पाक्न लागेको धानमा कालोपोके रोग लागेपछि किसान चिन्तित

नारायणगढ (चितवन), १६ कात्तिक ः धानबालीमा कालोपोकेको समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको धानमा कालोपोकेको समस्या देखिएको हो । पाकेर काट्नेबेला हुनै लागेकोे धानमा कालोपोकेको समस्या देखिएसँगै किसान चिन्तित बनेका हुन् ।

भरतपुर महानगरपालिका–१४ पटिहानीमा धानखेती गर्दै आउनुभएका किसान उमनाथ पौडेल यस वर्ष धानमा कालोपोके रोग महामारीका रुपमा फैलिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जसरी मानिसमा कोरोना र गाईभैँसीमा लम्पी स्किन रोग फैलियो त्यसैगरी अहिले धानमा कालोपोके रोेग महामारीका रुपमा फैलिएको छ । हामी काम गरेर खाने किसानको बिजोग भयो ।”

खासगरी समूहमा लागाइएको पटिहानीको सावा धानमा कालोपोकेको व्यापक महामारी फैलिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धान काट्नका लागि अझै एक हप्ताजति लाग्छ । यो रोगको समस्या दिनानुदिन वढ्दै गएको छ ।” कालोपोके रोगका कारण धानको बीउ उत्पादन गर्न नमिल्ने भन्दै उहाँले रोग लागेको धान व्यापारीलेसमेत खरिद नगर्ने हुँदा थप समस्या भएको बताउनुभयो । गत वर्षको तुलनामा अहिले आधाभन्दा कम धान उत्पादन हुने उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका वडा नं ५ तोरीखेतका किसान फणिन्द्र पङ्गेनीले पनि पाक्नै लागेको धानको बालामा कालोपोके लागेको र कालोपोकेका कारण धान उत्पादनमा कमी आउने भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँ मात्रै नभएर उहाँसँगै छर छिमेकमा लगाएको धानखेतीमा समेत कालोपोकेको समस्या देखिए पछि गाउँनै चिन्तित भएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष एक कट्ठामा तीन मुरीभन्दा बढी धान उत्पादन गर्नुभएका पङ्गेनी यो वर्ष कट्ठाको एक मुरी दश पाथी पनि भित्र्याउने अवस्था नभएको बताउनुहुन्छ । “पहिलेका वर्षमा आँफूलाई खान पुग्ने धान अड्कलेर बाँकी धान बिक्रीवितरण गर्ने हामी किसान यस वर्ष बिक्री वितरण गर्न नपाउने भएका छौँ”, उहाँ भन्नुहुन्छ, “यो वर्ष रोगका कारण किसानको घरमा धान नहुने देखियो । अब के गर्ने ।”

कृषि ज्ञानकेन्द्र चितवनका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ७५ प्रतिशतमा कालोपोकेको समस्या देखिएको हो । सावा मन्सुली, सावित्रीलगायतका धानमा यो समस्या देखिएको छ । कार्यालयकी सूचना अधिकारी सुरुची त्रिपाठीले जिल्लामा लगाइएको धानमा कालोपोके, नेक ब्लाष्ट, व्याक्टेरीयल प्यानिकल ब्लाष्ट (दाना नलाग्ने) रोगको समस्याले गर्दा धान उत्पादनमा कमी आउने बताउनुहुन्छ ।

रोगका कारण जिल्लामा धानको उत्पादनमा ३० देखि ५० प्रतिशत सम्म कमी आउनसक्ने उहाँको आँकलन छ । कालोपोके तथा बालीमा लाग्ने रोग विशेष गरी बीउ, माटो र हावाका कारण लाग्ने उहाँले बताउनुभयो ।

अघिल्लो वर्षको बीउमा समस्या हुँदा यो रोगको समस्या बढेको भन्दै उहाँले कालोपोके रोग ढिलो पाक्ने धानमा पाक्ने समयमा बढी देखिएको जानकारी दिनुभयो । बीउ राख्ने समयमा सावधानी अपनाउन नसक्दा र लगातार एउटै बाली खेतमा लगाउँदा रोगको सङ्क्रमण बढी हुने त्रिपाठीले बताउनुभयो ।

बागमती प्रदेश बीउबिजन प्रयोगशाला, हेटाँैडाका प्रमुख राजन ढकाल बीउ र माटोका कारण रोगको सङ्क्रमण देखिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सावा मन्सुलीमा रोग प्रतिरोधात्मक क्षमता कम हुनेहुँदा हाल चितवनमा कालो पोके रोगको समस्या बढी देखिएको हो ।” कालोपोके रोग र नेक ब्लाष्ट जस्ता रोग लागेको धानको बीउ आगामी वर्ष प्रयोग गर्न नहुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बीउ र सन्तुलित मलखादको व्यवस्थापन हुन नसक्दा बालीमा रोगको संक्रमण बढेको हो ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