वर्तमान सरकार ढल्दैन तर सरकार सरकार जस्तो भएर चल्नुपर्छ ः कोइराला

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् ।

मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको प्रस्ट्याए । आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै कोइरालाले सरकारले उद्देश्य अनुरुप कार्य भने गर्न नसकेको टिप्पणी गरे । ‘यो सरकार ढल्दैन चल्छ । तर सरकार सरकार जस्तो भएर चल्नुपर्दछ,’ कोइरालाले थपे, ‘गाडीमा झण्डा हल्लाउँदै हिंड्न र जनताले तिरेको करबाट सेवा सुविधा खान मात्रै सरकार बनेको होइन । मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ । जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ ।’

कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गरे । उनले आर्थिक विकास र सुशासनमा सरकारले काम गर्न नसकेको हो कि भन्ने महसुस हुन थालेको बताए । उनले भने, ‘यो सरकार बनेको धेरै भएको छैन । तर यो बीचमा सुशासन र आर्थिक विकासको क्षेत्रमा जुन रुपमा काम हुनुपर्ने थियो त्यसअनुसार काम भइरहेको छैन । सरकार परिवर्तन भएको अनुभूति जनताले गर्ने हो । मलाई लाग्छ जनताले सरकार परिवर्तनको अनुभूति गरेका छैन जस्तो लाग्दछ ।’ उनले नेपाली जनताले धेरै चिज नखोजेको तर्क गर्दै भने, ‘सुशासन, आर्थिक विकास भए नेपाली जनता खुसी हुन्छन् । सुशासन र आर्थिक विकास भए रोजगारी सिर्जना हुँदै जान्छ ।’

सरकार परिवर्तन हुँदा पनि सुशासनमा कुनै सुधार नभएको भन्दै नेता कोइरालाले भने, ‘सुशासन बिना आर्थिक विकास हुँदैन । सुशासन कायम गर्न सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्दछ ।’ त्यस्तै कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने कोइरालाको प्रस्टीकरण थियो । नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । ‘संविधान संशोधन छुट्टै आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर हुन्छ सबै दलको सहमतिमा गर्नुपर्दछ,’ उनले थपे, ‘हामी ठूला दल छौं भन्ने दम्भ राखेर एकलौटी रुपमा संशोधन गर्न खोजिए त्यसलाई नेपाली जनताले स्वीकार्दैनन् ।’

सरकारमा रहेका दलले विपक्षी दल फुटाउने र राज गर्ने प्रवृत्ति बढे लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिए । उनले भने, ‘सरकारले दलसम्बन्धी अध्यादेश ल्याउने चर्चा सुनिँदैछ । दल फुटाउने गरी अध्यादेश ल्याइए लोकतन्त्र र सुशासनको धज्जी उड्नेछ ।’

कोइरालाले २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन हुनेमा शंकासमेत व्यक्त गरे । वडा तहदेखि केन्द्रसम्मको अधिवेशन तोकिएकै मितिभित्र सम्पन्न नगरे कांग्रेस कमजोर हुने उनको कथन थियो । ‘कसैलाई खुसी पार्न र कसैलाई कुर्सीमा टिकाइराख्ने बहानामा कांग्रेसको महाधिवेशन सार्नुहुँदैन,’

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, मोरङका कार्यक्रबाहक सभापति भक्तिनाथ माझी, विराटनगर महानगरका मेयरसमेत रहेका उपसभापति नागेश कोइराला, महासमिति सदस्य मानबहादुर लिम्बू, वसन्त भट्टराई, क्षेत्र नम्बर १ का सभापति शंकर राई, सैनिक संघका केन्द्रीय सभापति मेघराज टण्डन, निवर्तमान सभापति कर्णेल धनबहादुर राना, नेपाली कांग्रेस विराटनगरका सभापति दीपक चापागाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अधिवेशनले प्रेम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको मधेश प्रदेशबाहेक ६ वटा प्रदेश र ६५ वटा जिल्लामा संगठन विस्तार भइसकेको केन्द्रीय सभापति मेघराज टण्डनले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।