लिम्बुवान आन्दोलन नयाँ सिराबाट थाल्नुपर्ने अभियन्ताहरूकाे जिकिर

दमक । लिम्बुवान आन्दोलनकाे गति सुस्त भएकोले नयाँ विन्दुबाट सुरु गर्नुपर्ने अभियन्ताहरूले बताएका छन् । विघटनबाट जाेगाउन पुनः एकीकृत आन्दोलनमा जाेड दिँदै वक्ताहरूले साे कुरा ओैँल्याएका हुन् ।

लिम्बुवान मुक्ति माेर्चाकाे ३९ ओैँ स्थापना दिवसको अवसर पारेर सङ्घीय लिम्बुवान पार्टी नेपालले शुक्रबार दमकमा राखेकाे कार्यक्रम बाेल्ने अधिकांश वक्ताहरूले एकीकृत शक्ति निर्माण र आन्दोलनमा जाेड दिएका छन् ।

माेर्चाका संस्थापक महासचिव हरिलाल तुम्रोकले सङ्गठन स्थापना भएको चार दशक हुँदासम्म धैर्यतापूर्वक लागेको भन्दै लिम्बुवान राज्य स्थापना गर्न सबैलाई एक ढिक्का हुन आग्रह गरे । ‘त्यतिबेला हामी जवान थियौँ । जाेश जाँगरका साथ लड्याैँ । पञ्चायतकालदेखि गणतन्त्रकालसम्म आइपुग्याैँ,’ उनले भने, ‘अब लिम्बुवान क्षेत्रीय स्वायत्तता चाहने एक ठाउँमा आएर सङ्घर्ष गर्नुपर्छ ।  लिम्बुवान मुक्ती मोर्चा ‘सङ्घीयवादी’का अध्यक्ष राजकुमार पालुङ्वाले गाेलमेच सम्मेलन गरेर लिम्बुवान चाहनेहरूलाई एक ठाउँमा ल्याउनुपर्ने बताए । उनले सन् १७७४ मा भएको लिम्बुवान-गाेरखा सम्झाैतालाई मूल आधार मानेर लिम्बुवान सुनिश्चित गरिनुपर्ने जनाए । सङ्घीय लिम्बुवान राज्य परिषदकाे पूर्वमहासचिव पनि हुन् ।

त्यसैगरी, परिषदका संस्थापक नेता देशु वनेमले सर्वदलीय गठबन्धन बनाएर सबै विचारधारा र सिद्धान्तमा विश्वास गर्ने नेता कार्यकर्ताहरूलाई लिम्बुवान आन्दोलनमा समाहित गर्नुपर्ने धारणा राखे । उनले लिम्बुवान आन्दोलनको शैली र प्रणाली समयअनुसार बदल्नुपर्ने जनाए ।

लिम्बुवान ब्रदरहुडका अध्यक्ष मिक्तोक इवाले जुनसुकै शासनप्रणाली आए पनि लिम्बुवान सुनिश्चित नभएकोले विचारणीय कुरा भएको भन्दै सशक्त आन्दोलन गर्न तयारी थाल्नुपर्ने बताए । लुङ्वा मासिकका प्रधान सम्पादक सेसेमी से नाल्बोले लिम्बुवान सङ्गठनका संस्थापकहरूले पनि आत्मलाेचना गरेर अघि बढ्नुपर्ने र नयाँ पुस्ता जाेड्नुपर्ने बताए ।

वक्ताहरूले उठाएको विचार उपर टिप्पणी गर्दै साँस्कृतिक अभियन्ता एवम् लेखक अमित थेवेले लिम्बुवान आन्दोलनको गम्भीर समीक्षा हुनुपर्ने जिकिर गरे । उनले सन् २०१२ मा संयुक्त लिम्बुवान माेर्चा नेपालले निर्माण गरेको लिम्बुवानकाे राजनीतिक रुपरेखा र अन्तरिम संविधानकाे अपनत्व लिनुपर्ने बताए । ‘डेमोक्रेटिक, मार्क्सवादी, सङ्घीयवादी सबै धारहरूले मिलेर बनाएको साझा दस्तावेज हाे लिम्बुवानकाे अन्तरिम विधान । यसलाई पुनः अपनत्व ग्रहण गरेर जानुपर्छ,’ उनले भने, ‘लिम्बुवानवादीहरूकाे साझा माेर्चा बनाएर सङ्घर्ष हुँदै चुनावी गठबन्धनसम्म जानुपर्छ । कि, सडक आन्दोलनबाट नभए शक्ति निर्माण गरेर संविधान संशोधनसम्म जानुपर्छ ।’ उनले राजनीतिक क्रान्तिअघि बाैद्धिक, साँस्कृतिक र सामाजिक क्रान्तिकाे चरणहरू पूरा गर्नुपर्ने आवश्यकता भएको जनाए ।

