वडा कार्यालयले नै ३३ कठ्ठा जग्गा हकभोगका लागि सिफारिस दिएको खुलासा
विशाल बस्नेत/ महाेत्तरी, ६ असाेज । जंगलमा लगाइएका १९५ बिरुवा नष्ट गरिएको क्षेत्रमा वडा कार्यालयबाटै हकभोगको सिफारिस दिइएको खुलासा भएको छ।
महोत्तरीको बर्दिबासस्थित सागरनाथ वन परियोजनाअन्तर्गतको वन क्षेत्रमा १९५ वटा टिकका बिरुवामा साउन २८ गते विषाक्त पदार्थ हालेर नष्ट गरिएको घटना सार्वजनिक भएको थियो।
प्राप्त प्रमाणअनुसार बिरुवा नष्ट गरी जग्गा हडप्ने आरोप लागेका श्रवण साहलाई नै २०८३ वैशाख १५ गते वडाध्यक्ष धीरेन्द्रकुमार सिंहले हकभोगको सिफारिस दिएको देखिएको छ।
सिफारिसमा जानकी साह कानुका छोरा श्रवण साहलाई एक बिघा १३ कठ्ठा जग्गा हकभोगका लागि योग्य भएको उल्लेख गरिएको छ। २५ नम्बर बहादुरगन्ज–४÷क को कित्ता नं. २० बाट ३३ कठ्ठा जग्गा कृषिको लागि हकभोगयोग्य भएको सिफारिसमा उल्लेख छ।
सिफारिस दिइएको तथ्य सार्वजनिक भएसँगै मिलेमतोमै टिकका बिरुवा नष्ट गरिएको हुनसक्ने थप आशंका सिर्जना भएको स्थानीयवासीले बताएका छन्।
‘वनको जग्गामा भूमाफियाको नजर परेपछि सागरनाथ वन परियोजनाले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो । त्यसबेला नै श्रवण साहसहित चारजनालाई कारबाहीका लागि सिफारिस गरिए पनि जिल्ला वन कार्यालयले थप अनुसन्धान प्रक्रिया अघि बढाउन एक महिना बितिसक्दा पनि ढिलाइ गरेको छ।
बनको जग्गा भएको स्वीकारोक्ति तर हकभोगको दावी
जग्गा आफ्नो भएको दावी गर्ने आरोपित श्रवण साहले बनको नै जग्गा भएको स्वीकार गरेका छन् । तर बिरुवा नष्ट गर्ने कार्य आफूबाट नभएको र कसैले आफूलाई फसाउन खोजेको बताउदै आएका छन् । उनले वनको जग्गा एवं बिरुवा नष्ट गर्ने गैरकानुनी कार्यसँग जोडेर आफ्नो नाम जोडेर प्रस्तुत गरेको भन्दै आपत्ति जनाएका छन् ।
तर गैरकानुनी र बनको जग्गा हो भन्ने थाहा पाउँदापाउँदै साहले किन उक्त क्षेत्रको ३३ कठ्ठा जग्गा हकभोगको लागि सिफारिस लिएर भूमि आयोगमा लागत संकलन गरे भन्ने गम्भीर प्रश्न उठेको छ ।
तर बिरुवा नष्ट गरिएको क्षेत्र आफ्नो भएको भन्दै हकभोगको लागि सिफारिस लिने र सागरनाथ वन परियोजनाको प्रतिवेदनमा समेत उनको नाम उल्लेख गरेपछि उनलाई प्रमुख आरोपितको रुपमा उभ्याईएको थियो । वनको जग्गा हडप्ने उद्देश्यले बिरुवा नष्ट गरेको आरोप लागे पनि अनुसन्धानपूर्व नै समाचारलाई लिएर टिप्पणी गर्नु गलत भएको कानुन व्यवसायी मदन अर्याल बताउँछन् ।
वडा कार्यालयको दुईवटा पत्र
वनको जग्गा हडप्ने प्रयास भएको आरोप सतहमा आएपछि स्थानीयवासीले सम्बन्धित वडा कार्यालयमा चासो राखेका थिए। वडाध्यक्ष धीरेन्द्र सिंहले नै गत असोज ८ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिएको पत्रमा उक्त जग्गा कसैलाई पनि हकभोगका लागि सिफारिस नदिएको दाबी गरेका थिए ।
