‎किसानमाथि तस्करीको आरोप,आफ्नै खेतमा छर्ने बीउ फिर्ता लिन किसानले तिरे १४ हजार ६९० रुपैयाँ ‎

रौतहट, १० मंसिर। सरकारले किसानको मागअनुसार समयमा मलखाद र बीउ उपलब्ध गराउन नसक्दा सीमावर्ती क्षेत्रका किसान भारतीय बजारमा निर्भर हुनुपरेको छ। तर, खेतीपातीका लागि भारतबाट बीउ र मल ल्याउँदा सुरक्षाकर्मीले नियन्त्रणमा लिने तथा भन्सारमा बुझाउने घटनाले किसान थप मारमा परेका छन्।

यसैको पछिल्लो उदाहरण रौतहटमा देखिएको छ। आफ्नै खेतमा छर्न भारतबाट ल्याएको गहुँको बीउ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएपछि चार जना किसानले आफ्नै बीउ फिर्ता पाउन १४ हजार ६९० रुपैयाँ खर्च गर्नुपरेको छ।

रौतहटको गढीमाई नगरपालिका–३ गम्हरियाका गङ्गा राउत, जादोलाल ठाकुर, बिन्देश्वर राउत र केदार राउतले भारतको घोडासहनबाट ल्याएको चार बोरा गहुँको बीउ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर गौर भन्सार कार्यालयमा बुझाएको थियो।

भन्सार कार्यालयले बीउ लिलामी प्रक्रिया अघि बढाएपछि किसानहरू आफैँ लिलामीमा सहभागी भएर आफ्नै बीउ सकार्न बाध्य भएका हुन्। खेतमा छर्न ल्याएको बीउ फिर्ता पाउन उनीहरूले १४ हजार ६९० रुपैयाँ तिर्नुपरेको छ।

पीडित किसानहरूका अनुसार खेतमा छर्नका लागि एक–एक बोरा गहुँको बीउ ल्याएका थिए। तर, बङ्कुल नाकास्थित बसिर चोकमा सशस्त्र प्रहरीले रोकेर बीउ नियन्त्रणमा लिएको उनीहरूको भनाइ छ।

किसानहरूले खेतीका लागि ल्याएको बीउलाई तस्करीको आरोप लगाउँदै आफूहरूमाथि अपमानजनक व्यवहार गरिएको गुनासो गरेका छन्। उनीहरूका अनुसार बीउ व्यापारिक प्रयोजनका लागि नभई आफ्नै खेतमा छर्न ल्याइएको थियो।

यता, सशस्त्र प्रहरी बीओपी सरमुजवाका इन्चार्ज इन्स्पेक्टर अच्युत सुवेदीले भने तस्करी गरेर ल्याइएको बीउ नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको दाबी गरेका छन्।

केही महिनाअघि सशस्त्र प्रहरीका एआईजी गणेश ठाडा मगरले सीमावर्ती क्षेत्रका किसानलाई खेतीपातीका लागि मलखाद र बीउ ल्याउँदा अनावश्यक दुःख नदिन बीओपीहरूलाई निर्देशन दिएका थिए। तर, त्यसपछि पनि किसानमाथि भएको कारबाहीले उक्त निर्देशनको कार्यान्वयनबारे प्रश्न उठाएको छ।

स्थानीयवासीले सीमाबाट रातिको समयमा अवैध सामान ओसारपसार हुने गरेको आरोप लगाउँदै खेतीका लागि बीउ र मल ल्याउने किसानले भने दिउँसै सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेको आरोपसमेत स्थानीयले लगाउँदै आएका छन्। 

सरकारले समयमै आवश्यक बीउ र मल उपलब्ध गराउन नसक्दा किसान भारतीय बजारमा निर्भर हुनुपर्ने अवस्था छ। यस्तो अवस्थामा आफ्नै खेतमा छर्न ल्याएको बीउसमेत नियन्त्रणमा लिएर भन्सारबाट फिर्ता लिन रकम तिर्नुपर्ने घटनाले सीमा सुरक्षा, भन्सार प्रक्रिया र किसानमैत्री व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ।

खेतीपातीका लागि आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनु र वास्तविक किसानलाई अनावश्यक झन्झटबाट मुक्त गर्नु राज्यको जिम्मेवारी हो। किसानलाई राहत दिनुपर्ने समयमा आफ्नै बीउ फिर्ता लिन रकम खर्च गर्नुपर्ने अवस्थाले कृषि क्षेत्रप्रति सरकारी संवेदनशीलतामाथि प्रश्न खडा गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