सप्तरीको कबिर बाबा मन्दिरका पुजारीको गोली प्रहार गरी हत्या
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८, काचनस्थित कबिर बाबा मन्दिरका ७३ वर्षीय पुजारी रामदुलार साहको आइतबार बिहान अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ।
पुजारी साह मन्दिर परिसरमै कुटी बनाएर एक्लै बस्दै आएका थिए। राति करिब २ बजे अज्ञात समूहले उनलाई सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरेको प्रहरी र परिवारजनले जानकारी दिएका छन्।
घटनास्थलबाट गोलीका दुई खोका फेला परेका छन्। शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गौतमकुमार केसीले बताएका छन्।
घटनापछि सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिहरूमाथि कडाइका साथ चेकजाँच सुरु गरिएको छ।


