जहाजका पर्खाइमा बलेवा विमानस्थल

खेमराज गौतम/गलकोट, २ चैत (रासस) : लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने आश पलाएको छ । २८ वर्षदेखि नियमित उडान हुन नसकेको बागलुङको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रसँगै अब विमानस्थलमा कहिले जहाज उड्ला भन्ने आशामा छन् यहाँका स्थानीयवासी ।

विसं २०७७ फागुनमै कालोपत्र सक्ने गरी नागरिक उडड्यन प्राधिकरणले ठेक्का सम्झौता गरे पनि एक वर्षपछि मात्रै विमानस्थलको धावनमार्ग कालोपत्र सम्पन्न भएको छ । कच्ची धावनमार्गका कारण बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएका कारण विमानस्थल नियमितरूपमा सञ्चालनमा आउन सकेको थिएन । हवाई सेवाका लागि यात्रुको सुनिश्चितता हुँनासाथ विमानस्थलमा नियमित उडान गर्न सकिन्छ । कालोपत्र सम्पन्न भएको विमानस्थल हस्तान्तरणको प्रक्रियामा रहेको प्रधिकरणले जनाएको छ ।

विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रको काम सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा पुगेको निर्माणको जिम्मा पाएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुका प्रतिनिधि वासु थापाले जानकारी दिनुभयो । उहाँले धावनमार्गमा मार्किङबाहेक अन्य काम सम्पन्न भइसकेकाले हस्तान्तरणका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

विमानस्थलको अबको समस्या भनेको यात्रु सुनिश्चितता र स्थानीयको पहलकदमी हो । स्थानीय र प्रदेश सरकारले चासो देखाएमा तत्कालै विमानस्थलमा जहाज चलाउन सकिने छ । विमानस्थलमा जहाज सञ्चालनका लागि नागरिक उडड्यन प्राधिकरणसँग नभएर एयरलाइन्ससँग आवश्यक समन्वय र सहजीकरण गर्न आवश्यक देखिन्छ ।

प्राधिकरणले निर्माण, जनशक्ति तथा प्राविधिक व्यवस्थापना गर्ने काम भएको र स्थानीय पालिका र प्रदेशले सहजीकरण गरे जहाज सञ्चालनका लागि कुनै समस्या नभएको प्राधिकरणका इञ्जीनियर मीनराज ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “लामो समय बलेवा विमानस्थल निर्माणमा खटिँदा जहाज चल्नेमा विश्वस्त छु, खासगरी स्थानीय तह र प्रदेशले एयरलाइन्ससँग समन्वय र सम्झौता गर्न सके प्राधिकरणले आफ्नोतर्फबाट सबै काम गर्ने छ ।”

अल्टालाइटको सम्भावना

विमानस्थललाई अल्टालाइटको सञ्चालनका रुपमा समेत विमानस्थलका प्राविधिकले हेर्दै आएका छन् । विमानस्थल हुँदै अल्टालाइटको माध्यमबाट बागलुङको ढोरपाटन, मुस्ताङको मुक्तिनाथ, पर्वतको बन्जी तथा अग्ला पुल र म्याग्दीको विभिन्न पर्यटकीयस्थल घुम्नका लागि निकै सम्भावना रहेको प्राधिकरणका इञ्जीनियर ओझाले बताउनुभयो । लामो समय बलेवामा बसेर विमानस्थल निर्माणमा खटिनुभएका उहाँले विमानस्थलबाट नजिकै रहेका पर्यटकीय गन्तव्यमा अल्टालाइटको माध्यमबाट अवलोकनसमेत गराउन सकिने उहाँको भनाइ छ ।

विमानस्थल कालोपत्रसँगै नियमित हवाई उडानको अलवा अल्टालाइटको उडान गर्न सकिने उहाँले सम्भावना देख्नुभएको हो । उहाँका अनुसार यसअघि विमानस्थलबाट काठमाडौँमात्रै उडान गरिएको भए पनि अब भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत जहाज चलाउन सकिने देखिएको छ । गौतमबुद्ध विमानस्थलमा विभिन्न देशबाट आएका साविक धौलागिरिका बागलुङ, पर्वत र म्याग्दीका नागरिक सोझै बलेवा विमानस्थल आउन सक्ने भएकाले विमानस्थल सञ्चालनमा महत्वपूर्ण आधार तयार भएको छ ।

यस्तो छ सञ्चालनको तयारी

विसं २०७४ मा केही समय सञ्चालनमा आएको विमानस्थल कालोपत्र भएसँगै सञ्चालनका लागि समन्वयमा लागिरहेको छ । अहिले विभिन्न एयरलाइन्ससँग विमान उडाउनका लागि अनौपचारिकरूपमा छलफल भइरहेको बागलुङ नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । उहाँले एयरलाइन्स सञ्चालक बलेवामा विमान सञ्चालनका लागि इच्छुक देखिएको बताउनुभयो ।

“विमानस्थल सञ्चालनका लागि पहिला यती र नेपाल वायुसेवा निगमसँग सम्झौता गरेका थियौँ, केही समय विमानस्थल चल्यो पनि तर पछि कालोपत्रको काम सुरु गर्न विमानस्थल रोकिएको हो”, उहाँले भन्नुभयो, “अहिले अन्य कम्पनीसमेत विमान सञ्चालनका लागि इच्छुक देखिएका छन् । भाडादर समायोजनका आधारमा हामी कम्पनीसँग सम्झौता गर्ने योजनामा छौँ ।” २८ वर्षदेखि बन्द रहेको सो विमानस्थल नगरपालिकाको संयोजनमा विसं २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडानसमेत भरेका थिए ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट जम्मा १२ किलोमिटर सडक कच्ची छ । कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवासम्मको सडक कालोपत्रका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेसँगै सडकसमेत कालोपत्र हुने भए पनि विमानस्थल सञ्चालनका लागि सहज हुने क्षेत्र नं १ का सङ्घीय सांसद डा सूर्य पाठकले जानकारीदिनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।