दुई शिक्षकको मृत्यु
महोत्तरी । क्यान्सर रोगको कारण गौशाला नगरपालिकामा कार्यरत रहेका दुई शिक्षकको मृत्यु भएको छ। उपचारका क्रममा रहेका दुई शिक्षकको अकालमै मृत्यु भएको हो।
एक हप्तामै यस पालिकामा सामुदायिक विद्यालयमा कार्यरत रहेका उनीहरुको मृत्यु भएपछि नगरपालिकाको शिक्षामा अतुलनीय क्षति भएको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ।
गौशाला नगरपालिका-८ स्थित वीरेन्द्र मावि वेलगाछीमा स्थायी मावि तहका शिक्षक एवम् सोही विद्यालयका प्रधानाध्यापक रामनारायण साहको मृत्यु भएको छ। उनी लामो समयदेखि मस्तिष्कघातको शिकार रहेका थिए।
त्यस्तै २० वर्षसम्म विद्यालयका बाल विकास शिक्षकका रूपमा कार्यरत रहेकी रेश्मा बलम्पाकीको गत कात्तिक १० गते क्यान्सरकै कारण मृत्यु भएको थियो। सोही पालिकामा रहेको श्री जनता आधारभूत विद्यालय ढल्केवर–८ मा कार्यरत रहेकी शिक्षिका बलम्पाकीको क्यान्सरकै कारण अल्पायुमै मृत्यु भएको थियो।


