आमचोक गाउंपालिकाबाट कृषि मोडल सिकौं
जीवनप्रसाद राई । कोशी प्रदेश भोजपुर जिल्लाको पश्चिम दक्षिणी भेगमा अवस्थित आमचोक गाँउपालिका भोजपुरका ९ वटा स्थानीय तहहरु मध्ये एक हो । साबिकका गाबिसहरु वासिङथर्पु, युँ, थिदिङखा, बालंखा, पावला, देवन्टार, दुम्माना, पाङचा गरि ८ वटा गाबिस मिलेर बनेको यो पालिकाको १० वडाहरु छन । २०,३८० जनसंख्या, ३,५७७ परिवार संख्या रहेको यो पालिका १८४.८९ किमि क्षेत्रफलमा फैलिएको छ । यो पालिका तुलनात्मक रुपले धेरै संभावना भएको गाँउपालिकाको रुपमा लिन सकिन्छ । पुर्वाधार बिकास कम भएता पनि गाँउपालिकाले बिगत ५ बर्ष देखि कृषिमा उल्लेखनीय कार्य गरिरहेको छ ।
परम्परागत रुपमा भईरहेको अन्नबाली खेती बाहेकको यी परियोजनाहरु बिलकुलै शुन्यबाट शुरु भएर बिकसित अवस्थामा आईपुगेको हो । गाँउपालिकाले मुख्यतः निम्न परियोजनाहरुलाई प्राथमिकतामा राखेर कार्य भईरहेको त्यहाँका पालिका अध्यक्ष अशोक राई बताउनुहुन्छ । जसमा मुख्यतः ६ वटा परियोजनाहरु संगसंगै रुपमा अघि बढेको छ ।
आमचोक गाँउपालिकाको चिया बिकास योजना :
आमेचोक गाँउपालिकाको सबैभन्दा आकर्षण क्षेत्र नै चियामा भएको कार्य हो । यस चिया परियोजनामा बिगत ५ बर्षमा ४ करोड रुपियाँ भन्दा बढी लगानी गरि कुल ७ लाख ४० हजार भन्दा बढी बिरुवा १२५ हेक्टरमा दाग्बुङराङ, बोयाङ, धिन्ताङ, तीनचुले क्षेत्रमा रोपिएको छ । यसबाट बार्षिक ३० हजार किलो चियापत्ति उत्पादन हुदै गरेको छ भने आगामी ४ बर्ष बर्ष पछि ३ देखि ५ लाख किलो उत्पादन दिने अनुमान गरिएको छ । बार्षिक रुपमा ५० हजार वटा चियाको बिरुवा रोप्दै जाने योजना कार्यन्वयन हुदै आएको छ ।

समुद्र सतह देखि १८ सय मिटर देखि २४ सय मिटर सम्मको उचाईमा लगाईएको हुनाले यहाँको चियाको स्वादमा तिख्खरता समेत आउने गर्दछ । बिशेषता चिसो हावापानीमा उत्पादन हुने भएकोले यहाँको चियालाई राम्ररी प्रशोधन र ब्राण्डिङ गर्न सक्दा संसारको उत्कृष्ट चियाको रुपमा ब्राण्डको बिकास गर्न सकिनेछ । भारतले हाल दार्जिलिङ क्षेत्रको चियालाई संसारकै उत्कृष्ट भनेर ब्राण्डिङ गरेको छ । आमचोकको चियालाई भारतको दार्जिलिङ भन्दा पनि उत्कृष्ट बनाउनका लागि यहाँको स्थानीयहरुको पहल र लगनशीलता आवश्यक छ ।
चियामा आफ्नै ब्राण्ड र प्रशोधन :
गाँउपालिकाले चिया खेतीमा जुन रुपमा क्षेत्र बिस्तार गरिरहेको छ । यसका लागि आफ्नै प्रशोधन केन्द्र समेत हुनुपर्ने आवश्यकता रहेकोले गाँउपालिकाले २ करोड रुपियाँ लगानीमा प्रशोधन केन्द्र स्थापनाका लागि कामको थालनी गरिसकेको छ । यसरी आफ्नै प्रशोधन केन्द्रबाट उत्पादित चियालाई आमचोक चिया सहकारी संस्था लि. द्धारा उत्पादित –अर्थोडक्स चिया नामको ब्राण्डमा बजारमा पठाउन थालिएको छ । दाग्बुङराङ क्षेत्रमा नै चियाको प्रशोधन केन्द्र स्थापना भएको कारणले गर्दा यहाँको चिया तथा कृषि पर्यटनमा समेत महत्वपुर्ण योगदान पुग्न सक्ने संभावना रहेको छ । चिया प्रशोधन उधोग स्थापना भएको कारणले गर्दा यहाँ थप नीजि क्षेत्रबाट समेत चिया उत्पादन बृद्धि हुने आशा गरिएको छ । जसका कारणले सुन्दरताका लागि पर्यटनको बिकास र कृषि उत्पादन एकसाथ अघि बढ्ने आशा गर्न सकिन्छ ।

