विराटनगरबाट स्रोत नखुलेको करिब साढे ८ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ
विराटनगर । विराटनगरबाट स्रोत नखुलेको करिब साढे ८ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले विराटनगर–१२ सैनिक टोलमा चेकजाँचका क्रममा रकम बरामद गरेको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार भारतीय नम्बर प्लेट बीआर ३८ भी ३३२८ नम्बरको मोटरसाइकल रोक्दा मोरङ जहदा–७ का ४६ वर्षीय नवीन साहले हेल्मेटभित्र लुकाएको ८ लाख ४७ हजार रुपैयाँ फेला परेको थियो।
रकमको स्रोत खुलाउन नसकेपछि साहलाई नियन्त्रणमा लिइएको र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे इन्स्पेक्टर कवीन राईको नेतृत्वमा थप अनुसन्धान भइरहेको छ।


