नक्साल ढुङ्गेधारा पुनरुत्थान: पानीको निकास थुन्नेलाई जरिवाना

काठमाडौँ । नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी) पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ । पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने यसका ३ वटा मुख्य समस्या थिए ।

समस्या पहिचान गर्ने क्रम गएको बर्ष २०८० असोज महिनाबाट सुरु भएको हो । त्यस बेला महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) हिति आसपासका क्षेत्रमा गएर पूर्वावस्थाका बारेमा जानकारी र विद्यमान अवस्थाका बारेमा स्थानीयसँग छलफल गरेका थिए ।  उनको अवलोकनपछि कामले तीब्रता पायो । वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन अहिले भएको काम चानचुने होइन । यसबाट ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुनेछ । 

हिति पुनरुत्थान भनेर संरचना बनाएर मात्र हुने थिएन । यसका समस्या पत्ता लगाउनु थियो । हिति संस्कृतिका बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्थाको विश्लेषणबाट पानीको निकास दिइएको ठाउँमा ३ वटा घरले निकास थुनेको पत्ता लाग्यो । ‘स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना तिराएर जरिवानाबाट प्राप्त रकमबाट निकास खोलिसकिएको छ ।’ प्रमुखका सचिवालय सदस्य विनय शाक्यले पानीको निकास सम्बन्धी समस्या समाधान भइसकेको जानकारी दिए । 

निकास खोलियो, अबको काम मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरुत्थानको काम गर्ने हो, शाक्यले योजना सुनाए । धाराको निकास रोकिएको विषय पुरातत्व विभागले २०३९ सालमा अभिलेखन गर्दाको दस्तावेज ‘काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुको विवरण’ मा उल्लेख गरिएको छ । यसमा भौतिक अवस्था उल्लेख गर्दै, ‘गाहिटि भएकोले बेला बेलामा निकास बन्द भइ पानी जम्ने गर्दछ । ढुङ्गेधाराको पानीको मुहान सुकेको छ ।’ यस्तै सुझाव दिँदै, ‘समय समयमा सरसफाइ गर्नुका साथै पानीको स्रोत पत्ता लगाइ आवश्यक व्यवस्था गर्नुपर्ने’ भनिएको छ । यो विवरणले विगत ४० बर्षअघिदेखि पानीको निकास बन्द भएको देखाउँछ । वडा नं. १ का सचिव सर्वज्ञराज पौडेल स्थलगत अवस्था सुनाउँदै भने, ‘ढुङ्गेधारा भइकन पनि विगतमा यो पानी जमेर पोखरी जस्तो र फोहोर जम्मा हुने ठाउँ थियो ।’ 

पुरातत्व विभागको अभिलेख तयार पार्दा स्थापना, पानीको स्रोत तथा मुहान, यससँग सम्बन्धित सांस्कृतिक, सामाजिक पक्ष भए नभएको उल्लेख गरिएको छैन । धार्मिक पक्ष उल्लेख गर्दै ऐतिहासिक विवरण शीर्षकमा, ‘लिच्छवीकालीन वास्तुकलामा एक अनुपम नमूनाको रुपमा रहेको यो गाहिटि (ढुङ्गेधारा) को रुपमा मात्र नभइ उमामहेश्वर एवं प्राचीन शिवलिङ्ग स्थापना भएको धार्मिक पुण्य स्थलका रुपमा कायम रहँदै आएको थियो ।’ भनिएको छ । विवरणमा धार्मिक स्थलका रुपमा कस्ता क्रियाकलाप वा संस्कार हुन्थे भन्ने चाहिँ उल्लेख छैन । 

विवरणमा स्मारकको महत्वका विषयमा भनिएको छ, ‘ढुङ्गेधाराका मुखलगायत चतुर्मुखी शिवलिङ्ग, चतुव्र्युह चैत्य, चार नारायण मूर्ति, उमामहेश्वर एवं गदाधर नारायणका मूर्ति प्राचीन पुरातात्विक महत्व भएकोले धार्मिक सहअस्तित्वका दृष्टिले महत्वपूर्ण रहेको छ ।’

हितिको प्रयोग ‘दैनिक पूजाआजा र जल चढाउनका लागि हुने गरेको’ विवरणमा उल्लेख छ । विवरणमा उल्लेख भएका क्रियाकलाप हेर्दा पनि जलसम्पदासँग धार्मिक, सामाजिक र सांस्कृतिक प्राचीन सम्बन्ध अझ केलाउनु पर्ने देखिएको छ । 

ढुङ्गेधाराको पुनरुत्थानका लागि सहयोग गर्दै आएका स्थानीय मनोज ताम्राकार भन्छन्, ‘धनबज्र बज्राचार्यले ढुङ्गेधाराको इतिहासका सम्बन्धमा उल्लेख गर्दै वि. सं. ६७८ मा स्थापना भएको बताएका छन् ।’ हितिको पुनरुत्थानका लागि विगत प्रयासका बारेमा जानकारी दिँदै ताम्राकार भन्छन्, ‘पानीको निकास बन्द भएपछि २०५८ सालतिर निकास खोज्ने प्रयास भयो । मंगाल खोज्ने क्रममा एक जना व्यक्तिको मंगालभित्रै मृत्यु भएपछि त्यसपछि कुनै प्रयास गरिएको थिएन । अहिले काम भएको हो ।’ 

यसपटक सफाइ गर्ने क्रममा पहिले जेट मेसिनको प्रयोग भएको थियो । यसबाट परिणाम नआएपछि मानवीय स्रोतको प्रयोग गरेर निकास खोलिएको, सचिवालय सदस्य शाक्यको भनाइ छ । 

अहिलेसम्म प्राप्त भएको उपलब्धीलाई संस्थागत र दिगो बनाउन स्थानीय सहभागिता रहने गरी संयन्त्र बनाएर हिति संस्कृति संरक्षण र पुस्तान्तरणको काम गर्नेछौँ । वडासचिव पौडेलले योजना सुनाए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।