क्विन्टल सुन तस्करीमा चीनदेखि भारतसम्मको गिरोह

काठमाडौँ — अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारसमेत पार गराएर सिनामंगल सडकमा निकालिएको क्विन्टल सुन तस्करीमा चीनदेखि भारतसम्म विस्तारित गिरोह संलग्न भएको खुलेको छ । तस्करीमा संलग्न एक–एक जना भारतीय र चिनियाँ नागरिक पक्राउ परेका छन् । सँगै आठ नेपाली पनि समातिएका छन् तर नेपाली मुख्य नाइके खोज्न अनुसन्धान भइरहेको राजस्वका अधिकारीहरूको भनाइ छ ।

त्रिभुवन विमानस्थलको भन्सार पार गरिसकेको सुन बरामद गरेपछि अनुसन्धान अघि बढाएको राजस्व अनुसन्धान विभागले लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा बस्दै आएका भारतीय नागरिक थुप्तेन छिरिङलाई बिहीबार पक्राउ गरेको छ । त्यसअघि दिउँसो एयर चाइनाबाट चीन जाने तयारीमा रहेका ३६ वर्षीय जेक्युयाङ लिन पनि विमानस्थलको अध्यागमन कक्षबाट पक्राउ परेका थिए ।

तस्करीको सुनसहित केही आरोपित पक्राउ गरेपछि मंगलबारदेखि नै सम्पर्क माध्यम बन्द गरेर बसेका जेक्युयाङ बिहीबार गुपचुप चीनको छेन्दु फर्किन लागेका थिए । तर, बिहीबार बिहानैबाट निगरानीमा रहेका उनलाई १० बजेतिर अध्यागमन कक्षमा पुगेलगत्तै पक्राउ गरेर विभागको जिम्मा लगाइएको थियो । ७ महिनाअघि काठमाडौं आएका जेक्युयाङ तीन महिनादेखि बालुवाटारको अपार्टमेन्टमा बस्दै आएका थिए । पक्राउ परेको केही घण्टामै विभागले उनी बस्दै आएको निवासमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ ।

सुनको नेपाली नाइके खोज्न सूक्ष्म अनुसन्धान भइरहेको अनुसन्धानकर्मीको भनाइ छ । ‘यो सुन नेपालमा भित्रिएपछि व्यवस्थापन गरी गन्तव्यसम्म लैजान कसले जिम्मा लिएको थियो भन्ने पनि अनुसन्धानकै क्रममा छ,’ विभागका एक अधिकारीले भने । विमानस्थलमा आइपुगेको सुन चार दिनसम्म गोदाममा राखेर सबै सेटिङ मिलाएपछि मात्र बाहिर निकालिएको पनि खुलासा भएको छ । जुलाई १३ (बिहीबार) हङकङस्थित क्याथे प्यासिफिकको कार्गो विभागमा यो सामानका कार्टुन काठमाडौं पुर्‍याउने गरी बुक गरिएको थियो, यो सामान जुलाई १४ (शुक्रबार) राति १० बजे काठमाडौं आएको थियो । ‘सुनले भरिएका ६ कार्टुन चार दिनसम्म भन्सारको गोदाममा राखिएको थियो, सबै सेटिङ निश्चित गरेपछि मंगलबार अपराह्न सवा ४ बजे मात्र बाहिर निकालिएको स्पष्ट भएको छ,’ अधिकारीहरूले कान्तिपुरसँग भने ।

हङकङबाट इलेक्ट्रोनिक आइटम (लाइट) भनेर यो सामान नेपाल पठाउन बुक गरिएको र नेपालको भन्सारबाट भने स्कुटरको ब्रेक सु भनेर जाँचपास गरिएकाले पनि भन्सारमा मिलेमतो भएको देखाउँछ । तर, भन्सारबाट निर्बाध छुटाउने निश्चित भएपछि मात्र बाहिर निकालिएको सुन राजस्व अनुसन्धानको विभागले सिनामंगलमै समातेको थियो । विमानस्थलमा रहेका भन्सार अधिकृत रमेश चन्द र खरिदार कुमार ढकालले सामान जाँचेर भन्सार एजेन्ट राजेन्द्र राईलाई जिम्मा लगाएका थिए । सुरुमा सामान्य सामान हो भन्ने देखाउन हातहातमा समातेर भन्सार कार्यालयबाट बाहिर निकालिएको थियो । सडकमा ल्याएपछि ट्याक्सीमा राखिएको थियो तर पहिलेदेखि नै पिछा गरिरहेको राजस्व अनुसन्धानको टोलीले तुरुन्तै ट्याक्सीसहित सुन नियन्त्रणमा लियो, अधिकारीको भनाइ छ ।

