तेह्रथुममा टिकटक बनाउने क्रममा खोलामा खसेर एक बालिका सहित दुई जनाको मृत्यु
तेह्रथुम । तेह्रथुममा टिकटक बनाउने क्रममा खोलामा खसेर एक बालिका सहित दुई जनाको मृत्यु भएको छ ।
खोला किनारमा टिकटक बनाउने क्रममा लडेर दुईजनाको मुत्यु भएको हो । मृत्यु हुनेमा एक युवती र एक बालिका रहेका छन् ।
शनिबार दिउँसो तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरू शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरू खोलामा बगेका थिए ।
शनिबार अपराह्न खोलामा बगेका उनीहरूको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिए । शव मृतकका परिवारलाई आइतबार मात्र बुझाइने उनले बताए ।


