिगेशन जोनमा रहेका नेपाल पुलिस र च्यासल युथ क्लब भिड्नेछन् । सोमबारको अन्तिम खेलमा न्युरोड टिम एनआरटीले जावलाखेल युथको सामना गर्नेछ । नवाैँ चरणको खेलअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको पत्रकार सम्मेलनमा सहभागी १४ क्लबका १० प्रशिक्षक सहभागी भए । संकटा, शेर्पा, पुलिस र बीबीसीको प्रशिक्षक भने उपस्थित भएनन् ।


