पत्रकारलाई जहाँ समस्या पर्छ, त्यहाँ पुगेर प्रेस चौतारी नेपाल लडेको छ : हीरामान लामा
रामेछाप । प्रेस चौतारी नेपालका केन्द्री महासचिव हीरामान लामाले प्रेस चौतारी नेपाल श्रमजीवीहरूको साझा संस्था भएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवस तथा रामेछाप जिल्लाको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै महासचिव लामाले प्रेस चौतारी नेपाल राजतन्त्र विरुद्ध आगो ओकल्ने पत्रकारले स्थापना गरेको संगठन भएको बताउनुभयो । ‘हामीले लोकतन्त्रका लागि लड्यौँ, श्रमजीवी पत्रकारको हितको लागि लड्यौँ, पत्रकारको समस्या जहाँ छ, त्यहाँ पुगेर समस्या समाधान गर्नको लागि हामी लडेका छौँ, हाम्रो इतिहास गौरवपूर्ण छ’, उहाँले भन्नुभयो ।
उहाँले नेपालेको इतिहासमा आमसञ्चार सम्बन्धी कानुन बनाउन प्रेस चौतारी नेपालले गरेको योगदानको कुरा दस्ताबेजले बोल्ने उहाँले गर्नुभयो । जेष्ठ पत्रकार सुरक्षा भत्ता, पत्रकार दुर्घटना बिमा लगायतका काम प्रेस चौतारी नेपालको अगुवाइमा भएको उहाँले बताउनुभयो । ‘ प्रेस चौतारी नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको पेसागत हक, श्रम अधिकारको संरक्षण, सूचना हकको रक्षा र व्यावसायिक पत्रकारिताको रक्षाको लागि सम्झौताहीन संघर्ष गर्दै आएको छ’, उहाँले भन्नुभयो ।
नेपाली समाज परिवर्तन र रूपान्तरणमा प्रेस चौतारी नेपालले सञ्चारको क्षेत्रबाट देखाएको बाटो र उज्यालो उत्तिकै गौरवमयी रहेको उहाँले दाबी गर्नुभयो । ‘त्यसैले त प्रेस चौतारी नेपालका सदस्य हुनुमा सबै श्रमजीवी पत्रकारहरूलाई गर्व छ’, उहाँले भन्नुभयो ।
उहाँले समय बदलिएसँगै पत्रकारिता क्षेत्रका विषय पनि बदलिएका बताउनुभयो । अब सबैको ध्यान समाजवाद निर्माण तर्फ उन्मुख हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘प्रेस चौतारी नेपाललाई हामी नलेज सेन्टरको रूपमा स्थापित गर्न चाहन्छौँ, प्रेस चौतारी नेपाललाई रिसर्च सेन्टरको रूपमा स्थापित गर्न चाहन्छौँ’, उहाँले भन्नुभयो ।


