ताप्लेजुङमा लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत साइबर अपराधबारे सचेतना कार्यक्रम सम्पन्न
ताप्लेजुङ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ताप्लेजुङमा साइबर अपराध तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजनामा मंसिर १० गते फुङलिङ नगरपालिका–४ स्थित पाथीभरा बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा क्याम्पसमा स्नातक तहमा अध्ययनरत करिब १०० जना छात्रछात्राको सहभागिता रहेको थियो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक पुजन बुढाथोकीले साइबर अपराध, साइबर सुरक्षा तथा अनलाइन माध्यमबाट हुन सक्ने जोखिमबारे सचेतनामूलक जानकारी प्रदान गर्नुभएको थियो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीहरूलाई डिजिटल माध्यमको सुरक्षित प्रयोग, साइबर अपराधबाट बच्ने उपाय तथा अनलाइन हिंसाबारे सचेत गराउने उद्देश्य राखेको थियो ।