आफ्नै नर्सरी तथा कृषि फर्म सेवा :
गाँउपालिकाले कृषक तथा कृषि उधमीहरुलाई गुणस्तरीय बिरुवा बितरण तथा उन्नत खालका बाख्राका पाठापाठी समेत उपलब्ध गराउने प्रतिबद्धता स्वरुप घारे कृषि फर्मको बिकास गरेको छ । जसमा उन्नत खालका बाख्राका पाठापाठी, माछाको उत्पादन तथा उन्नत खालका फलफुलका बिरुवाहरु उत्पादन गरि कृषकलाई उपलब्ध गराईएको छ । यसबापत गाँउपालिकाले सेवा शुल्क भने लिने गरेको छ । त्यस सेवा शुल्क वापत गत आर्थिक बर्ष २०७९-०८० मा कुल ३० लाख ३ हजार ३७० रुपियाँको बिक्री भएको थियो । गाँउपालिकाले यसलाई अझै प्रभावकारी रुपमा अघि बढाउनका लागि गाँउपालिकाले योजनाहरु बनाईरहेको त्यहाँका चिया तथा कफी अभियन्ता दिपक बान्तावा बताउँनु हुन्छ ।
कफी खेती बिस्तार :
गाँउपालिकाले चियामा मात्रै होईन कफीमा पनि उतिकै कार्य गरिरहेको छ । दुम्माना र बसाईगाँउमा कफीका ५ सय भन्दा बढी बिरुवाहरु हुर्किरहेको छ । बर्षेणी १ हजार भन्दा बढी कफीको बिरुवा रोप्ने कार्यमा पालिकाले तिव्रता दिएको छ । कफीको नर्सरी समेत आफैले उत्पादन गर्दै आएको गाँउपालिकाले कफीमा उल्लेख्य मात्रामा लगानी गर्नका लागि राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तार आयोजना धनकुटा हिले संग समेत सहकार्य गरेर अघि बढिरहेको छ । यस कार्यका लागि पुर्णकालीन रुपमा कृषि उधमी दिपक बान्तवाको रेखदेखमा कार्यक्रम भईरहेको छ । कफी खेती बिस्तार तथा साथसाथै अनुसन्धानको कार्य समेत भईरहेको बिषय बान्तवाले बताउनुभयो ।
जडिबुटीजन्य खेती बिस्तारः
यस गाँउपालिकाको वडा नम्बर २ को छयाङ भन्ने ठाँउमा लोटसल्ला तथा अन्य बिबिध खालका जडिबुटीहरुको ३० हेक्टरमा खेती बिस्तार भएको छ । राईको एग्रो फरेष्टी समुह द्धारा उक्त कार्य भएको बिषय पत्रकार तथा फर्मका अध्यक्ष श्री सहीमान राईले बताउनु भयो । जसबाट तत्कालै नियमित र सिजनल गरि ५५ जनाले रोजगारी पाएका छन । जडिबुटी खेतीका क्षेत्र बिस्तार गर्दै यसमा प्रशोधन उधोग समेत स्थापना गर्ने योजना रहेको बताईन्छ । पालिकाले महत्वका साथ बोके टिम्मुर, कागती, एभोकाडो र उखु उत्पादन गरि सक्खर उत्पादन गर्ने योजनामा पनि कार्य गरिरहेको छ ।

घरबास कार्यक्रम संचालन तयारी :
