बिर्तामोड नगरपालिकाले हटायो १८ जना करारका कर्मचारी
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले १८ जना करारका कर्मचारीलाई सेवाबाट हटाएको छ। अन्तरिम सरकारको निर्देशनबमोजिम दरबन्दीभन्दा बढी रहेका ती करारका कर्मचारीहरूलाई भोलि (कात्तिक १ गते) देखि लागू हुने गरी कामबाट हटाइएको हो।
नगरपालिका कार्यालयले दिएको जानकारीअनुसार हटाइएका कर्मचारीहरूमा नगर प्रमुख पवित्रा महतारा प्रसाईका स्वकीय सचिव, कानुनी सल्लाहकार, उजुरी प्रशासक, दुईजना कम्प्युटर अपरेटर, एकजना अमिन, एकजना ना.प्रा.स., प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका दुईजना कर्मचारी र ६ जना सुरक्षागार्ड रहेका छन्। उनीहरूलाई कात्तिक १ गतेदेखि कार्यालयमा हाजिर नहुन भनिएको छ।
दरबन्दीभन्दा बढी कर्मचारी करारमा नराख्न अन्तरिम सरकारले देशभरका स्थानीय तहहरूलाई निर्देशन दिएपछि विभिन्न पालिकाहरूले त्यसलाई कार्यान्वयन गर्न थालेका छन्। बिर्तामोड नगरपालिकाले पनि सोही निर्देशनअनुसार करारका कर्मचारीहरूलाई हटाउने प्रक्रिया अगाडि बढाएको हो।
सरकारको निर्देशनले गर्दा अब धेरै पालिकाहरूमा करारमा नियुक्त गरिएका कर्मचारीहरूको कटौती हुने क्रम बढ्ने देखिएको छ।


