पाँच बर्षमा काठेखोला गाउँपालिकामा के भयाे ?

बागलुङ, २० वैशाख । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा स्वास्थ्य चौकी भवन निर्माण स्थलको विषय निकै विवादित थियो । एक समूह विगतदेखि स्वास्थ्य चाैकी भैरहेकाे स्थान धम्जा देउरालीमै नयाँ भवन बनाउने पक्षमा थिए भने अर्काे समूह सबैलाई पायक पर्ने गरी सायकटेरामा बनाउनु पर्ने लाइनमा थिए ।

नयाँ भवन निर्माणकाे विषयमा कुरा नमिल्दा वडाका नागरिक दुई भागमा विभाजित भए । सहमति नहुँदा लामो समय भवन निर्माण राेकियाे । यही विषयले दुई भेगबीच लगभग द्धन्दको अवस्था सृजना भएको थियो । स्वास्थ्य चौकी भवनको विषय जटिल बन्दै गएपछि काठेखोला गाउँपालिकाको अगुवाइमा साविक स्वास्थ्य चौकी भएको स्थानमा स्वास्थ्य चौकीकै भवन निर्माण गर्ने र सायकटेरामा स्वास्थ्य इकाइ स्थापना गर्ने सहमति पछि विवाद समाधान भयो ।

अहिले धम्जा देउरालीमा सुविधासम्पन्न स्वास्थ्य चौकी र सायकटेरामा सुविधा सम्पन्न स्वास्थ्य एकाइ बनेकाे छ । स्वास्थ्य एकाइमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए । दुवै स्वास्थ्य संस्थाबीच गुणस्तरीय सेवा प्रवाहमा प्रतिस्पर्धा छ । स्वास्थ्य इकाइले एम्बुलेन्स सेवासमेत थप गरेको छ ।

गाउँपालिकाले स्वास्थ्य इकाइ स्थापनाको पहल नगरेको भए धम्जाको दुई भेग विवाद चर्कने निश्चित थियो । प्राप्त बजेट समेत फिर्ता हुने खतरा थियो । विवादित वडामा सबैले जित्ने गरी विवाद समाधान गर्दै गाउँपालिकामा आधारभुत आवश्यकताको पूर्वाधार निर्माणको जुटेको गाउँपालिको पाँच वर्षमा भौतिक पूर्वाधार निर्माण, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिंचाइ तथा सामाजिक विकासका थुप्रै काम गरेको छ ।

स्वास्थ्य इकाइ
गाउँपालिकाले ठूलो भुगोल र स्वास्थ्य सेवा लिन धेरै समय पैदल यात्रा गर्नुपर्ने बाध्यतालाई ध्यानमा राखेर वडा–३ धम्जा, वडा–४ तंग्राम र बिहुँमा स्वास्थ्य इकाइ थप गरेर स्थानीयलाई आधारभुत स्वास्थ्य सुविधाको पहुँच विस्तार गरेको छ । गाउँपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा, सबै स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना अघि बढाएको छ ।

ग्रामिण सडकमा सुधार
हरेक स्थानीय तहको सबै भन्दा ठुलो चुनौती ग्रामिण सडक निर्माण को हो । हिउँदभर बनाए पनि बर्खाको पानीले बगाउँने हुँदा कामले परिणामा दिन सक्दैन । सिमित स्रोत र साधनका कारण सबै वडाका सबै ग्रामिण सडक पक्की बनाउन नसके पनि गाउँपालिकाले बर्खाको समयमा पनि सवारी चल्न सक्ने गरी सडक संरचना निर्माण गरेको गाउँपालिका अध्यक्ष थापाको भनाई छ ।

पाँच बर्षको अवधिमा पुराना बाटो चाक्लो बनाउनुका अतिरिक्त सडक संरचना, नाला निर्माणा गरेको छ । गाउँपालिका केन्द्रदेखि वडा कार्यालय जोड्ने सडक कालोपत्रेको डिपिआर तयार गरिएको छ । वडा नम्बर ७ रेशको एक्लेखेतमा पक्की पुल तथा गाउँपालिका केन्द्रदेखि रेशको वडा कार्यालय जोड्ने चार सय किलोमिटर कालोपत्रे भएको छ । मध्यपहाडी लोकमार्ग अक्षेतेदेखि लेखानी जाने सडकको सुलडाडाँसम्म कालोपत्रे गरिएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिए ।

सबै वडामा आफ्नै कार्यालय स्थापना
गाउँपालिका घोषण हुनुपूर्व साविकको गाविसमै वडा कार्यालय स्थापना गरिएको थियो । संघीय संरचनाअनुसार गाउँपालिका पुनर्निर्माण गर्दा साविकको पाला गाविस र बिहुँ गाविस टुक्रिन पुग्यो । पालिको आधा भाग बागलुङ नगरपालिका र केही भाग काठेखोला गाउँपालिकामा समावेश गरियो । बिुहँलाई दुई वडा वडामा विभाजन गरियो । विभाजित वडामा वडा कार्यालय फेरि निर्माण गर्नुपर्ने अवस्था सृजना भयो । गाउँपालिकाले वडा–१, वडा–३, वडा–५ र वडा ६ मा नयाँ वडा कार्यालय स्थापना गर्यो । अन्य वडाको पुरानो संरचनालाई थप व्यवस्थित गरेको छ ।

