यसरी गरियो भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

काठमाडौं, १ जेठ । मध्यबानेश्वरमा रहेको भ्याली भ्यु स्कुलले विद्यार्थी नेतृत्व चयनका लागि आमनिर्वाचनको  झल्को दिने गरी प्रयोगात्मक अभ्यास गराएको छ। आआफ्नो सदनको लिडर चुन्न वास्तविक निर्वाचनको आभास हुने गरी आइतबार विद्यार्थीहरू निर्वाचनमा होमिएका थिए।

आफ्नो सदनको कप्तान र उप-कप्तान छान्न विद्यार्थीले निर्वाचनका सबै प्रक्रिया अपनाएका थिए। उनीहरूले नामावली प्रकाशन, उम्मेदवारी दर्ता, मतदान चिह्न प्रदान, मौन अवधि, मतगणना, नतिजा घोषणा, शपथग्रहणलगायत प्रक्रिया अपनाएका थिए। विद्यालयले हरेक वर्ष विद्यालयभित्रका सदनहरूको नेतृत्व चयनमा यसरी नै निर्वाचन गराउँदै आएको छ।

४ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीले हरेक वर्ष यस प्रकारको चुनावी अभ्यास गर्दै आएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सन्तोष चापागाईं बताउँछन्। विद्यालयको मतदान प्रक्रियामा विद्यार्थीकै सक्रियता रहने गरेको र विद्यालय प्रशासनले सहयोग गर्ने गरेको विद्यालय संयोजक कृष्ण प्रसाद मैनालीले जानकारी गराए।

मतदान कार्यक्रमका लागि
विद्यालयका प्राचार्यलाई निर्वाचन आयुक्त नियुक्त गरी  निर्वाचन  आयोगसमेत गठन गरिएको थियो। यस्तो अभ्यासबाट विद्यार्थीले साँच्चै निर्वाचन कस्तो र कसरी हुन्छ? भनेर प्रत्यक्ष सिक्ने मौका पाउने प्राचार्य सुभाषचन्द्र भण्डारीको भनाइ छ। ‘देशको नेतृत्व चयन गर्दा जुन प्रकारको चुनावी अभ्यास अपनाइन्छ, विद्यालयले गरेको अभ्यास चुनावमा पनि सोही प्रक्रिया अपनाइएको छ,’ भण्डारीले भने।

विद्यालयका चारवटा सदनका उम्मेदवारले मत माग्ने, आफ्ना अजेन्डा प्रस्तुत गर्ने, मौन अवधिको पालना गर्नेलगायत नियम पालना गरेका थिए। ‘यसप्रकारको अभ्यासले विद्यार्थीले निर्वाचन के हो र कसरी गरिन्छ भन्ने कुरा राम्ररी सिक्न पाउँछन्, अर्को उनीहरूले आ–आफ्नो विद्यालय सदनको नेतृत्व पनि छान्छन्,’ प्राचार्य भण्डारीले भने, ‘यसप्रकारको अभ्यासले प्रयोगात्मक ज्ञान, सिप अभिवृद्धि गर्न र बालविकासमा पनि यथेष्ट सहयोग गर्छ।’ मतदान प्रक्रियाबाट सदनका लागि कप्तान,  उपकप्तानका लागि एक–एकजना विद्यार्थी निर्वाचित हुने व्यवस्था रहेको छ ।

अतिरिक्त क्रियाकलाप प्रयोगात्मक शिक्षाको बलियो आधार भएकाले विद्यालयले यस्ता खाले थुप्रै प्रयोगात्मक क्रियाकलाप गर्दै आएको भ्याली भ्यु स्कुलका माध्यमिक संयोजक दिपक मिश्रले प्रस्ट पारे। उनले विद्यार्थीहरूको चौतर्फी विकासमा विद्यालय सधैँ प्रतिबद्ध रहेको बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।