हिउँले ढकमक्क रारा
मुगु, २३ माघ । रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो । याे ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको राराकाे आसपास यतिबेला हिमपातले चाँदी झैँ टल्किएकाे छ ।
चारैतिर हिमपातले सेताम्य बीचमा आकाश झैँ निलो तालले रारा रमणीय बनेकाे छ । राराकाे याे सुन्दरता हेर्न पछिल्लो समय आन्तरिक पर्यटकहरूकाे लर्को लाग्ने गरेको छ ।
रारामा यो वर्ष तेश्रो पटक हिमपात भएकाे हाे । रारा आसपासमा करिब साढे २ फिटसम्म हिमपात भएका स्थानीयकाे भनाइ छ । यहाँकाे प्राकृतिक सौन्दर्य हेर्न देश विदेशबाट समेत पर्यटक आइरहेकाे सक्कबहादुर बुढाले बताए । यसले समग्र कर्णालीको पहिचान बढी रहेकाे आन्तरिक पर्यटक तेजेन्द्र सिंजालीले बताए ।
सुर्खेतमा पनि प्याराग्लाइडिङ
वीरेन्द्रनगर,२३ माघ (रासस) :सुर्खेतको आकाशमा प्याराग्लाइडिङ सुरु हुने भएको छ । आजदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१४ गढीदेखि वीरेन्द्रनगर–१ को देउती थानसम्म प्याराग्लाइडिङ गर्न लागिएको हो ।
आजदेखि वेलकम प्याराग्लाइडिङ प्रालि सुर्खेतले नियमित उडान सुरु गर्न लागेको छ । पोखराका प्याराग्लाइडिङ व्यवसायी सानुबाबु सुनुवार र प्रदेश उद्योग वाणिज्य महासङका अध्यक्ष पदमबहादुर शाहीको संयुक्त साझेदारीमा प्याराग्लाइडिङ सुरु गरिएको हो ।
विसं २०७० देखि चार पटक सुर्खेतको आकाशमा प्याराग्लाइडिङ गरिए पनि दक्ष जनशक्ति अभावका कारण रोकिएको शाहीले जानकारी दिनुभयो ।
“पहिला पनि सुर्खेतमा प्याराग्लाइडिङ सुरु गरेका थियौँ, दक्ष जनशक्तिको अभावमा रोकिएको थियो”, अध्यक्ष शाहीले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङलाई निरन्तरता दिनेछौँ ।” आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्याराग्लाइडिङमा विशेष सहुलियतसहितको सेवालाई निरन्तरता दिन लागिएको उहाँको भनाइ थियो ।
निजी पर्यटन कम्पनीले बेलकमले टिकट बुकिङ खुला गरेको घोषणा गरेको छ । कर्णालीमा पर्यटन गतिविधि अगाडि बढाउन प्याराग्लाइडिङबाट गोठीकाँडादेखि वीरेन्द्रनगर भ्याली भ्रमणका लागि फोटो र भिडियोसहित रु चार हजार ५०० कायम गरिएको छ ।


