संखुवासभामा आगलागी हुंदा दुई घर जलेर नष्ट,आगो नियन्त्रणमा
धनकुटा । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं.-३ मुढेबजार स्थित रूद्र जिमीको घरमा हिजोबाट लागेको आगलागी नियन्त्रणमा आएको छ ।
सूचना प्राप्त भई तत्काल प्रहरी चौकी शनिश्चरे संखुवासभाबाट प्र.ब.ना.नि अशोक राज अधिकारीको नेतृत्वमा प्रहरी टोली परिचालित भई स्थानीयबासिन्दा समेतको सक्रिय सहभागितामा आगलागि नियन्त्रणको प्रयास भएको,आगोलागि नियन्त्रणको लागि इ.प्र.का चैनपुर संखुवासभाबाट प्रहरी निरीक्षक बाबुराम कार्की समेतको प्रहरी टोलि, प्रहरी चौकी खराङ तथा टुटेदेउराली संखुवासभाबाट समेत प्रहरी टोलि तथा स.प्र.बल नेपाल अरूण गुल्म चैनपुर, संखुवासभाबाट स.प्र.नि सनत कुमार राई समेतको सशस्त्र प्रहरी टोलि परिचालित भएको। आगलागि नियन्त्रणबाहिर जान नदिन आवश्यक समन्वय गरी जिल्ला तेह्रथुम बसन्तपुर स्थित लालिगुराँस नगरपालिकाबाट तथा म्याङ्लुङ नगरपालिकाबाट आएको बारूणयन्त्रको सहायताबाट आज करिब दिनको २ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
आगलागीबाट ढुँगा माटोले बनेको जस्ताको छानो भएको स्थानीय रूद्र जिमीको २ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको, मानवीय तथा चौपाया क्षति नभएको, अधिकांश महत्वपूर्ण सामाग्रीहरू घरबाट सुरक्षित निकालिएको छ ।
उक्त आगलागी विद्युत सर्ट भई शुरू भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।आगलागीबाट भएको क्षतिको विवरण संकलन भईरहेको छ।


