कृषि कर्मबाटै चिनिएका गुप्तप्रसाद

टेकराज पोखरेल/नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित हुनुभयो । त्यसपछि उहाँले राजनीतिमा मन लगाउनु भएन । रेग्मीको मन वैदेशीक रोजगारतर्फ मोडियो । उता पनि खासै जम्न नसकेपछि उहाँ स्वदेश नै फर्किनुभयो ।

रेग्मी अहिले व्यावसायिक किसानको रुपमा स्थापित हुनुभएको छ । वडा सदस्य रहँदै गर्दा २०७५ मा गैँडाकोट–१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेत सुरु गर्नुभएका उहाँले टीकारत्न टुल्की कृषि फार्म दर्ता गर्नुभयो । रेग्मी व्यावसायिक किसान बन्नुका पछाडि उहाँले विदेशमा देखेसिकेको कुरा नै मुख्य हो ।

“दुईपटक कतार गएँ, त्यहाँ पुग्दा एभोकाडो खाए । तर, त्यसको स्वाद पाइनँ”, रेग्मीले भन्नुभयो, “त्यसपछि अष्ट्रेलिया गएँ, त्यहाँ पुग्दा छोरीहरुबाट एभोकाडोको बारेमा र गुणको बारेमा जान्ने अवसर पाएँ ।”

एभोकाडो चिसो ठाउँमा हुन्छ भन्ने थाहा पाएपछि नेपाल फर्किएर गैँडाकोट–१८ मा जग्गा किनेको रेग्मीले सुनाउनुभयो । “चिसो हावापानी भएको ठाउँ हो, १३ रोपनी १४ आना जग्गा खरिद गरेँ ।”, उहाँले भन्नुभयो ।”

दश बोट सुन्तलाबाट पन्ध्र सय

विसं २०७५ मा १० बोट सुन्तला लगाउनुभएका रेग्मीको फार्ममा अहिले १५ सय सुन्तलाका बोट छन् । उहाँले फलफूल खेती गर्न सुरु गर्दा जिल्लामा उन्नत जातका कागती र सुन्तलाका बिरुवा पाइँदैनथे । धनकुटाको पारी पात्ले पुगेर कागतीको बिरुवा लिएर आएको भन्दै रेग्मीले कागतीको बिरुवासँगै १० ठूला सुन्तलाको बिरुवा पनि लिएर आएको अनुभव सुनाउनुभयो ।

“सुरुमा १० सुन्तला र चार सय कागतीबाट फलफूल खेती सुरु गरेँ”, उहाँले भन्नुभयो, “विसं २०७६ बाट सुन्तला थप्न सुरु गरिएको हो, अहिले डाँडाभरि सुन्तला छन् ।” अहिले रेग्मीको फार्ममा सुन्तलाको एक हजार पाँच सय बोटबिरुवा, कागतीका नौ सय, निबुवाका तीन सय, मौसमका दुई सय, किन्नुका (माघको अन्तिमतिर पाक्ने फलफूज प्रजाति) एक सय, आँखे टिमुरका एक सय, लप्सीका ६० बोटबिरुवाका साथै स्याउ, किबी, आँप, लिची र एभोकाडोसहितका फलफूलका बोटबिरुवा छन् । उहाँको फार्ममा सुरुआती समयबाट अहिलेसम्म सबै गरी रु दुई करोड ५० लाख बढी लगानी भइसकेको बताउनुभयो ।

आम्दानी लिन सुरु

रेग्मीले फार्ममा लगाउनुभएको फलफूलका बोटबिरुवाले गत वर्षदेखि आम्दानी दिन सुरु गरेका छन् । “गत वर्ष फलफूल बिक्रीबाट रु दुई लाख जति आम्दानी गरेकामा अहिले रु १० लाख जति आम्दानी होला”, उहाँले भन्नुभयो, “अझै केही फलफूल टिप्न बाँकी छन्”, फलफूलका बिरुवाबाट अर्को साल रु २० लाखभन्दा बढीको आम्दानी हुने अपेक्षा गरेको भन्दै रेग्मीले भन्नुभयो, “अब फलफूलबाट हुने आम्दानी बढ्दै जान्छ ।”