बूढानीलकण्ठस्थित रेडी ट्रेडर्स प्रालिले स्कुटरको ‘ब्रेक सु’ का नाममा भन्सारबाट निकालिएको सामान राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर खानतलास गर्दा करिब क्विन्टल सुन भेटिएको हो । सामान लिएर बाहिरिने क्रममा रहेका भन्सार एजेन्ट राई सिनामंगल/गैरीगाउँ क्षेत्रबाट पक्राउ परेका थिए । ट्याक्सी चालक अशोक लामा पनि समातिएका हुन् । पक्राउ परेका मध्ये २ जना रेडी ट्रेडर्सका सञ्चालक दिलीप भुजेल र उनका मामा रामकुमार भुजेल हुन् । बुधबार र बिहीबारको अपरेसनमा हर्कराज राई, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्टसहित थप ६ जना पक्राउ परेका हुन् । दुवै जनासँग सोधपुछपछि चिनियाँ र भारतीय एक/एक जना तथा अरू शंकास्पद २ जना समातिएका छन् ।

अनुसन्धानका लागि बिहीबार नै अर्थ मन्त्रालयले विमानस्थल भन्सारका जाँचपास अधिकृत रमेश चन्द र जाँचकी खरिदार कुमार ढकाललाई निलम्बन गरिसकेको छ । विगतमा पनि तस्करसँग साँठगाँठ गरेर मालवस्तु छिराएको आरोप भन्सार प्रशासनमाथि लाग्दै आएको थियो । भन्सारका कर्मचारीले भने एक्सरे मेसिनलाई दोष दिने गरेका छन् । भन्सारका निमित्त प्रमुख प्रशासक नारद गौतमले भने सामान जाँचपासका क्रममा मानवीय तथा प्रविधि सबै प्रयोग हुने गरेको दाबी गरे । स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ मा जडान गरेर ल्याइएको सुन नांगो आँखा र उपलब्ध प्रविधिले पत्ता लाग्न नसकेको उनको भनाइ छ । ‘नयाँ उपाय अपनाएर ल्याएकाले हामीले अनुमान नै गर्न नसक्ने अवस्था रह्यो,’ गौतमले भने, ‘अनुसन्धान हुँदै जाला तर अहिले मनसाय नै राखेर मानवीय कमजोरी भएको अनुमान गर्न सक्ने अवस्था छैन ।’ तर, एकै खेपमा क्विन्टल सुन तस्करी हुन सक्ने ठाउँमा गतिलो स्क्यानर नराख्ने र त्यसैको बहानामा तस्करी संस्थागत हुने गरेको छ ।

भन्सार विभागले सुन जाँचपासका क्रममा कर्मचारीको संलग्नता र घटनाका विषयमा छानबिन गर्न विभागका निर्देशक मानबहादुर पौडेलको संयोजनमा ६ सदस्यीय समिति बनाएको छ । प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ । बरामद सुन भने राष्ट्र बैंकको टक्सार विभागमा बिहीबार परीक्षण गरेर राष्ट्र बैंकको ढुकुटीमा पठाइएको छ ।

नेपालमा बरामद सुनको परिमाण र पक्राउ परेका आरोपितबाट खुलेका कतिपय तथ्य र प्रमाणले नेपालमा केही खपत भए पनि ठूलो हिस्सा भारततिरै जाने गरेको देखिन्छ ।

खासगरी तस्करीबाट आएको सुन स्थलमार्ग हुँदै भारतका विभिन्न सहर लैजाने गरिएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । नेपालमा थाइल्यान्ड, दुबई, हङकङ, चीनलगायत मुलुकबाट अवैध रूपमा सुन भित्रिने गरेको छ । तर, यसरी भित्र्याउँदा कहिलेकाहीँ बरामद हुने गरे पनि मुख्य कारोबारी पक्राउ परेको वा कारबाही गरिएको दृष्टान्त छैन ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै तस्करीबाट भित्रिएको ८८ केजी सुनसहित २०७४ भदौ १९ मा क्षेत्रपाटीबाट एक ‘भरिया’ पक्राउ परेका थिए । सुडानका २ नागरिक दुबईबाट गत माघमा भित्र्याएको १९ केजी सुन मोरङको रानी नाका हुँदै भारत लैजाने तयारी हुँदै गर्दा काठमाडौंबाट पक्राउ परेका थिए । विमानस्थलबाटै ५ वर्षअघि भित्रिएको ३३ केजी सुन प्रकरणमा सनम शाक्य मारिए । सुन गायब बनाएको प्रकरणमा गोरे भनिने चूडामणि उप्रेतीबाट उनी मारिएका थिए । तर, सुन भेटिएन । सुन कसले कहाँ पुर्‍यायो भन्ने तथ्य अहिलेसम्म खुलेको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।