नेपाल-भारत कृषि सम्मेलन २०२५ सम्पन्न, नेपाली टोलीको सक्रिय सहभागिता
मधुबनी, बिहार – भारतको मधुबनीस्थित कृषि विज्ञान केन्द्र, चानपुरा मा आयोजित कृषि विकास सम्मेलन तथा मेगा एग्री एक्स्पो २०२५ सम्पन्न भएको छ। नेपाल सरकारका पूर्व सचिव डा. योगेन्द्र कुमार कार्कीको नेतृत्वमा ३४ सदस्यीय नेपाली टोलीले सम्मेलनमा सक्रिय सहभागिता जनाएको थियो।
फेब्रुअरी ७ देखि ९ सम्म चलेको यो अन्तर्राष्ट्रिय सम्मेलन “कृषि विकासका लागि दृष्टिकोण र उदाउँदो चुनौतीहरू – २०२५” भन्ने विषयवस्तुमा केन्द्रित थियो। सम्मेलनमा नेपाल र भारतका कृषि विज्ञ, उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाल-भारतबीच कृषि प्रविधि, उत्पादन, बजारीकरण, तथा कृषि नवप्रवर्तन सम्बन्धी अनुभव आदान-प्रदान गर्ने अवसर प्रदान गर्नु यसको प्रमुख उद्देश्य थियो।
कार्यक्रममा भारतका बिहारका राज्यपाल श्री राजेन्द्र विश्वनाथ आर्लेकर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने भारत सरकारकी खाद्य तथा उपभोक्ता संरक्षण मन्त्री लेशी सिंह को विशेष उपस्थिति रहेको थियो।
सम्मेलनको आयोजना एस. के. चौधरी ट्रस्ट द्वारा गरिएको थियो, जसका अध्यक्ष डा. सन्त कुमार चौधरी हुन्। डा. चौधरी, जो शिक्षाका माध्यमबाट समाज रूपान्तरणमा विश्वास गर्नुहुन्छ, कृषि क्षेत्रमा नवीनतम प्रविधि भित्र्याउन यस्ता सम्मेलनहरू आवश्यक रहेको बताउँदै, नेपाल र भारतबीचको कृषि सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपालबाट सहभागी टोलीले विभिन्न सत्रहरूमा कृषि प्रविधि, जैविक खेती, जलवायु परिवर्तन, पशुपालन, कृषि वित्त, महिला सशक्तिकरण तथा उद्यमशीलता प्रवर्द्धन जस्ता विषयहरूमा छलफल गरे।
यस सम्मेलनले नेपाल र भारतबीच कृषि क्षेत्रमा नवीनतम प्रविधिको आदान-प्रदान, सहकार्यका सम्भावनाहरू पहिचान, तथा किसानहरूको आय वृद्धिका लागि रणनीति निर्माण गर्ने अवसर प्रदान गरेको छ। सम्मेलनको समापन सत्रमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
नेपालका कृषि व्यवसायी, अनुसन्धानकर्ता र नीति निर्माताहरूका लागि यस्ता सम्मेलनहरू ज्ञान आदान-प्रदान गर्ने तथा नवीनतम प्रविधि सिक्ने महत्त्वपूर्ण अवसर हुने विश्वास गरिएको छ।