यस वर्ष सुन्तलाको चार सय बोटबाट मात्रै आम्दानी भएको भन्दै उहाँले आगामी वर्षबाट करिब एक हजार सुन्तलाको बोटले आम्दानी दिन सुरु गर्ने बताउनुभयो । “अब करिब पाँच सय बोट कागतीले आम्दानी दिन सुरु गर्ला कागतीले पनि अहिलेको भन्दा दोब्बर आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । यस वर्ष सुन्तला, कागती, निबुवा, टिमुरलगायतका बोटबाट आम्दानी लिन सुरु भएको छ ।

फलफूल खेतीको क्षेत्रफल विस्तार

रेग्मीले पाँच वर्ष अगाडि १३ रोपनी १४ आना जग्गाबाट सुरु गर्नुभएको फलफूल खेतीको क्षेत्रफल गर्दै अहिले ८२ रोपनी क्षेत्रफलमा फलफूल खेती गर्नुभएको छ । उहाँले सुरुमा रु ५० हजार प्रतिरोपनीका दरले जग्गा किनेको बताउनुभयो । जग्गा किनेर पास गरेपछि मात्रै यस ठाउँमा आएको भन्दै उहाँले भन्नुभयो, “जग्गा किनेपछि यहाँ आउनका लागि राम्रो सडक थिएन । खाल्डाखुल्डी भएका सडक पार गरेर आउनुपर्ने थियो ।”

सार्वजनिक सवारीसाधन ठाउँठाउँमा धकेल्दै आउने गरेको भन्दै अहिले बाटो सहज हुँदा आउजाउ गर्न सजिलो भएको रेग्मीले बताउनुभयो । “बाटो अलि सहज भएपछि मैले कार बेचेर पिकअप किनेँ, यो पिकअपबाट आउनजान सहज भएको छ”, उहाँले भन्नुभयो । उहाँले १३ रोपनीमा मात्रै फलफूल खेती गरेर मन नमानेपछि विस्तारै जग्गा थप गर्दै लगेको सुनाउनुभयो ।

पछि थप गरेको जग्गा रु ८० हजारदेखि रु तीन लाख प्रतिरोपनीसम्मका दरले खरिद गरेको बताउँदै उहाँले फलफूल खेतीबाट सन्तुष्ट भएको बताउनुभयो । “फलफूल खेतीबाट निकै सन्तुष्ट छु, अब मेरो फलफूल खेती यहाँभन्दा विस्तार गर्दिनँ”, उहाँले भन्नुभयो, “फलफूल खेतीले मेरो उमेर १० वर्ष बढाएको छ जस्तो लाग्छ ।”

गाउँमा पानीको समस्या भएका कारण रेग्मीले पाँच सय मिटर तल खोलाबाट लिफ्टिङ गरेर माथी पानी तान्नुभएको छ । “जेनेरेटरबाट बिजुली निकाली पम्पबाट लिफ्टिङ गरेर पानी तानेर थोपा सिँचाइ गरेको छु”, उहाँले भन्नुभयो, “लिफ्टिङ गरेर माथी तानेको पानी जम्मा गर्न एक लाख २५ हजार लिटरको ट्याङ्की निर्माण गरेको छु ।” सबै ठाउँमा पानी पुग्ने गरी ब्लक निर्माण गरेर थोपा सिँचाइमार्फत फलफूलका बोटबिरुवा सिँचाइ गर्दै आएको उहाँको भनाइ छ ।

रेग्मीले फलफूल खेती सुरु गरेपछि सरकारी निकायबाट अनुदानसमेत पाउनुभएको छ । उहाँलाई सुन्तला जोनबाट लिफ्टिङका लागि रु चार लाख १५ हजार प्राप्त भएको बताउनुभयो । त्यस्तै सुन्तला जोनबाटै लिफ्टिङ गरेको पानी जम्मा गर्नका लागि ट्याङ्की निर्माण गर्न रु दुई लाख अनुदान पाएको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र तनहुँ (नवलपुरमा कृषि ज्ञान केन्द्र स्थापना भएको थिएन) बाट १३ रोपनीमा थोपा सिँचाइका लागि ५० प्रतिशत अनुदानमा रु दुई लाख ५० हजार पाएको बताउनुभयो । जग्गा विस्तारपछि बाँकी जमिनमा सिँचाइ गर्न थोपा सिँचाइका लागि सुन्तला जोनबाट ८५ प्रतिशत अनुदान पाएको उहाँको भनाइ छ । फलफूलका बिरुवामा ५० प्रतिशत अनुदान, औषधि छर्ने ट्याङ्की तथा औजारमा ५० प्रतिशत अनुदान पाएको रेग्मीले बताउनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।