राष्ट्र बैंकमा पुगेको सुन अब के गरिन्छ ?

काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब १ सय किलो सुन तौलिन बिहीबार नै नेपाल राष्ट्र बैंकको टक्सार विभाग पुर्‍याइएको छ ।

विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भइसकेको १६० वटा ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसमध्ये अधिकांशमा सुन रहेको मानिएको छ ।

‘ब्रेक शु’सहित जोख्दा १५५ किलो छ । सुन मात्र कति छ भन्ने यकिन गर्ने क्रम चलिरहेको छ ।

कस्तो हुन्छ यो प्रक्रिया ? कति समय लाग्छ ? राष्ट्रबैकको टक्सार विभागका अनुसार सो सुनको वास्तविक तौल आउन अझै कम्तीमा एक साता लाग्नेछ ।

टक्सार विभागका प्रमुख थानेश्वर आचार्यका अनुसार राजस्व अनुसन्धान विभागले ल्याएको सुन जस्तो पोका आएको थियो, जोखेर सुरक्षित रुपमा राखिएको छ । भन्छन्, ‘अहिलेसम्म सुनको गुणस्तर परीक्षण र तौल दिने प्रक्रिया सुरु भएको छैन ।’

सुनको गुणस्तर परीक्षण गर्ने र वास्तविक तौल दिने प्रक्रिया अघि बढाइदिन भनेर राजस्व अनुसन्धान विभागले राष्ट्र बैंकलाई औपचारिक पत्र लेख्नुपर्ने उनले बताए । ‘अहिले यो राजस्व अनुसन्धानको सम्पत्ति हो, हामी कस्टोडियन (संरक्षक) मात्रै भयौं, उसले अनुरोध गरेपछि मात्रै थप प्रक्रिया सुरु हुन्छ,’ उनले भने ।

राजस्व अनुसन्धानले पत्र लेखेपछि विभिन्न सरकारी निकायका प्रतिनिधि राखेर सुन गाल्ने प्रक्रिया सुरु हुन्छ । त्यसका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभाग, मुद्रा व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण विभागका प्रतिनिधि तथा राजस्व अनुसन्धान विभागको समेत प्रतिनिधिको रोहबरमा सो सुन भनिएको वस्तु खोल्ने र गाल्ने प्रक्रिया अघि बढ्ने उनले बताए ।

त्यो सुन भनिएको पदार्थमा जोडिएका अन्य वस्तु हटाएर गालेपछि साँचोमा ढालेर ढिक्का ढिक्का बनाएर राखिन्छ । टक्सार विभागसँग एक पटकमा १० केजी गाल्नसक्ने क्षमाता छ । दिनको २/३ सिफ्ट काम गर्ने हो भने पनि सुन गाल्ने र त्यसलाई साँचोमा हालेर निश्चित आकारमा ढाल्न २/३ दिन लाग्छ ।

‘त्यही क्रममा सुनको नमुना लिन्छौं । राष्ट्रबैंकको टक्सार विभागको ल्याबमा सुनको शुद्धता जाँचिन्छ,’ उनले भने, ‘सुनको शुद्धता जाँचिसकेपछि मात्रै त्यो सुन हो कि होइन, र हो भने कस्तो गुणस्तरको सुन हो भन्ने कुरा थाहा हुन्छ ।’

९९ दशमलव ९९ प्रतिशत सुन फेला पर्‍यो भने त्यसलाई शुद्ध सुन मानिन्छ ।

यति प्रक्रिया सुरु गर्न नै एक साता लाग्ने उनले बताए । त्यसरी सुन भएको प्रमाणित भइसकेपछि अन्तर्राष्ट्रिय बजार मूल्यको ५–६ प्रतिशत कममा राजस्व अनुसन्धान विभागसँग राष्ट्र बैंकले नै खरिद गरिदिने उनले बताए । ‘राष्ट्र बैंकले सुन खरिद गरी सरकारलाई हामीले पैसा भुक्तानी गर्छाैं,’ उनले भने ।

खरिद गरेको सुन ९९ दशमलव ९९ प्रतिशत रहेछ भने टक्सार विभागले असर्फी नै निकाल्छ र सर्वसाधारणलाई बेचिन्छ । त्यसभन्दा कम तौलको रहेछ भने चाहिँ राष्ट्र बैंककै भण्डारणमा रहन्छ । टक्सार विभागका प्रमुख आचार्यले भने, ‘भविष्यमा कुनै अवस्था पर्‍यो भने राष्ट्र बैंकले त्यसलाई बिक्री गर्न पनि सक्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।