झापाको दमकमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक टिनको छानो भएको घर पूर्ण रूपमा जलेर नष्ट
झापा। झापाको दमक नगरपालिका–८, अर्गानिक कृषि भवन नजिकै आइतबार दिउँसो विद्युत् सर्ट भएर आगलागी हुँदा एक टिनको छानो भएको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
२०८२ साल कात्तिक ९ गते आइतबार करिब ४:३० बजेतिर दमक–८ बस्ने रविन खड्काको दुईतले टाँडे घरको पछाडिको कोठाबाट विद्युत् सर्ट भई आगो फैलिएको थियो।
आगलागीबाट खम्बा र काठको बेरासहितको उक्त घर पूर्ण रूपले जलेको छ। घरभित्र राखिएको सम्पूर्ण सरसामान, लत्ताकपडा, भाडावर्तन, अन्नपात, काठपात, फर्निचर र गरगहनासमेत जलेर नष्ट भएका छन्। आगलागीबाट भएको क्षतिको यकिन विवरण भने तत्काल खुल्न सकेको छैन।
स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय (इप्रका) दमकबाट खटिएको प्रहरी टोली, मोरङको उर्लाबारी नगरपालिकाको दमकल र कमल गाउँपालिकाको दमकलको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा आएको थियो।
आगलागी करिब ५:५० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
घटनामा कुनै पनि मानवीय वा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।


