झापाको बिर्तामोडमा करेन्ट लागेर एक महिलाको मृत्यु
झापा। झापाको बिर्तामोड नगरपालिका–१०, फेसबुक चोक नजिकै करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
स्थानीय ५५ वर्षीया तालामाई मर्डी कात्तिक ७ गते शुक्रबार दिउँसो करिब १२:१५ बजेतिर मृत अवस्थामा फेला परेकी हुन्।
प्रहरीका अनुसार, मर्डीले छिमेकी कुमार मगरको घरबाट बिजुली जोडेर आफ्नो घरमा बाल्ने गरेकी थिइन्। घरको बिजुली बिग्रिएपछि उनले तार हेर्दै खेततर्फ जाँदा करेन्ट लागेको अनुमान गरिएको छ। करेन्ट लागेपछि उनी खेतमै घोप्टो परेको अवस्थामा मृत भेटिएकी थिइन्।
घटनास्थलमा इलाका प्रहरी कार्यालय (इप्रका) अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको कमान्डमा SOCO (Scene of Crime Officer) सहितको टोली खटिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ।
मृतक तालामाई मर्डीको शव पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


