प्रधानमन्त्री बालेन अमेरिका जाँदा बिदाइ गर्न कोही जानु नपर्ने
काठमाडौं, ६ असोज । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार अमेरिकाको न्युयोर्क जाँदैछन् । चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेनको यो पहिलो विदेश भ्रमण हो । उनी आगामी नोभेम्बरमा भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।
राष्ट्रसंघको ८१औं महासभामा भाग लिन बालेन १४ सदस्यीय प्रतिनिधिमण्डलसहित आज दिउँसो साढे ३ बजे कतार एअरवेजबाट दोहा हुँदै न्युयोर्क जाने कार्यक्रम छ ।
प्रधानमन्त्री बालेनलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक कार्यक्रम राखिएको छैन । परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय, निकायलाई प्रधानमन्त्रीअमेरिका प्रस्थान गर्ने क्रममा र १० गते काठमाडौं आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ र स्वागत समारोह नहुने जानकारी गराएको छ ।
परराष्ट्रको पत्रमा प्रधानमन्त्री बालेन सरकारी निवासबाट गाडीमा सोझै विमानस्थलको ‘टरम्याक’ पुगेर विमान चढ्ने उल्लेख छ ।
‘प्रस्थान तथा आगमनको समयमा अति विशिष्ट कक्ष (भिभिआईपी लाउञ्ज) मा सम्माननीय प्रधानमन्त्रीज्यूको बिदाइ तथा स्वागतका लागि विशिष्ट पदाधिकारीज्यूहरुको उपस्थितिको लागि उर्दीको आवश्यकता नरहेको,’ पत्रमा लेखिएको छ ।
विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलमा बिदाइ गर्नेको ताँती लाग्थ्यो । तर यसपटक भने प्रधानमन्त्री बालेन सामान्य यात्रु झैं न्युयोर्क प्रस्थान गर्ने भएका छन् ।

