तेमालमा ‘तेस्रो वडा अध्यक्ष कप–२०८२’ खुला फुटबल प्रतियोगिता आयोजना हुने
काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ मा ‘तेस्रो वडा अध्यक्ष कप–२०८२ खुला फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ। खेलकुदको विकास, स्थानीय युवालाई सक्रिय बनाउने तथा आपसी सद्भाव र भाइचारा मजबुत बनाउने उद्देश्यले पौष ३० गतेबाट प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
लामाखोर समाज तेमालको आयोजनामा र तेमाल गाउँपालिका–२ नं. वडा कार्यालयको प्रायोजनमा हुन लागेको प्रतियोगिताका लागि २०८२ साल पौष २७ गतेसम्म टिम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। खेलाडी दर्ताका क्रममा अनिवार्य रूपमा ठेगाना खुलेको कागजातसहित नेपाली नागरिकताको प्रतिलिपि वा जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ।
आयोजक समितिका अनुसार तोकिएको मितिमा फाइल बनाएर आवश्यक सम्पूर्ण कागजातसहित खेलाडी दर्ता फाराममा खेलाडीको हस्ताक्षर गरिएको पासपोर्ट साइजको फोटो ३ प्रति अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी प्रत्येक टिमले १० जना खेलाडी, १ जना म्यानेजर र १ जना कोच गरी जम्मा १२ जनासम्म दर्ता गर्न पाउनेछन्। दर्ता फाराममा खेलाडी संख्या ७ जना मात्र भएमा पछि कुनै पनि बेला थपघट वा फेरबदल गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार रु. १,२५,००० नगदसहित कप, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार रु. ७५,००० मेडल र प्रमाणपत्र, तेस्रो पुरस्कार रु. ५०,००० मेडल र प्रमाणपत्र तथा चौथो पुरस्कार रु. २५,००० मेडल र प्रमाणपत्र रहेको छ। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी र उत्कृष्ट किपरलाई जनही रु. ५,००० नगद प्रदान गरिनेछ।
टिम दर्ता शुल्क रु. ६,००० र धरौटी रकम रु. १,००० तोकिएको आयोजकले जनाएको छ।
प्रतियोगिताबारे प्रतिक्रिया दिँदै तेमाल गाउँपालिका–२ का वडाध्यक्ष देवराज तामाङले खेलकुदमार्फत युवालाई सकारात्मक दिशामा डोर्याउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने,
“तेमाल क्षेत्रका युवामा अपार खेल प्रतिभा छ। यस्ता प्रतियोगिताले प्रतिभा पहिचान मात्र होइन, युवालाई अनुशासित र सक्रिय बनाउने काम गर्छ। वडा कार्यालय सधैं खेलकुद, शिक्षा र युवामुखी गतिविधिमा साथ रहनेछ।”
त्यस्तै, आयोजक संस्था लामाखोर समाज तेमालका अध्यक्ष मानविर तामाङले प्रतियोगिता केवल खेलमा सीमित नभई सामाजिक एकताको माध्यम बन्ने बताए। उनले भने, “तेसो वडा अध्यक्ष कप हाम्रो क्षेत्रको पहिचान बनाउँदै लगिएको प्रतियोगिता हो। स्थानीय, क्षेत्रीय तथा बाहिरी टिमहरूबीच स्वस्थ प्रतिस्पर्धा गराएर खेलकुद संस्कृतिलाई मजबुत बनाउने हाम्रो लक्ष्य हो।”
आयोजकले स्थानीय, क्षेत्रीय तथा बाहिरी सबै टिमहरूलाई समयमै टिम दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ। प्रतियोगिताले तेमाल क्षेत्रमा खेलकुद गतिविधि थप सक्रिय बनाउने र युवामा सकारात्मक ऊर्जा फैलाउने विश्वास आयोजकको छ। साथै फाइनलको अन्तिम दिन माघ ३ गते ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितिमा बृहत् सांस्कृतिक कार्यक्रम समेत हुने भएको छ ।




