१० विद्यालयको पुनर्निर्माण भएन, पठनपाठनमा समस्या

रसुवा, चैत ९ । भूकम्पका कारण भत्केका रसुवाका १० विद्यालय भवन अझै पुनर्निर्माण हुन नसक्दा पठनपाठनमा समस्या परेको छ । चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको तीनवटा र जोखिम वस्तीमा परेका सातवटा गरी १० विद्यालय भवन अझै पुनर्निर्माण हुन नसक्दा पठनपाठनमा समस्या परेको हो ।

गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । विद्यालयको तीनकोठे पक्की भवन छ । जसमा एउटामा कार्यालय र एउटामा पुस्तकालय सञ्चालित छ । बाँकी एउटा मात्र कक्षामा कोठामा पढाइ हुन्छ । अरु कक्षाको पढाइ जस्ताको टहरामा भइरहेको छ । यो विद्यालय तीन वर्षअघि चीन सरकारले निर्माण गर्नका लागि जिम्मा लिए पनि कुनै प्रयास भएन ।

जस्तापाता कतिबेला हुरीले उडाउँछ भन्ने त्रासमा पढाउनु परेको छ । ‘विद्यालय निर्माण नगर्ने भए हामीले अन्यत्र पहल गर्न सहज हुन्थ्यो,’ प्रधानाध्यापक फुर्पुदोर्जे घलेले भने, ‘चीन सरकारले निर्माण गर्ने भनेर ओगटेर राख्दा भवन निर्माण गर्न समस्या भइरहेको छ ।’ भूकम्प गएको ५ वर्ष वित्नलाग्दा समेत जिल्लाका १० वटा विद्यालयको निर्माण अझै सुरु हुन सकेको छैन ।

जग्गाको अभाव र जोखिममा परेर वस्ती विस्थापित भएका गरी सातओटा र चीन सरकारले जिम्मा लिएका तीनवटा विद्यालयको निर्माण सुरु नभएको शिक्षा विकास तथा समन्वय इकाइ रसुवाले जनाएको छ ।

तीनवटा विद्यालय चीन सरकारले बनाउने भनेर जिम्मेवारी लिएको थियो । केही विद्यालयमा भने भवन निर्माणका लागि कुनै निकाय नै पुगेको छैन । कतिपय विद्यालयमा जग्गाको अभाव देखिन्छ । समयमै विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरूले सुरक्षित विद्यालयमा पढ्न पाएनन् । गर्मीको चर्को घाम र कठ्याङगिँ्रदो जाडोमा विद्यार्थीहरू सहज रुपमा पठनपाठन गर्न नपाएको अभिभावक सितार तामाङले बताए । उनले भने, ‘बालबालिकाको शिक्षाको अधिकार छ । निशुल्क शिक्षा भने पनि व्यवहारमा छैन । त्यसैले निजी विद्यालय जानुपर्ने बाध्यता छ ।’

विद्यालय भवनको अभावमा घाम लाग्दा, पानी पर्दा अनि हावाहुरी चल्दा पठनपाठन पूरै अवरुद्ध हुने गरेको छ । ‘ठूलो हावाहुरी आयो भने भएको संरचना उडाएर लैजाने चिन्ता छ,’ कालिका गाउँपालिका–५ स्थित नीलकण्ड नमुना उच्चमाविका प्राचार्य नारायण देवकोटाले भने, ‘न चीन सरकारले प्रक्रियाअघि बढायो न अरु दाता खोज्न पाइयो, समस्या भयो ।’

रसुवाका नवविजयी मावि पनि चीनले निर्माण गरिदिने कुरा भएपछि अन्य आयोजनाले निर्माण गर्न पाएनन् । ‘चीनसँग कूटनीतिक पहल हुन नसकेको हो,’ देवकोटाले भने, ‘चीनले बनाइदिने भनेकोले अरु दाता पनि आएनन् । हामी निकै अन्योलमा छौं ।’

उता कालिका गाउँपालिका–१ को अनन्त स्मृति आधारभूत विद्यालय, उत्तरगया गाउँपालिका–१ को तिरू आधारभूत, कालिका आधारभूत, बालोदय आधारभूत, करूम¥याङ आधारभूत, भूमेदेवी आधारभूत र आमाछोदिङमो गाउँपालिका–५ स्थित पाजुङ आधारभूत विद्यालय भूकम्पका कारण क्षति भए पनि अझै पुनर्निर्माण नहुँदा विद्यार्थी समस्यामा परेका छन् ।

विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरू ढुक्कले पढ्न समस्या भएको छ । कति बेला भवन भत्किन्छ भनेर त्रासमा अध्ययन गर्नु परेको तिरु प्राविका विद्यार्थी साजन तामाङले गुनासो गरे । विनाशकारी भूकम्पपछि जोखिमयुक्त वस्तीमा परेकाले यी स्थानहरूमा विद्यालय निर्माण हुन नसकेको हो । धेरै सामाजिक संस्था र जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) मा धाए पनि रकम विनियोजन नगरेको पाजुङ आधारभूत विद्यालयका प्रधानाध्यापक केदार घिमिरेले बताए ।‘वर्षातमा पानी परेको समय वा पुस माघको हिमपात भएपछि विद्यालय बन्द गर्नुपर्ने स्थिति आउँछ,’ प्रधानाध्यापक घिमिरेले भने ।

अस्थायी सिकाइ केन्द्र पनि पानी चुहिने भएकोले विद्यार्थीहरूलाई पढाउन समस्या परेको उनले बताएका छन् । भूगर्भविद्ले विद्यालय रहेको पूरै वस्ती जोखिममा रहेको भनेर प्रतिवेदन दिएपछि रसुवाको सात स्थानमा विद्यालय भवन निर्माण हुन नसकेको हो । शिक्षा समन्वय एकाईका ध्रुव लामिछानेले भने, ‘सरकारले असुरक्षित भनेको स्थानमा विद्यालय भवन निर्माण हुन सकेन ।’

भूकम्पका कारण पूरैगाउँ जोखिम बस्तीमा परेका कारण त्यही ठाउँमा भवन निर्माण गर्न नमिल्ने भएकाले विद्यालय बनाउन नसकिएको जिल्ला आयोजना कार्यान्वयन ईकाइ शिक्षाले जनाएको छ । भूकम्प गएको पाँच वर्षसम्म पनि विद्यार्थीहरू खुला चौरमा कष्टसाथ पढ्न बाध्य भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।