हल्दिबारीमा भेटिए पुरातात्विक इँटा

झापा, २ पुस : दक्षिण झापाको हल्दिबारी गाउँपालिका–४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्विक महत्त्वका सामग्री भेटिएका छन् । स्थानीयवासीले खेतबारी जोत्ने र खाल्डो खन्ने क्रममा अनौठा इँटा, भाँडाकुँडा र इनार भेटेका हुन् ।

“ती सामानको कुनै सरकारी निकायबाट खोज तथा अनुसन्धान भएको छैन । बारीमा तरकारी लगाएका थियौँ,” स्थानीय मञ्जु बरालले भन्नुभयो, “ट्युबेलको पानीले पुग्दैन भनेर इनारका लागि खाल्डो खन्दै थियौँ । अलिकति गहिरो खन्दा घ्याम्पो आकारको पुरानो इनार पो भेटियो ।” गाउँलेले गाड्धन होला भनेर अनुमान लगाए पनि त्यहाँ कुनै बहुमूल्य धातु भने नभेटिएको उहाँले बताउनुभयो ।

बरालका अनुसार उक्त इनार आठ फिट गहिरोसम्म उधिनेर फेरि पुरिएको छ । बरालकै खेतबारीमा अहिले गाई, कुखुरा र मान्छेको पाइला अङ्कित अनौठा चारपाटे इँटा धेरै भेटिएका छन् । “हेर्दा बिस्कुट जस्ता चारपाटे यी सबै पुराना इँटा हुन्”, उहाँले बारीका इँटा देखाउँदै भन्नुभयो ।

च्याङ्ग्राबन्ध गाउँमा विराट राजाको दरबारको भग्नावशेष हुनसक्ने स्थानीयवासीको अनुमान छ । दक्षिण झापामा किच्चकबधस्थल र विराटनगरमा विराट राजाको दरबार रहेको पहिचान भइसकेकाले मध्यभागमा पर्ने यो स्थान विराट राज्यकालीन हुनसक्ने नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटाले बताउनुभयो ।

“मैले पनि त्यहाँ भेटिएका अनौठा इँटा हेरेको छु,” उहाँले भन्नुभयो, “अहिलेसम्म सरकारी तहबाट कुनै खोज अनुसन्धान नभएकाले ती वस्तु कहिलेका हुन् भनेर यकिनका साथ भन्न सकिने अवस्था रहेन । ती सामान पुरातात्विक महत्त्वका हुन् भनेर चाँही सजिलै अनुमान गर्न सकिन्छ ।”

सापकोटाले च्याङ्ग्राबन्ध गाउँका धेरै खेतबारीमा विसंं २०४२ देखि नै पुराना इँटा र भाँडाकुँडा भेटिएको जनाउँदै पुरातत्व विभाग र इतिहासका अन्वेषकहरुले चासो राख्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार किच्चकबध क्षेत्र नजिकै भएकाले ती सामग्री र भग्नावशेष विराट राज्यकालीन हुनसक्ने सम्भावना छ ।

हल्दिबारी गाउँपालिकाका गुनासो सुन्ने अधिकारी राजन न्यौपानेले पुराना भाँडाकुँडा र इँटा भेटिएको भन्ने सुन्नमा आएको बताउनुभयो । ती सामान कति ऐतिहासिक छन् भनेर अनुसन्धानको खाँचो रहेको उहाँले बताउनुभयो ।

हल्दिबारीबाट १७ किलोमिटर सडक दूरीमा ऐतिहासिक किच्चकबधस्थल रहेको छ । विराट राज्यकालीन किच्चकलाई बध गरिएको स्थानको रुपमा किच्चकबध स्थललाई मानिएको छ । किच्चकबध स्थलमा विराट राज्यकालीन इँटा, पर्खाल, भवन र इनार सतहमुनि पुरिएको अनुमान गरिएको छ । जसमध्ये इँटा, पर्खाल र भाँडाकुँडा उत्खनन् गरेर निकालिएका छन् ।

च्याङ्ग्राबन्धमा अहिले भेटिएका इँटा किच्चकबध स्थलमा उत्खनन्बाट भेटिएका इँटासँग मिल्दोजुल्दो रहेका पत्रकार सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हल्दिबारी–४ मै खेतबारीमा पूरानो पर्खालको एउटा भग्नावशेषसमेत भेटिएको छ ।

स्थानीयवासीका अनुसार यहाँ राणाकालदेखि नै एक जना सेनाका जर्नेलले हुकुम प्रमाङगीबाट २० बिघा जग्गा पाएका थिए । स्थानीयवासीले सोही कारण गाउँलाई जर्नेल कामत पनि भन्ने गरिएको बताएका छन् ।
-रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।