तीस वर्ष भयो, धारा सुक्दै गयोे !

तारानाथ आचार्य, बलेवा, २८ वैशाख । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको तारेभिरमा मात्रै मुहान छ ।

दैनिक बिहान ४ बजेदेखि उठेर पानी नभरे स्थानीयवासीले दैनिकी गर्न भ्याउँदैनन् । खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रेमबहादुर भुजेलले राति ४ बजेदेखि कुरेर पानी भर्दा बिहानभर लाग्ने गरेको गुनासो गर्नुभयो । तीस वर्षअघि बनेका ५० वटा धाराको भरमा वडा नं १ को सबै बस्तीमा अझै पानी वितरण छ । पानी सुक्दै गएपछि स्थानीयवासीले राति ४ बजेदेखि नै उठेर लाइन बस्दा पनि चाहेजति भर्न नपाएको गुनासोसमेत गरेका छन् । तीस वर्षअघि तुम्डाँडाका प्रेमलाल पोखरेलले १२ किमी परको तारेभिरमा पुगेर पानीको मुहान भेट्नुभएको थियो ।

विश्व सेवा लुथ्रन नामक संस्थाले यो आयोजना निर्माण गरेको थियो । पोखरेल अहिले ७५ वर्षका हुनुभयो । उहाँ हिँडेर मुहानसम्म पुग्न सक्नुहुन्न । गाउँलेले अझै अर्को मुहान भेटेका छैनन् । पहिलाको जनसङ्ख्या बढेर दोब्बर भइसक्यो । ‘एक घर, एक धारा’को अभियान पनि सुरु भयो तर पुरानो पानी घट्दै गएको छ । त्यसैले सरसफाइ अभियानलाई खानेपानी चुनौती बनेको छ ।

तुम्डाँडाकी सीता विकले पानी खेप्ने हतारोले छोराछोरी समयमा बिद्यालय जान नपाएको गुनासो गर्नुभयो । पानी भरिसकेपछि मेलापात, खेतीपाती गर्नु त छँदैछ । उहाँको टोलमा १० घरलाई एउटामात्रै धारो छ । दगागाउँको वडाभवन नजिकैको धारामा त १५ घरले पानी थाप्नुपर्छ । रातिदेखि लाइन बस्नुहुन्छ ।

कसैले पालो मिचेमा झगडासमेत हुन्छ । समयमा उठ्न सकिएन भने त पानी थाप्नै नपाइने भुजेलले बताउनुभयो । “पानी खेपेर २०० लिटरको ड्रम भरेर भित्र राखेपछि मात्रै ढुक्क हुन्छ”, भुजेलले भन्नुभयोे, “नत्र खानेपानीदेखि शौचालयसम्मको समस्या छ ।” बारीमा तरकारी फलाउने, गाईभैँसीलाई खुवाउने काममा त झनै धेरै पानी चाहिन्छ । दैनिक एक हजार लिटर पानी नभएसम्म दैनिकी नचल्ने भुजेलले बताउनुभयो ।

टुटीफेद, गहते, सिमलचौरलगायतका बस्तीमा पनि पानीको सास्ती छ । पुरानो मुहान धेरै स्थानमा भत्केको छ । पानीको चुहावट छ, त्यसैले यहाँ नियमित पानीसमेत आउँदैन । स्थानीयवासीकै पहलमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पानी खुवाउने काम भने थालेको तर टुक्रे बजेटले यो अभियान पूरा हुन नसकेको हो । “केही ट्याङ्की त निर्माण भइरहेका छन्, तर बजेट अभावले पूरा भएका छैनन्”, स्थानीयवासीले भने, “पूर्ण सरसफाइयुक्त वडा बनाउन लागेका छौँ, पानीकै समस्या भयो ।” सबै घरमा शौचालय बने पनि पानीकै कारण कतिपय प्रयोगमा आउन नसकेको उहाँले बताउनुभयो ।

स्थानीय मूल सुक्दै गएकाले तारेभिरबाटै पानीको स्रोत बढाएर ल्याउनुपर्ने बाध्यता भएको स्थानीय बोमबहादुर थापाले सुनाउनुभयो । हाल निर्माणाधीन आयोजनामा पुगेर मर्मत गर्नसमेत एक दिनमा नसकिने उहाँले बताउनुभयो । “बिहानै गएका कामदार दिउँसो पुग्छन्, दुई घण्टा काम गरेर फर्कन हतार हुन्छ”, थापाले भन्नुभयो, “तारेभिरमा बस्न खानाको समस्या समेत छ ।” दुई महिनाअघि यहाँ निर्माणाधीन आयोजनाबाट लडेर एक कामदारको मृत्यु भएपछि स्थानीय जानसमेत डराउँछन् । तारेभिर वडा नंं ३ सिसाखानी र वडा नंं ४ जलजलाको सिमानामा पर्छ ।

पानीकै अभावले ७०० विद्यार्थी रहेको खड्गदेवी माविमा शौचालय फोहर छ । एउटा धाराको भरमा पानी वितरण गर्दा खाने, सरसफाइलगायतमा अपुग भएको शिक्षकहरूले गुनासो गर्नुभयो । कतिपय बालबालिका शौच गर्नसमेत घर–घरमा जाने गरेका छन् । “पानी नभएर घरमै आएर शौचालय जान्छन्”, स्थानीयवासी दुर्गा थापाले भन्नुभयो, “पानीकै कारण खुला दिसामुक्त अभियान सफल पार्न कठिन भएको छ ।” आनीबानी परिवर्तन गरेर पूर्ण सफाइ वडा घोषणाको तयारी गरे पनि पानीले चुनौती थपेको उहाँले गुनासो गर्नुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।