चार वर्षीय छोरासहित महिला बेपत्ता
बागलुङ, ६ माघ (रासस) ः गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्कनुभएकी गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आउनुभएको छैन । पैतीस वर्षीया उहाँको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो ।
सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उहाँको भनाइ छ । राजेन्द्रले बेपत्ता श्रीमतीको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवदेन दिनुभएको छ । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएको राजेन्द्रले बताउनुभयो । पुस २६ गते साँझ फोनमा कुराकानी भएपछि श्रीमतीसँग रहेको मोबाइल बन्द रहेको उहाँको भनाइ छ ।
“म २५ गते गाडी लिएर पोखरा गएको थिएँ, २६ गते घर आउँदा उनी छोरासहित आफ्नो लुगाफाटो लिएर हिँडेकी रहेछिन्”, राजेन्द्रले भन्नुभयो, “कुराकानी हुँदा भाइकोमा आएकी छु भन्थिन, पछि मोबाइल बन्द भयो, त्यसपछि सम्पर्क हुन सकेन ।” आफन्त, छरछिमेक र सम्भाव्य ठाउँमा खोजी गर्दा पनि नभेटिएको उहाँको भनाइ छ । परिवारजनले हराएका आमाछोरा फेला परेमा नजिकको प्रहरी या आफन्तकहाँ खबर गरिदिन आग्रह गरेका छन् ।
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ६ माघ (रासस) : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँको आकाशमा बिहानैदेखि बाक्लो तुवालो लागेकाले केही चिसो महसुस गरिएको छ । बिहान छिटफुट वर्षासमेत भएको छ । महाशाखाले पनि वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्तु÷कुहिरो लागेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम तापक्रम पाँच दशमलव दुई र अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ ।


