रौतहटमा यसरी भयो सरस्वतीको मूर्ति बिसर्जनको विवाद अन्त्य

सञ्जय मिश्रा,रौतहट । स्थानीय प्रहरी-प्रशासनको सक्रियतामा रौतहटको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरक्षेत्रमा सरस्वतीको मूर्ति बिसर्जन गरिएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मी, नेपाली सेनाका कर्णेल किशोरकुमार अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक दिलीप घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईं र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख अभिनय कुमार सिंहको उपस्थितिमा बुधबार ईशनाथ नगरपालिका ६ र ७ स्थित दुई र अन्य दुई गरी चार विद्यालयको सरस्वतीको मूर्ति बिसर्जन गरिएको हो।

गत वर्ष यही दुई विद्यालयको मूर्ति बिसर्जन गर्ने विषयमा विवाद हुँदा स्थानीय प्रशासनले चार दिनसम्म कर्फ्यू लगाएको थियो।

जिल्लाका सुरक्षा अधिकारीहरूको उपस्थिति तथा सयौं प्रहरी परिचालन गरी ईशनाथ ७ बड़का घिउरा गाउँस्थित बिपी कोइराला आदर्श प्रावि र वडा ६ शिव मन्दिरनजिकै रहेको आधारभूत विद्यालयको मूर्ति गाउँको उत्तरपट्टी रहेको पोखरीमा दिउँसो ३ बजे बिसर्जन गरिएको रौतहटका एसपी घिमिरेले बताए।

मूर्ति बिसर्जन गर्नुअघि सुरक्षा अधिकारीहरूले हिन्दू तथा मुस्लिम पक्षका स्थानीय अगुवाहरूसँग छलफल गरेका थिए।

हिन्दू अगुवासँगको छलफलमा मूर्ति बिसर्जन गर्न जानेक्रममा भोजपुरी गीतमा डिजे नबजाई कसैलाई असर नपर्ने गरी शान्ति सुरक्षा साथ बिसर्जन गर्ने सहमति भएको थियो।

त्यसैगरी, मुस्लिम अगुवासँगको छलफलमा यसै वर्ष केही महिनाअघि नै पूर्ण शान्तिका साथ बिनाअवरोध महाबिरी झण्डा जान दिएर ४१ वर्षको रेकर्ड तोडिएको एसपी घिमिरेले जानकारी दिएका छन्।

सुरक्षा अधिकारीहरूको पहल तथा सक्रियताले घिउरा गाउँको दुई, मोतिपुर गाउँको एक र राजपुर गाउँस्थित एक गरी संवेदनशील चार विद्यालयमा पूजाको लागि बनाइएको सरस्वतीका मूर्ति बुधबार सहज रुपमा बिसर्जन गरिएको सिडियो हिरालाल रेग्मीले बताएका छन्।

प्रत्येक वर्षझैं यस पटक पनि सरस्वतीको मूर्ति बिसर्जनको क्रममा हिन्दु मुस्लिमबीच सम्प्रदायिक बिवाद नहोस् भनेर स्थानीय प्रशासनले बिहानैदेखि पूर्ण रूपमा सक्रियता देखाएको थियो।

सिडियो रेग्मीको नेतृत्वमा जिल्लाका सबै सुरक्षा प्रमुखहरू बुधबार ईशनाथ नगरपालिका स्थित संवेदनशील मानिएको विद्यालयमा खटिएका थिए।
मूर्ति बिसर्जनको क्रममा कुनै अप्रिय घटना हुन नदिन उक्त क्षेत्रमा २५० जना नेपाल प्रहरी,२०० बढी सशस्त्र प्रहरी परिचालन गरिएको सिडियो रेग्मीले जानकारी दिए।

सिडियो रेग्मीसहित रौतहटस्थित यही सुरक्षा अधिकारीको नेतृत्वमा केही महिनाअघि घिउरा गाउँमा शान्तिपूर्ण तरिकाले महाबिरी झण्डा निकालेर ४१ वर्षको रेकर्ड ब्रेक गरिएको थियो।

त्यसैगरी बुधबार पनि सुरक्षा अधिकारीको सक्रियताले ईशनाथ र राजपुरमा बिना रोकटोक सरस्वतीको मूर्ति बिसर्जन हुँदा दुबै समुदायका मानिस खुसी भएका छन्।

यसअघि प्रत्येक वर्ष महाबिरी झण्डा र सरस्वतीको मूर्ति बिसर्जनको क्रममा अश्लील भोजपुरी गीतमा डिजे बाजा बजाएको लगायत विभिन्न विषयमा हिन्दू-मुस्लिमबीच सम्प्रदायिक विवाद हुँदा कैयौं दिनसम्म कर्फ्यू लगाउनुका साथै जिल्लादेखि प्रदेश सम्मका सुरक्षा प्रमुखहरू उक्त क्षेत्रमा केन्द्रित हुने गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।