धर्मस्थली प्रवेशद्वार शिलान्यास
काठमाडौं, १५ माघ ।तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजार जाने बाटोमा प्रवेशद्वार निर्माण हुने भएको छ । धर्मस्थली प्रवेशद्वारको आज शिलान्यास गरिएको हो । प्रवेशद्वारको तारकेश्वर नगरपालिका –६ का वडाध्यक्ष मधु कार्की र उपभोक्ता समितिका अध्यक्ष सानुबाबु बिन्दुकारले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
शिलान्यास समारोहमा समाजसेवी, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । प्रवेशद्वार निर्माणका लागि तारकेश्वर नगरपालिकाले बजेट विनियोजित गरेको धर्मस्थली प्रवेशद्वार निर्माण समितिले जनाएको छ ।
जुम्लामा एक दशकमा १० हजार जनसङ्ख्या वृद्धि
खलङ्गा, १५ माघ (रासस) :राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लामा एक दशकमा १० हजार ४५६ जनसङ्ख्या वृद्धि भएको छ । जुम्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लाको जनसङ्ख्या एक लाख १९ हजार ३७७ रहेको छ । विसं २०६८ मा जुम्लाको जनसङ्ख्या एक लाख आठ हजार ९२१ रहेको थियो । जिल्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसङ्ख्या चन्दननाथ नगरपालिकाको रहेको छ । सबैभन्दा कम जनसङ्ख्या गुठीचौर गाउँपालिकाको रहेको छ ।
चन्दननाथ नगरपालिकाको जनसङ्ख्या २० हजार ९७३ रहेको छ । त्यहाँ पुरुष १० हजार ४७५ र महिला १० हजार ४९८ रहेका छन् । नगरपालिकाभित्र पाँच हजार ३६७ परिवार संख्या छ । यस्तै गुठीचौर गाउँपालिकाको जनसङ्ख्या १० हजार ८९१ रहेको छ । त्यहाँ पुरुष पाँच हजार ३४४ र महिला पाँच हजार ५४७ छन् । गुठीचौरको परिवार सङ्ख्या दुई हजार ४५१ रहेको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ ।
यस्तै हिमा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ८०४ छ । पुरुष ६ हजार ३८८ र महिला ६ हजार ४१६ छन् । त्यहाँको परिवार सङ्ख्या दुई हजार १०४ रहेको छ । कनकासुन्दरी गाउँपालिकाको जनसङ्ख्या १३ हजार ६८७ छ । पुरुष ६ हजार ८०७ र महिला ६ हजार ८८० छन् ।
पातारासी गाउँपालिकाको जनसङ्ख्या १६ हजार ८८१ छ । पुरुष आठ हजार ३४९ र महिला आठ हजार ५३२ छन् । पातारासीको परिवार सङ्ख्या तीन हजार ३७४ रहेको राष्ट्रिय जनगणना, २०७८ मा उल्लेख छ । सिञ्जा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ७५५ छ । पुरुष ६ हजार ५६१ र महिला ६ हजार १८३ छन् । सिञ्जामा परिवार सङ्ख्या दुई हजार ४२७ रहेको छ ।
यस्तै तातोपानी गाउँपालिकाको जनसङ्ख्या १५ हजार ७२१ रहेको छ । पुरुष सात हजार ७२८ र महिला सात हजार ९९३ छन् । परिवार सङ्ख्या तीन हजार ३२१ रहेको छ । तिला गाउँपालिकाको जनसङ्ख्या १४ हजार ६९२ छ । पुरुष सात हजार २६१ र महिला सात हजार ४३१ छन् । परिवार सङ्ख्या दुई हजार ६६६ रहेको छ ।


