च्याउखेतीमा रमाउँदै मिलन

जानकी (बाँके), ३ मङ्सिर : बाँकेको बैजनाथ गाउँपालिका–१ गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउखेती गर्दै आउनुभएको छ । उहाँले एक बिघा जग्गामा छ वर्षदेखि गोब्रे प्रजातिको च्याउखेती गर्दै आउनुभएको हो ।

रू छ करोड लगानीमा निर्माण गरिएको च्याउ फार्ममा दुई भारतीय नागरिकसहित १३ जनाले रोजगारी पाएका बस्नेतले बताउनुभयो । साथीहरुसँग मिलेर १० कठ्ठा जमिन भाडामा लिएको र बाँकी १० कठ्ठा आफ्नै जमिनमा खेती सुरु गरेको उहाँको भनाइ थियो ।

भारतमा ब्याचलर इञ्जिनियरिङको पढाइ पूरा गर्नुभएका मिलनले परदेशमा दुख गरेर कमाएको पैसालेभन्दा आफ्नै माटोमा मेहनत गरेर फलाएको नतिजाले लोभ्याएको बताउनुभयो । “उपयुक्त योजना बनाएर कार्यान्वयन गर्न सके आफ्नै देशमा सुन फलाउन सकिने रहेछ”, उहाँले भन्नुभयो, “अहिले फार्ममा १३ जनाले रोजगारी पाएका छन् । यो सबै योजना र मेहनतको प्रतिफल हो ।”

जग्गा भाडामा लिएर व्यावसायिकरुपमा गरिएको गोब्रे च्याउखेती थालेका मिलन र उहाँका साथीहरुलाई स्वदेशमै काम गर्न हौसला दिएको छ । बाह्रैमास च्याउखेती गर्दै आउनुभएका मिलनले यस वर्ष मात्रै एक लाख केजी च्याउ फलाउनुभएको छ । उक्त च्याउ सुदूरपश्चिमको धनगढी, बाँकेको नेपालगञ्ज र कोहलपुर, सुर्खेत, दैलेख, दाङ र काठमाडौँको कालीमाटीलगायत ठाउँमा पठाउने गरेको उहाँले जानकारी दिनुभयो ।

मिलनका अनुसार च्याउ फलाउनका लागि चार वटा एसी जडान गरिएको कोठा निर्माण गरिएको छ । एउटा कोठामा १० टनको एसी जडान गरिएको उहाँको भनाइ थियो । च्याउको बीउ छरेर उमार्नलाई १६ डिग्री तापक्रम चाहिने मिलनले बताउनुभयो । “च्याउ उमार्नलाई १६ डिग्रीको तापक्रम चाहिन्छ । च्याउ आफैँमा असाध्यै नै संवेदनशील प्रजातिको भएकाले यसलाई उमार्न तापक्रममा निकै ध्यान दिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

काठमाडाँैको कालीमाटीमा च्याउ पठाउँदा प्रतिकिलो रू ६० का दरले जहाजमार्फत पठाउने गरेको मिलनले जानकारी दिनुभयो । “हामीले यहाँबाट काठमाडौँको कालीमाटीमा पनि च्याउ पठाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यहाँ प्रतिकेजी रू ६० का दरले जहाजमार्फत पठाउने गरेका छौँ ।” धेरै मेहेनत गर्नु नपर्ने र बजारभाउ पनि राम्रै हुने भएकाले च्याउखेती गर्दा सन्तुष्टि मिलेको उहाँको भनाइ छ ।

बीउ छरेको लगभग एक महिनामा च्याउ टिप्नलाई तयार हुने मिलनले बताउनुभयो । च्याउ खेतीमा राम्रो सम्भावना भए पनि भन्सार छली गरेर आयात गरिएका भारतीय च्याउका कारण स्वदेशी च्याउले राम्रो बजार भाउ पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

“हामीले आफ्नो सबै लगानी लगाएर, दुःख र मेहनतका साथ च्याउ फलाएका हुन्छौँ । बेच्ने बेलामा भारतबाट भन्सार छलेर ल्याइएका च्याउ नेपाली बजारमा सस्तो मूल्यमा आइपुग्छ । यसले गर्दा हाम्रो च्याउले बजार भाउ पाउन सकिरहेको छनै”, मिलनले भन्नुभयो, “भन्सार छली गरेर ल्याइने भारतीय च्याउमा प्रशासनको ध्यान जानसक्यो र आयातित च्याउ भित्रिन पाएन भने हामीलाई च्याउखेतीमा अगाडि बढ्न सजिलो हुन्छ ।”

उहाँका अनुसार प्रतिदिन नेपालगञ्ज बजारमा दुई सयदेखि पाँच सय केजी भारतीय च्याउ आउने गर्दछ । प्रतिकेजी साढे तीन सयदेखि चार सय रुपैयाँमा नेपालमा उत्पादन गरिएको च्याउ बिक्री हुने भन्दै भारतबाट आयात गरिएको च्याउ प्रतिकेजी डेढ सयमा बिक्री हुने गरेको मिलनको भनाइ छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङले भन्सार छली गरी ल्याइने च्याउलगायत अन्य तरकारीका विषयमा सिमा नाकामा अनुगमनलाई कडा गरिएको बताउनुभयो । “हामीले च्याउमात्र नभई भन्सार छली गरेर ल्याइने अन्य सामान नेपाल भित्रन नपाओस् भनेर अनुगमनलाई कडाइकासाथ पालन गरेका छौँ”, उहाँले भन्नुभयो, “सीमानाकामा जाँच कडाइ गर्दागर्दै पनि अन्यत्र बाटा प्रयोग गरी सामान भित्र्याइन्छन् । यसतर्फ प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी अनुगमनलाई अगाडि बढाइरहेको छ ।” -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।