जीवन्त हाँडीगाउँ कार्यक्रम दोस्रो चरणमा प्रवेश तयारी

काठमाडौँ । हरेक शनिवार हाँडीगाउँ (नरः) मा हुँदै गरिँदै आएको सवारी प्रयोग निषेध (कार फ्री) कार्यक्रमबाट सांस्कृतिक, सामाजिक तथा वातावरणीय सुधारमा नतिजा आएको छ ।

यो पहिलो चरणको सफलता हो । बालबालिकाहरु मोबाइल छोडेर सडकमा खेल्न आउन थालेका छन् । टाढाका साथीसँग होइन, नजिकका साथीहरुसँग घुलमिल हुन थालेका छन् । पाका उमेरका व्यक्तिहरु घर बाहिर आउन, चोक र डवलीमा बस्न थालेका छन् । दौँतरी उमेरका व्यक्तिहरुसँग गफ गर्न पाएका छन् । स्थानीयले मौलिक खाना खान रेष्टुरेन्ट जानु परेको छैन, आफ्नै आँखा अगाडि पकाएको मौलिक र ताजा खानेकुरा खान पाइएको छ । हेर्दा सामान्य लागे पनि यस्ता क्रियाकलापले सामाजिक, सांस्कृतिक, स्वास्थ्य, शिक्षा र वातावरणमा पार्ने प्रभाव अमुल्य छ । 

कार्यक्रमका बारेमा चर्चा गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘सांस्कृतिक र सामाजिक जीवनको अपनत्वले मात्र दिगो खुशी दिन सक्छ ।

सम्पदा पुनरुत्थान र हिँड्ने संस्कृतिको प्रबर्धन यही खुशीका लागि हो ।’ हाँडीगाउँमा गएको ७ महिनादेखि हरेक शनिवार चलिरहेको सवारी प्रवेश निषेध कार्यक्रमको कुरा गर्दै उनले भनिन्, ‘सुरु गर्ने बेला चुनौती लागेको थियो । कार्यान्वयनमा कार्यक्रमले अनेक चुनौती सामना गर्दै धेरै सिकाइ प्राप्त गरेको छ । अवको काम भनेको, प्राप्त उपलब्धीलाई जोगाउन स्थानीयको क्षमता विकास बढाएर कार्यक्रम सञ्चालन, हस्तान्तरण गर्नु र सिकाइलाई अन्य वडामा विकास गर्नु हो ।’

सम्पदा तथा पर्यटन विभागले आयोजना गरेको सिकाइशालामा उपप्रमुख डंगोलले यस्तो धारणा राखेकी हुन् । सम्पदा तथा पर्यटन विभागसँगै वातावरण व्यवस्थापन विभागले जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो) सँगको सहकार्यमा ११ वटा वडामा ‘स्वच्छ हावा’ कार्यक्रम सञ्चालन भएको छ । जीवन्त हाँडीगाउँ कार्यक्रमका विभिन्न अङ्गमध्ये स्वच्छ हावा पनि एउटा कार्यक्रम हो । 

समुदायलाई वायु प्रदुषण र यसले जनस्वास्थ्य तथा वातावरणमा पार्ने नकारात्मक प्रभाव बुझाएर प्रदुषण नियन्त्रणका लागि उनीहरुलाई नै सक्रिय सहभागी गराउने कार्यक्रमको उद्देश्य हो । यसका लागि ‘वायु प्रदुषण नियन्त्रण नागरिक सञ्जाल’ गठन गरिएको छ । यसमा वडा नं. १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २५ र ५ वडा समेटिएका छन् । 

कार्यक्रममा सम्पदा समितिका संयोजक आशामान संगतले, पशुपति क्षेत्रमा सवारी प्रवेश निषेध गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिए । ‘प्रकृति र संस्कृति जोगाउन हाँडीगाउँमा थालिएको अभ्यास अन्यत्र वडामा विस्तार भइसक्नु पर्ने हो । त्यसो हुन सकेको छैन ।’ उनले राम्रा र नराम्रा कामको विस्तार हुने अभ्यासमा चर्चा गर्दै भने, ‘महामारी जसरी फैलिन्छ त्यसरी राम्रा काम फैलिए कति असल हुन्थ्यो? नराम्रा कुरा र काम आगो जसरी फैलिन्छन् । राम्रा काम फैलाउन धेरै प्रयत्न गर्नुपर्छ । अब हामी यसलाई वृहत रुपमा विस्तार गर्दै लानेछौँ ।’ 

हाँडीगाउँलाई लिच्छवीकालीन स्वरुपमा रुपान्तरण गर्ने योजना कार्यान्वयन थालिएको हो । वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले भने, ‘केही असजताका कुरा आउन सक्छन् । केही विरोध हुन सक्छ तर असल नियतले काम गरेपछि सबै खालका चुनौतीको सामना गर्न सकिन्छ । हामी हाँडीगाउँको जीवन्तताका लागि यसरी नै काम गरिरहेका छौँ ।’ 

अहिले थालिएको कामको नतिजा अहिले धेरै नदेखिन सक्छ । यो क्रमिक परिवर्तन हुने कुरा हो । प्रजापतीले, कम्तीमा २० बर्ष काम गर्नु पर्ने, यसलाई निरन्तर ५० सम्म चलाएपछि हाँडीगाउँ पुरानै लयमा फर्किने बताए ।

कार्यक्रममा एफएचआइ स्वच्छ हावाका विजया राजवैद्यले, वायु प्रदुषणमा यातायात क्षेत्रको सम्बन्ध,  दिगो विकास संस्थाका अर्वन स्पेस मेकिङ् स्पेसलिष्ट, निहारिका माथेमाले पैदलीकरणमार्फत सहरी सम्पदा संरक्षण, एन्फोका वरिष्ट परियोजना अधिकृत सिर्जना शाक्यले, महानगरपालिका र साझेदारको सहकार्यमा सञ्चालन भएका कार्यक्रमका बारेमा प्रस्तुतिकरण गरेका थिए । 

सहरी सुविधामा सवारी साधनलाई केन्द्रमा राखिएकाले सम्पदा, संस्कृति, सामाजिक जीवन र वातावरणमा नकारात्मक असर देखिएको उनीहरुको भनाइ थियो । यसका असरबाट बच्नका लागि सवारी साधनको प्रयोगलाई घटाउने, हिँड्ने संस्कृति बढाउने कार्यक्रममा जोड दिनु पर्ने उनीहरुको सुझाव छ । हिँडेर गर्न सकिने कामका लागि सवारी साधनको प्रयोग घटाउन सके मात्र पनि यसबाट धेरै लाभ पुग्ने उनीहरुको भनाइ छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।