बहुविवाह कसुरमा दम्पती पक्राउ
विशाल बस्नेत/महोत्तरी । बहुविवाह कसुरमा महोत्तरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।जेठी श्रीमती सुनिता विश्वकर्माले दिएको उजुरीको आधारमा बर्दिबास-३ बस्ने भक्त बहादुर विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो ।
विश्वकर्माले घरमा श्रीमती हुँदाहुँदै ओखलढुङ्गाबाट कान्छी श्रीमतीको रूपमा मंगलीमाया विश्वकर्मालाई विवाह गरेको हुनाले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।प्रहरीले मंगलीमायालाई पनि पक्राउ गरेको छ । उनीहरू जेठी श्रीमती सुनिता भएकै ठाउँमा एकसाथ बस्दै आएका थिए ।
दुवै जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप्दै थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।
निर्वाचन सामग्री बुझ्दै मतदान अधिकृत खटिए
दार्चुला, २५ वैशाख (रासस) :जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी पठाइने भएको छ । छाङ्गरु र तिङ्करमा सुरक्षाकर्मी लैजान सोमबार हेलिकप्टर आउन लागेको हो ।
नेपालतिर घोरेटोबाटो नहुँदा छाङ्गरु र तिङ्करमा सुरक्षाकर्मी हेलिकप्टरमार्फत पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । हेलिकप्टरमार्फत तिङ्करका लागि प्रहरी पठाइने छ । तिङ्करबाट प्रहरी गत मङ्सिरमा हिमपातपछि सदरमुकाम खलङ्गा झरेको थियो । तिङ्करका स्थानीयवासी सदरमुकाम खलङ्गाबाट बसाइँ सरेर गाउँ फर्किसकेका छन् ।
हेलिकप्टरमार्फत छाङ्गरु र तिङ्करमा निर्वाचनको लागि खटिने कर्मचारी, मतपेटिका, मतपत्र तथा सुरक्षाकर्मीको खाद्यान्न ढुवानी गर्ने तयारी गरिएको छ ।
निर्वाचन सामाग्री बुझ्दै मतदान अधिकृत खटिए
नौ वटा स्थानीय तहको निर्वाचनका लागि निर्वाचन सामाग्रीसहित मतदान अधिकृत र कर्मचारी खटिन थालेका छन् । टाढाका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र कर्मचारीले निर्वाचन सामग्री बुझेर खटिएका हुन् ।
आइतबारदेखि मतदान अधिकृतले निर्वाचन सामग्री आफ्नो जिम्मेवारीमा लिएर गएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताउनुभयो । टाढाका स्थानीय तहका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई पहिलो प्राथमिकतामा राखेर निर्वाचन सामग्री बुझाइएको धामीले बताउनुभयो ।
जिल्लामा ११० मतदानस्थल र १३९ मतदान केन्द्र छन् । निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतका लागि दुई दिन अभिमुखीकरण कार्यक्रम गरेर उनीहरु आफ्नो मतदान केन्द्रमा खटिन थालेको धामीको भनाइ छ ।
जिल्लाका लागि कुल ९९ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँको कूल मतदाता सङ्ख्या ८८ हजार २८५ रहेको छ । मतपत्र कुनै कारण तलमाथि हुन गएको खण्डमा भनी कुल मतदाताको पाँचदेखि १० प्रतिशत मत बढी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश विष्टले जानकारी दिनुभयो ।
आयोगको नीतिअनुसार नै मतदाताको सङ्ख्याभन्दा केही बढी मतपत्र जिल्ला आएको हो । वैशाख २७ गतेसम्म सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरुलाई मतपत्र दिएर पठाइसक्ने विष्टले बताउनुभयो । मतपत्रको ढुवानी नेपाली सेनाले गर्नेछ ।
निर्वाचन अवधिभर मदिरा बिक्री तथा सेवनमा रोक
दार्चुलामा निर्वाचन अवधिभर मदिरा पदार्थ बिक्रीवितरण तथा सेवन गर्न रोक लगाइएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यही वैशाख २५ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम मत परिणाम घोषणा नभएसम्म मादकपदार्थको बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ ।
उक्त कार्यलाई बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानूनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका, २०७८ को दफा ६ (थ) बमोजिम पूर्ण निषेध गरिएको जनाएको छ ।


