प्राध्यापक अधिकारी ५ दिनदेखि बेपत्ता
काठमाडौँ । प्राध्यापक डाक्टर दलबहादुर अधिकारी ५ दिनदेखि बेपत्ता भएका छन् । बिहीबार बिहान १०ः४५ बजेतिर घरबाट बाहिर हिँडेका प्राडा अधिकारी सम्पर्कविहीन भएका हुन् ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ पञ्चकन्या टोलका उनको खोजी कार्य तीव्र पारिए पनि सम्पर्कमा आउन सकेका छैनन् । अल्जाइमरका बिरामी रहेका अधिकारी हालै त्रिचन्द्र कलेजबाट अवकाश पाएका थिए ।
उनका भाइ आरबी अधिकारीका अनुसार दिउँसो ४ बजेसम्म चौकी डाँडातिर देखिएका थिए । तर, त्यसपछि भने कहीँ कतै नदेखिएको अधिकारीले बताए ।
श्रीमती विष्णु अधिकारीले बिहीबार बिहान मर्निङवाक गरेर घर आएको बताइन् । घर आएको केही समयपछि बुहारी बाहिर निस्किएको मौकामा उनी पनि घरबाहिर निस्किएका थिए ।
कोलोनी क्षेत्रमा बसोबास गर्दै आएका अधिकारीको परिवारले सुरक्षा गार्डलाई समेत उनलाई लागेको रोगबारे यसअघि नै जानकारी गराएका थिए । तर, कोलोनीबाट बाहिर निस्किने बेला जिद्दी गरेर हिँडेको गार्डले बताएका छन् ।
‘सधैँझै कोलोनीभित्र मर्निङ वाक गर्नुहुन्थ्यो । अल्जाइमरका बिरामी भएकाले बिर्सिनुहुन्थ्यो । एक्लै हिँड्ने आँट पनि गर्नुहुन्थ्यो । त्यो दिन बिहान हिँडेर आएर नास्ता खानुभएको थियो । बुहारी बाहिर निस्किइन् । त्यही बीचमा उहाँ पनि निस्किनुभयो,’ विष्णुले भनिन् ।
बाहिर गएपछि गार्डले फोन गरेर सर बाहिर निस्किनुभयो के गर्ने भनेर सोधेका थिए । त्यसपछि विष्णुले किन बाहिर जान दिएको भनेकी थिइन् । एक छिनमै आइहाल्ने र नजिकै जान लागेको भनेर जिद्दी गरेपछि जान दिएको गार्डले बताएका थिए । तर, उनी लामो समय हुँदा पनि नफर्किएपछि गार्डलाई नै खोज्नको लागि पठाएकी थिइन् ।
कतै नभेटिएपछि उनले वडामा जानकारी गराएकी थिइन् । वरपरको सीसीटीभी हेर्दा दिउँसो १२ः२८ मा हिँडिरहेको देखिएका छन् । त्यसपछि ४ बजेतिर चौकी डाँडातिर मोजा मात्रै लगाएर हिँडिरहेका देखिएका थिए । त्यसपछि सबै जना मिलेर खोज्न थालेका थिए । तर, आजसम्म सम्पर्कमा आउन सकेका छैनन् ।


