मुग्लिन-पोखरा चार लेन सडक आयोजना : ५८ सय रुख काटियो

तनहुँ, ३ चैत । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनदेखि पोखरा पृथ्वीचोकसम्मको सडक खण्डलाई चार लेनमा विस्तार गरिँदैछ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार लेनको सडक बनाउनलाई ठेक्का प्रकृया पुरा भएर काम सुरु भइसकेको छ ।

आँबुखैरेनीदेखी पृथ्वीचोकसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएकोमा यतिबेला सडक विस्तार गर्न दायाँबायाँका रुख धमाधम कटान भइरहेको छ । तनहुँ र कास्कीमा गरेर ५ हजार ८५१ रुख कटान भइसकेको छ । तनहुँमा ६ हजार ७५० र कास्कीमा एक हजार २५० रुख काट्नुपर्नेछ । जसमध्ये तनहुँमा मात्रै पाँच हजार रुख काटिएको हो । कास्कीतर्फ ८५१ रुख काटिएको आयोजनाले जनाएको छ ।

८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएकाे छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको हो । जामुने–पोखरा पश्चिम खण्डको ३८.८८ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले लिएको होे । पुर्वको तुलनामा पश्चिम खण्डको कामको गति कम देखिन्छ ।

आँबुखैरेनी–जामुने पूर्वी खण्डको दुई हजार ८०० रुख कटान गरिएको योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार यो खण्डमा चार हजार ६७१ रुख कटान गर्नुपर्नेछ । जामुने पोखरा खण्डको तुलनामा यो खण्डमा केही हदसम्म काम भएको देखिन्छ । रुख कटानसँगै सडक फराकिलो बनाउने काम पनि भईरहेको सुवेदीले बताए । ‘सडक फराकिलो बनाउनेसँगै ग्याबिन जाली राख्ने, पर्खाल लगाउने काम हुदैछ । कल्भर्ट बनाउन पनि थाल्याछन्’, आयोजना प्रमुख सुवेदी भन्छन्, ’आवश्यकता अनुसार बाटो पुरै फराकिलो कतै पनि भएको छैन् । तर फराकिलो बनाउने काम धमाधम भइरहेको छ ।’

जामुने–पोखरा पश्चिम खण्डमा तीन हजार ५१ रुख काटिएको छ । यो खण्ड तनहुँ र कास्की दुई जिल्लामा पर्दछ । तनहुँमा दुई हजार २०० र कास्कीमा ८५१ रुख कटान गरिएको योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए । जामुने–पोखरा खण्डको तनहुँतर्फ रुख कटानको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ । ‘रुख काट्दा विधुतिय लाइनलाई असर पार्ने बाहेक सबैजसो रुख काटिएको छ’, उनले भने । रुख कटान सकाएर विद्युत लाइन र खानेपानीको पाइप स्थानतरण गरेपछि सडक फराकिलो बनाउने काम थालिने स उनको भनाई छ । जामुनेदेखि कुम्लेखोलासम्म १० किलोमिटर दुरीमा नेपाल विद्युत प्राधिकरणमार्फत विद्युतको पोल स्थानतरण भइसकेको श्रेष्ठले बताए ।

सबै रुख काटेर सकेपछि चार लेन सडक आयोजनाले डिभिजन वन कार्यालयलाई बुझाउनेछ । वन कार्यालयले सडक स्तरोन्नतीका लागि काटिएको काठ लिलामी प्रकृयाबाट विक्री गर्ने जनाएको छ ।

रुख कटानको काम सुरु भएसँगै पृथ्वी राजमार्र्गको तनहुँ खण्डमा सवारी जाम बढ्न थालेको छ । रुख कटानकै कारण जिल्लावासी विद्युत्त आउने जाने समस्याले आजित छन् । आँबुखैरेनी जामुने खण्डमा सडक फराकिलो बनाउन कटान थालिएसँगै धुलोले यात्रा गर्र्न सास्ती भएको पाइन्छ ।

गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्ग २०२६ सालमा रेखांकन भएको थियो । सवारी चाप थेग्न नसक्ने अवस्था भएपछि चार लेनको बनाउन सुरु गरिएको हो । आँबुखैरेनीदेखी मुग्लिन खण्डको आठ किलोमिटर दुरीको भने डिजाईन हुदैँछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत गृह रहेको छ । जलविधुत गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको जनाईएको छ ।

आँबुखैरेनी–जामुने पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । यस्तैगरी जामुने–पोखरा आठ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाईएको हो । चालु आर्थिक बर्षमा संघीय सरकारले मुग्लिन पोखरा चार लेन सडक योजनाका लागी चार अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।