इलामको माङ्सेवुङमा अहिलेसम्म १० वटा उजुरी
इलाम । इलामको माङ्सेवुङ गाउँपालिकाका उपाध्यक्ष विनोद (नेम्बाङ) लिम्बुले अहिलेसम्म न्यायिक समितिमा १० वटा मात्र उजुरी परेको बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश समिति संगको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले त्यस्तो जानकारी गराउनु भएको हो । गाउँपालिकाको पर्यटकीय स्थल माङमालुङमा भएको अन्तरक्रियामा उहाँले आफुहरु निर्वाचित भएर आएदेखि अहिलेसम्म ११ महिनाको अबधिमा उल्लेखित संख्याका उजुरी परेको बताउनुभयो ।
११ महिनाको लामो अबधिमा किन त्यतिमात्र उजुरी पर्यो त ? भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले यो पालिकामा धार्मिक एवं साँस्कृतिक हिसाबले विभिन्न जातजातिका मानिसहरुको वाहुल्यता रहेको भन्दै एकले अर्काको धर्म,सस्कार संस्कृतीप्रति सद्भाव राख्ने भएकोले झै झगडा न्यून हुने गरेको स्पष्ट पार्नुभयो ।

साथै वडा र टोल स्तरसम्मै न्यायिक समितीको पहुच रहेकोले पनि आफ्नो क्षेत्राधिकारभित्र रही सामान्य विवादका विषयहरु वडा स्तरमै मिलाईने गरेको उहाँको भनाई छ साथै उहाँले माङ्सेवुङ अनुगमनमा कार्यहरुपनि प्रभावकारी ढंगले नै गरिरहेको बताउनुभयो ।
साथै उहाँले पालिकाका नागरिकहरुको जीवन स्तर सुधार्दै यहाँको विकासका लागि कृषी र पर्यटनको क्षेत्रलाई विषेश प्राथामिकतामा राखेर आफुहरु अघि बढिरहेको पनि बताउनुभयो । जसअनुसार तत्कालका यस पालिकामा दुग्ध उत्पादन वृद्धी गर्ने लक्षका साथ ४० परिवार किसानलाई होलिस्ट्यन जातको गाई वितरण गर्ने योजना रहेको बताउनुभयो ।

यहाँ अहिले धेरै दुघ्द डेरीहरुले आफ्नो क्षमता भन्दा कम मात्र दुध संकलन गर्न पाईरहेको भन्दै उहाँले पालिकाले दुध उत्पादनलाई जोड दिएको स्पष्ट पार्नुभयो ।
त्यस्तै यो पालिका क्षेत्रमा धेरै पर्यटकीय स्थलहरु रहेको उल्लेख गर्दै उहाँले ती स्थलहरुको विकासलाई समेत पालिकाले मध्यनजर गरिए अघिबढेको उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा फोनिजका संघिय उपाध्यक्ष कमन देवान, महासचिव मिलन लिम्बू, बरिष्ठ पत्रकार तथा सल्लाहकार सन्जयसन्तोषी राई, निलिफा सुब्बा, प्रदेश इन्चार्ज भक्तशेर लिम्बु,निवर्तमान प्रदेश अध्यक्ष अर्जुन जम्नेली, संघीय सदस्य गजेन्द्र राई लगायतको उपस्थिती थियो । फोनिज प्रदेश कार्य समितिका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा भएको अन्तरक्रियाको सञ्चालन महासचिव सुसन राईले गर्नुभएको थियो ।