सङ्घीय लिम्बुवान पार्टीका अध्यक्ष मित्र लिङ्देन ‘मिसाम्’ले सञ्चालन गरेको कार्यक्रम माेर्चाका संस्थापक हरिलाल तुम्राेककाे सभापतित्वमा भएको थियोे । उक्त अवसरमा कालिम्पाेङका कवि विशाल नाल्वाेले दुई थान कविताहरू सुनाए । कार्यक्रममा संस्थापक सदस्य उदीप तुम्रोक, डम्बर लिम्बु, कर्ण नेम्बाङ, आन्दोलनकर्मी दिशा क्षेत्री, युमा लिम्बु लगायतको उपस्थिति रहेको थियोे ।

सन् १९८६ डिसेम्बर २० तारिखका दिन याक्थुङ भाषाका सर्जक एवम् आन्दोलनकर्मी वीर नेम्वाङले लिम्बुवान मुक्ति माेर्चा गठन गरेर क्षेत्रीय स्वायत्तताकाे माग गरेका थिए । उनले सन् १७७४ मा गरिएको नेपाल-लिम्बुवान सन्धीलाई मुख्य आधार मान्दै आएका छन् । उनले ज्यादै ‘विवादास्पद’ मानिएको जनमत सङ्ग्रहकाे मुद्दा पनि उठाएका छन् । जसले मेचीपूर्व टिष्टापश्चिमसम्मकाे भूगोलको बारे राजनीतिक निर्णय गरिनुपर्ने नेम्वाङकाे धारणा छ ।

सन् २०१४ (०७१) मा पाँच लिम्बुवानजन्य सङ्गठन (कुमार लिङ्देन ‘मिराक्’ नेतृत्वको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, सञ्जुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद, वीर नेम्वाङ नेतृत्वको लिम्बुवान मुक्ति मोर्चा, रामभक्त कुरुम्वाङ नेतृत्वको लिम्बुवान मुक्ति मोर्चा-नेपाल र कमल छाराहाङ नेतृत्वको संघीय गणतान्त्रिक पार्टी) हरू बीच भेडेटारमा एकता भएकाे थियोे । एकतापछि सङ्घीय लिम्बुवान पार्टी नेपाल रहन गयाे ।

तर, एकता दुई वर्ष पनि टिकेन । पार्टी अध्यक्ष लिङ्देन ‘मिराक्’ले पुरानो मञ्च ब्युताएर निर्वाचन आयोगमा दर्ता गरे । उपाध्यक्ष खगेन्द्र माखिमले तत्कालीन संसफाे नेपाल (अहिले जसपा) सँग एकता गरे । सञ्जुहाङ पालुङ्वा राष्ट्रिय जनमुक्ति पार्टीसँग एकता गरेर नेपाल जनमुक्ति पार्टीमा छन् । छाराहाङ स्वर्गवास भइसकेका छन् । कुरुम्वाङ पार्टीभन्दा बढी धार्मिक सङ्गठन र प्रदेश एककाे पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिमा सक्रिय छन् । सर्वमान्य नेता वीर नेम्वाङचाहिँ जीवनसंगिनी एवम् नेतृ आशा सुब्बा(नुगाे)काे स्वास्थ्य स्थितिका कारण गाउँघर(बरबाेटे, इलाम)तिरै छन् । उपाध्यक्ष ज्ञान बहादुर गुरुङकाे टिम रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीमा विलय भयाे । अहिले त्यो समूह पहिचानवादी माेर्चामा आएको छ । पार्टी अत्यन्तै कमजोर अवस्थामा पुगेपछि पुराना लिम्बुवान आन्दोलनकर्मी मित्र लिङ्देनले सम्हालिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।