वडाध्यक्ष सिंहले उल्टै वनको जग्गामा भएको क्षतिमा जोसुकै संलग्न भए पनि कारबाहीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसो हुँदा उक्त क्षेत्र वन अन्तर्गत नै रहेको वडाले समेत स्वीकार गरेको थियो । वडा अध्यक्ष सिंहले दिएको जानकारीपत्रमा कसैले गलत विवरण पेस गरी जग्गाको हकभोग वा अन्य सिफारिस लिएको पाइएमा वडा सहजीकरण समितिको स्थलगत अनुगमन वा दाबी–विरोधको सूचना प्रकाशित भएपछि त्यस्ता झुटा विवरणविरुद्ध उजुरी गर्न सकिने उल्लेख गरेका छन् ।
तर, कृषि खेतीयोग्य जग्गाका रूपमा अध्यक्ष सिंहले नै वैशाख १५ गते साहलाई दिएको सिफारिसले गम्भीर प्रश्न उठाएको छ।
सागरनाथ वन परियोजनाले घटनाको प्रतिवेदन तयार गरी भदौ ४ गते नै डिभिजन वन कार्यालय, महोत्तरीमा हस्तान्तरण गरेको भए पनि त्यसपछि कानुनी प्रक्रिया अघि बढ्न सकेको छैन। अहिले डिभिजन वन कार्यालय, महोत्तरीका प्रमुख सूर्य मैनाली प्रदेश कार्यालयबाट सरुवा भएर आएका छन् भने यसअघि कार्यालय प्रमुख रहेका अजय मिश्र प्रदेश कार्यालयमा सरुवा भएका छन्।
तत्कालीन कार्यालय प्रमुख मिश्रले आफ्नो सरुवाको कारणसमेत यही वन प्रकरण भएको बताएका छन्। ‘मैले यो प्रक्रिया अगाडि बढाउन खोज्दै थिएँ। मेरो सरुवाको कारण यो पनि हो,’ प्रमुख मिश्रले भने, ‘त्यहाँ ठूलो बदमासी भएको छ। अब वनले थप अनुसन्धान गरिरहेको छ भन्ने मैले पनि सुनेको छु।’
अहिलेका कार्यालय प्रमुख मैनालीले घटनाको विषयमा आफू गम्भीर रहेको र प्राप्त प्रतिवेदनलाई आधार बनाएर थप अनुसन्धान भइरहेको बताएका छन्। तर, घटनाको प्रतिवेदन तयार गरी डिभिजन वन कार्यालयमा हस्तान्तरण गरेको एक महिना बितिसक्दासमेत कानुनी प्रक्रिया अघि नबढ्नुको कारण अहिले आम चासोको विषय बनेको छ।
राजनीति दलहरुसमेत गुपचुप
यो प्रकरण नगर क्षेत्रमा पेचिलो बने पनि स्थानीय राजनीतिक दलहरु भने मौन बनेका छन् । रास्वपाका केही नेताहरु त घटनालाई गुपचुप बनाउन लागेको रास्वपाका नै कतिपय नेताहरुले आरोप लगाएका छन् । यही प्रकरणले आन्तरिक तिक्तता समेत बढेको देखिएको छ ।
रास्वपाका नेता देवनारायण महतो कतिपय नेताहरु वनको उक्त जग्गा श्रवन साहको नाममा नै बैध करार गर्न लागिपरेको आरोप लगाए । ‘रास्वपाको नगर कमिटी नै स्थलगत अनुगमनमा गएको थियो । उनीहरुले त्यसलाई बाहिर आउँन नै दिएनन,’ उनले भने ।‘केही आशा गरेर रास्वपा प्रवेश गरेको थिए अहिले शुशासनलाई भद्दा मजाक बनाईदै छ ।’
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा यो विषयमा अहिलेसम्म बोल्न सकेका छैनन् । नेकपाका जिल्ला इन्चार्ज प्रकाशहरि पोखरेलले वातावरण नै मानव अस्तित्वको मूल आधार भएको बताउँदै त्यस्ता बदमासीहरुलाई ढाकछोप गर्न नहुने उल्लेख गरे ।