यस पालिकाको जोगिपत्थर अत्यन्तै गर्मी हुने क्षेत्र र अत्यन्तै जाडो हुने क्षेत्र दाग्बुङराङ क्षेत्रमा यहाँको पर्यटन प्रबर्धन, यहाँको रैथाने कृषि परिकारहरुको प्रबर्धन गर्ने उद्धेश्यका साथ घरबास कार्यक्रम संचालन गर्नका लागि सर्भेक्षण भईसकेको छ । दाग्बुङराङ क्षेत्रको सामुदायिक होमस्टे संचालनार्थ तदार्थ समितिका संयोजक सन्दिप किराँती रहनु भएको छ भने जोगिपत्थर क्षेत्रको सामुदायिक होमस्टे संचालकका तदर्थ समितिका संयोजक श्री गोपाल मगर रहनु भएको छ । गर्मी समयमा दाग्बुराङ र जाडो समयमा जोगिपत्थर केन्द्रित पर्यटन र कार्यक्रम संचालन गर्न सक्दा यहाँको पर्यटकीय गन्तब्य निकै प्रभावकारी हुने कुरा आमचोक गाँउपालिका वडा नम्बर ९ का वडाअध्यक्ष रोशन मगर बताउनु हुन्छ । गाँउपालिका भित्र सामुदायिक रुपमा होमस्टेहरु संचालनमा आउँदा १ हजार देखि १ हजार ५ सय घर परिवार प्रत्यक्ष र परोक्ष रुपमा लाभान्वित हुनेछन पत्रकार तथा स्थानीय सहीमान राई बताउनु हुन्छ ।
आमचोकले सिकाएको कृषि :
२०५१ सालमा नेकपा एमालेको ९ महिना शासनकालमा आफ्नो गाँउ आफै बनाउ अन्तर्गत गाँउ गाँउमा सडक, बत्ति, पुलहरु पुर्याउने प्रतिस्पर्धा शुरु भएको र यसले तिव्रता पाएको थियो । अहिले पनि त्यही परम्परालाई स्थानीय सरकारहरुले जोड दिदै आईरहेको हामीले प्रत्यक्ष रुपमा देखिरहेका छौ । तर ति सबै समस्या र ब्यवधानहरुका बीच पनि आमचोक गाँउपालिकाका अध्यक्ष अशोक राईको नेतृत्वले कृषि उत्पादन, सेवा उधोगहरु समेत संचालनमा ल्याउन लागेको प्रयास जुन आफैमा उल्लेखनीय नै रहेको छ ।
उत्पादन सबैभन्दा महत्वको बिषय हो आजको दिनमा । उत्पादनको केन्द्र बिन्दु कहीँ न कही हुनैपर्दछ । त्यसको अन्तिम बिन्दु भनेकै परिवार, समाज, टोल, वडा र पालिका हुदै प्रदेश र सिंगो मुलुकमा जाने हो । राज्यले यसलाई माथिल्लो स्तरबाट नै लागु गर्न नसकेको अवस्थामा नितान्त रुपमा एउटा पालिकाले एउटा नमुनाको रुपमा उत्पादनलाई प्राश्रय दिन सक्दछ । त्यही बिषयलाई नै आमचोक गाँउपालिकाले महत्वका साथ कार्य गरेको देखिन्छ ।
कृषिको बजारीकरण आफ्नै ठाँउमा गर्ने तथा अर्गानिक बस्तुहरुलाई पाहुनाहरुका लागि पस्कनका लागि होमस्टे र फर्मस्टेको अवधारणामा काम भएको छ । यो आमचोक गाँउपालिकाको अर्को मोडल हो । ग्रामिण पर्यटनलाई साँच्किकै अर्थमा भन्नु पर्दा गाँउपालिकाले नै महत्वका साथ कार्य गर्ने हो । स्थानीय जनतालाई साथ दिने हो । उत्पादन उदाहरणका लागि आफैले नमुना कृषि फर्म सेवा संचालन गरिनुले नागरिकहरुका उत्साह ल्याउन मद्धत गर्दछ । यही मुताविक आमचोक गाँउपालिकाले गरिरहेको यो कार्यले अन्य पालिकाहरुलाई समेत प्रेरणा मिल्ने देखिन्छ । अब कृषि पर्यटनका लागि आमचोक गाँउपालिकाले क्षेत्र बिस्तार गरिसकेकोले यससंग सरोकार राख्नेहरु आमचोक घुम्न जाँउ भन्ने सन्देश प्रवाह गर्ने बेला भएको छ । कृषिमा सिकाई र आन्तरिक पर्यटन प्रबर्धनका लागि आमचोक जाँउ ।






