सुनापति गाउँपालिकालाई थाङकु-थाङ्का हब घोषणा

रामेछाप । मौलिकता जर्गेना गर्ने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ रामेछापको सुनापति गाउँपालिकालाई थाङकु÷थाङ्का हब घोषणा गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा सुनापति गाउँपालिका र सुनापति प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबार गाउँपालिकालाई ‘सुनापति थाङकु÷थाङ्का कला हब’ घोषणा गरिएको हो । पालिकाको वडा नं ४ मा आयोजित एक औपचारिक कार्यक्रममार्फत बागमती प्रदेशका प्रदेशसभा सदस्य युवराज चौलागाईंले सोको घोषणा गरेका हुन् । घोषणासँगै पालिकामा ३ महिने थाङ्का कला प्रशिक्षण सुरुवात भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका प्रदेशसभा सदस्य चौलागाईंले थाङ्का हब घोषणालाई लिएर पालिकाका सबै जनताले गौरव गर्नुपर्ने धारणा राखे । उनले मौलिक कलालाई जर्गेना गर्दै रोजगारीसँग जोड्नु सराहनीय कार्य भएको सुनाए । उनले भने, ‘गाउँपालिकाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्न यो एउटा उत्कृष्ट कार्यक्रमको सुरुवात भएको छ । यसलाई बचाउन र विकास गर्न जरुरी छ । मैले यसलाई पहिलो पाइलाको रूपमा लिएको छु ।’ प्रदेश सांसद चौलागाईंले थाङ्का कला पहिचान र अर्थतन्त्रसँग जोडिएको बताउँदै यसले अर्थतन्त्रमा विशिष्ट योगदान दिने बताए । उनले यस्ता कला र सम्पदा केन्द्रित कार्यक्रम अन्य पालिकाले पनि ल्याउने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले पालिकालाई थाङ्का हब घोषणा गर्नुको मुख्य उद्देश्य अग्रज कलाकारलाई सम्मान गर्दै उनीहरूको ज्ञान नयाँ पुस्तामा लैजानु पनि भएको बताए । उनले प्रतिष्ठानले मौलिकता जोगाउने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने उद्देश्य राखेर हबको अवधारणा अघि सारेको जानकारी दिए । उनले भने, ‘यसले पर्यटनसँगै देशको अर्थतन्त्रलाई समेत योगदान दिनेछ ।’

यस्तै, स्वागत मन्तव्य राख्दै पलिकाका वडा नं ४ का अध्यक्ष डुन्डुप लामाले सुनापतिलाई थाङ्काको छुट्टै ब्राण्ड बनाउनुपर्ने बताए । वडाका प्रायः व्यक्तिहरू अग्रज थाङ्का कलाकारहरू भएको बताउँदै उनले भने, ‘यहाँ सिकेर बस्नुभएकाले पनि यसलाई निरन्तरता दिनुपर्छ । थाङ्का व्यवसायीसँग छलफल गर्नुपर्छ र यसको निरन्तरता हुनुपर्छ ।’

गाउँपालिकाका पूर्वअध्यक्ष धावा लामाले नेपालमा गणतन्त्र प्राप्त भइसकेपछि सीप सिकाएर देशको उन्नतिमा लाग्नुपर्ने धारणा राखे । गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले यस कार्यक्रमलाई पालिकाको पाँचवटै वडामा लैजाने बताए । उनले भने, ‘यहाँका महिला पुरुष सबैले थाङ्का लेखिरहेका छन् । सबैले सिकिरहेका छन् । यसलाई अझै व्यापक बनाउँदै थाङ्का हबलाई अन्तर्राष्ट्रिय करण गर्नुपर्दछ ।’ नेपाल पर्यटन बोर्डका सदस्य रामप्रसाद सापकोटाले कलालाई पर्यटनसँग जोडेर लैजानु पर्नेमा जोड दिए । उनले कलालाई पर्यटनसँग जोड्दै गाउँपालिकालाई सांस्कृतिक केन्द्रको रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमका सभाध्यक्ष तथा सुनापति प्रज्ञा–प्रतिष्ठानका उपकुलपति मानबहादुर दोङले ऐतिहासिक कार्यक्रमको सुरुवात गरेको बताउँदै यसलाई अवसरको रूपमा लिनुपर्ने बताए । उनले थाङ्का कलाको विकासक्रमका बारेमा चर्चा गर्दै यस कार्यक्रममार्फत पालिकामा नयाँ थाङ्का कलाकारको उत्पादन गर्दै नेपालमा थाङ्काको उत्कृष्ट गन्तव्य बनाउने योजना रहेको जानकारी गराए । उनले नेपालको मौलिक कलाको रुपमा हजारौं वर्षदेखि प्रचलित थाङ्का कलालाई विश्व समुदायमा लैजाने र अर्थतन्त्रमा योगदान दिने आफूहरुको लक्ष्य रहेको सुनाए । दोङका अनुसार पहिलो चरणमा सुनापति ४ नं. वडाबाट ४० जना प्रशिक्षार्थी सहभागी रहेको जानकारी दिए । उनले आगामी वर्ष यो कार्यक्रमलाई पालिकाका सबै वडामा विस्तार गरिने बताए ।

३ महिने थाङ्का कला प्रशिक्षण कार्यक्रमको प्रशिक्षकको रूपमा कर्मध्वज सिंह तामाङ, विष्णुबहादुर लामा र टहलबहादुर लामा रहेका छन् । प्रशिक्षणको पहिलो चरण पालिकाको वडा नं ४ का भलवाडी र डहुमा सञ्चालन हुने छ । त्यसपश्चात यसलाई पालिकाका अन्य स्थानमा लगिने छ । समारोहमा विशेष अतिथिको रूपमा पालिकाका उपाध्यक्ष गीता विष्ट, प्रतिष्ठानका प्राज्ञसभा सदस्य लालमान लामा, अशोक लामा, निरीमाया लामा, अग्रज थाङ्का कलाकारहरू साइँला लामा ‘मंगल’, मंगल लामा, हिराबहादुर तामाङ, लालबहादुर तामाङ, सुनापति गाउँपालिकाका प्रशासकीय अधिकृत दिलसुन्दर श्रेष्ठ, विभिन्न दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कमलबहादुर बमले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।