लेखानी–कादेश झोलुङ्गे पुल
काठेखोला गाउँपालिकाको पाँच वर्षे कार्यकालमा महत्वपूर्ण पूर्वाधार हो लेखानी–कादेश जाेड्ने झोलुङ्गे पुल । गाउँपालिका–८ लेखानीको पिडाल्नदेखि कादेश जोड्न झोलुङ्गे पुल निर्माण गरिएको छ । भ्याटसहित गण्डकी प्रदेश सरकारको दुई करोड ९१ लाख रुपैयाँ लागतमा दोविल्ला खोलामाथि ३५९ मिटर लामो पुल निर्माण गरिएको हो ।

दोविल्ला खोलामा पुल बनेपछि एक घण्टाको दुरी पाँच मिनेटमा छाेट्टिएकाे वडाध्यक्ष चित्रकला श्रीसले बताए । पुल निर्माणपछि यात्रा छोटिनुका साथै खोलाको बाटो जोखिम लिएर हिड्नुपर्ने बाध्यता अन्त्य भएको छ । यो अवधिमा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत काठेखोला गाउँपालिका–२ मा तीन र वडा–५ दुई वटा छोटो प्रकृतिका झोलुङ्गे पुल निर्माण गरिएको छ ।

घरघरमा खानेपानी धारा
काठेखोला गाउँपालिका–२ भीमापोखरा डहरेमा चरम खानेपानी समस्या थियो । दलित समुदाय र अन्य समुदायको बसोबास रहेको डहरेमा खानेपानीको लागि सिमित सार्वजनिक धारा थिए । सबै समुदायले एउटै धाराको पानी प्रयोग गर्नुपर्दा त्यहाँ धेरै पटक जातिय छुवाछुतको समस्या बल्झियो ।

पानी छोएको निहुँमा स्थानीय झैगडा तथा गालीगजौलमा समेत उत्रिए । अन्य जातिका व्यक्तिले पानी नथापेसम्म दलित समुदायका व्यक्तिले पानी थाप्न नपाउने, अन्य जातिले धारामा थापेको भाँडा भरिए पनि दलित समुदायले झिकेर थाप्न नपाउने जस्ता समस्या स्थानीयले भोग्दै आएका थिए । स्थानीय तहमा जनप्रतिनिधि आएपछि डहरेमा खानेपानी समस्या मात्रा समाधान भएको छैन । पानी थाप्ने निहुँमा भएको जातिय विभेदका घटनामा न्युनिकरण भएको छ । गाउँपालिकाले विभिन्न संघ संस्थासँगको सहकार्यमा ‘एक घर एक धारा’ अभियान अन्तर्गत गाउँपालिका भरी चरम खानेपानी समस्या भएको स्थानमा ४८२ धारा, २५ खानेपानी ट्याङ्की निर्माण गरेर खानेपानी समस्या समाधान गरेको छ ।

कृषि र खरको छानो विस्थापन
एक वडा एक पहिना कार्यक्रमसहित अघि बढेको गाउँपालिकाले कृषि उत्पादन र आर्थिक गतिविधिलाई ध्यानमा राखेर पाँच बर्षे अवधिमा कृषी लक्षित केही ठुला परियोजना निर्माण गरेको छ । काठेखोला–६ लाई सुन्तला जोनको रुपमा विकास गरेको छ । सुन्तला पटेक क्षेत्रमा कोल्ड स्टोर निर्माण, धम्जामा आलु भण्डारण गृह, तंग्राममा पाहुँना घर, रेशमा खेल मैदान, लेखानीमा बौद्ध स्तुपा निर्माण गरिएको छ । यो अवधिमा पालिका भित्रका छ सय खरको छानो विस्थापित गरी विपन्न परिवारलाई जस्तापाताको छानो मुनी ओत लाग्ने अवस्था सृजना भएको छ ।

डिजिटल गाउँपालिका
काठेखोला गाउँपालिकाको अर्काे पहिचान हो डिजिटल गाउँपालिका । स्थानीय तह कार्यान्वयनमा आए पछि गाउँपालिकाले सबै वडामा इन्टरनेट सुविधा विस्तार गरेको छ । वडाबाट प्रदान हुने सेवाहरुलाई सकेसम्म पेपरलेस गराउने अभ्यास गरेको छ । समग्रा गाउँपालिकाको तथ्याङ्क अट्ने गरी डिजिटल प्रोफाईल निर्माण गरेको छ ।
घरको छाना विस्थापिन गरी जस्ताले छाएको घर ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।