फुटबलका ‘ड्राइभर’ दीपेन्द्र धिमाल : मैदानदेखि नेतृत्वसम्मको अविस्मरणीय यात्रा

घनश्याम भण्डारी ,उर्लाबारी  । फुटबलको मैदानमा बलसँगै दौडिने एउटा नाम थियो- दीपेन्द्र धिमाल बल । नियन्त्रण गर्ने, विपक्षीलाई छक्याउँदै अघि बढ्ने र सहकर्मीलाई सटीक पास दिने उहाँको शैलीले दर्शकलाई रोमाञ्चित बनाउँथ्यो । साथीहरूले माया गरेर दिएको एउटा उपनाम थियो- ‘ड्राइभर’ समयसँगै त्यो उपनाम नै उहाँको परिचय बन्यो  ।

पिता लालु धिमाल र माता नापी धिमालको कोखबाट २०२५ सालमा मोरङको उर्लाबारी–६ मा जन्मिएका दीपेन्द्र धिमालको जीवन फुटबलसँगै अघि बढ्यो । सानै उमेरदेखि फुटबलप्रति गहिरो लगाव राख्ने उहाँले स्थानीय मैदानदेखि राष्ट्रियस्तरका चर्चित क्लबहरूसम्म आफ्नो खेलकौशल प्रस्तुत गर्नुभयो  ।

पश्चिम बंगालको चर्चित इस्ट बंगाल, भुटानको थिम्पु टिम, जनकपुर चुरोट कारखाना टिम हुँदै थ्रीस्टार क्लब, ललितपुर सम्म उहाँले फुटबल खेल्नुभयो  । 

मैदानमा उहाँको उपस्थितिले टिममा ऊर्जा थपिन्थ्यो  तर खेलाडीका रूपमा उहाँको यात्रा जति महत्वपूर्ण थियो, त्यसपछिको फुटबल विकासको यात्राले उहाँलाई अझ फरक उचाइमा पुर्‍यायो  ।

उहाँसँगै फुटबल खेलेका धेरै साथीहरू अवसरको खोजीमा देश–विदेश पुगे  तर दीपेन्द्रले आफ्नो माटो छाड्नुभएन  । उर्लाबारीमै बसेर फुटबलको विकासमा निरन्तर लागिरहनुभयो । टोलस्तरका साना कपदेखि गोल्डकपसम्मका प्रतियोगिता आयोजना गर्न उहाँ सक्रिय रहनुभयो । ठूला प्रतियोगिता आयोजना गर्न स्थानीय खेलप्रेमी र युवालाई प्रोत्साहित गरिरहनुभयो । उहाँका लागि फुटबल खेल मात्र थिएन, नयाँ पुस्तालाई जोड्ने माध्यम पनि थियो  ।

खेलाडी उत्पादनमा एउटा लामो छाप

उर्लाबारीबाट नेपाली राष्ट्रिय टोलीमा पुगेका एक दर्जनभन्दा बढी पुरुष तथा आधा दर्जन महिला खेलाडीको यात्रामा दीपेन्द्र धिमालको योगदान जोडिएको पाइन्छ  । त्यस्तै दर्जनौँ खेलाडी ए–डिभिजन लिगसम्म पुगेका छन्  ।

विशेषगरी महिला फुटबलको पुनर्जागरणमा उहाँको भूमिका उल्लेखनीय रह्यो  ।

 महिला फुटबल कमजोर हुँदै गएको समयमै प्लान नेपालसँगको सहकार्यमा उर्लाबारीको आम्बाडी र बयरबनको रमाइलोमा महिला फुटबल प्रशिक्षण क्याम्प सञ्चालन गरियो  । 
ती प्रशिक्षणले स्थानीय किशोरीहरूलाई मैदानमा ल्याउने काम मात्र गरेन, उर्लाबारीमा महिला फुटबलको नयाँ अध्यायसमेत सुरु गर्‍यो  ।

त्यही पुस्ताबाट गंगा गुरुङ, जमुना गुरुङ लगायतका खेलाडी नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य बने  । 

लीला लामगादे, रिता मगर, कविता धिमाल, बिमला लिम्बू लगायत उर्लाबारीका खेलाडी तथा राष्ट्रिय टोली र ए–डिभिजन क्लबमा खेलिरहेका धेरै खेलाडी र नेपाली राष्ट्रिय टोलिकी कप्तान एञ्जिला तुम्बापोको फुटबल यात्रामा उहाँको प्रत्यक्ष वा अप्रत्यक्ष योगदान जोडिएको छ ।

त्यसैले उहाँलाई केवल पूर्वफुटबल खेलाडीका रूपमा सम्झनु अपूरो हुन्छ । उहाँ खेलाडी उत्पादन गर्ने अभियानका एक अभियन्ता पनि हुनुहुन्थ्यो  ।

एपीएफको महिला-पुरुष टोली निर्माणमा पनि योगदान
सशस्त्र प्रहरी बल (एपीएफ) क्लबको स्थापनाकालमा महिला तथा पुरुष फुटबल टोली तयार पार्ने क्रममा पनि दीपेन्द्र धिमालको योगदान रहेको थियो  । मैदानमा आफूले सिकेको अनुभव र फुटबलप्रतिको दृष्टिकोणलाई उहाँले नयाँ पुस्ता र संस्थागत टोली निर्माणमा प्रयोग गर्नुभयो ।

उर्लाबारीको फुटबललाई संगठित र संस्थागत बनाउन उहाँको सक्रियता निरन्तर रह्यो  । 
उर्लाबारी फुटबल क्लबको स्थापनादेखि अध्यक्षको जिम्मेवारी, उर्लाबारी युवा क्लबको संस्थापकको भूमिका, राधिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको पूर्वसदस्यलगायत दर्जनौँ सामाजिक तथा खेलकुद संस्थामा उहाँको संलग्नता रह्यो  ।

खेलाडीबाट नेतृत्वको यात्रासम्म

दीपेन्द्रको यात्रा मैदानमै सीमित रहेन  । उहाँ मोरङ जिल्ला फुटबल संघको सदस्य, दुई कार्यकाल महासचिव र तीन कार्यकाल अध्यक्ष बन्नुभयो  । फुटबलको स्थानीय संरचनादेखि जिल्ला हुँदै राष्ट्रिय तहसम्म उहाँको नेतृत्व स्थापित भयो  ।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को कोशी प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यका रूपमा समेत उहाँले जिम्मेवारी सम्हाल्नुभयो । स्थानीय मैदानमा फुटबलको सुरुवात गरेका ‘ड्राइभर’ अन्ततः नेपाली फुटबलको केन्द्रीय नेतृत्वसम्म पुग्नुभयो  ।

उहाँको जीवनमा फुटबल खेल्ने मैदान फराकिलो हुँदै गयो। कहिले खेलाडी भएर, कहिले प्रशिक्षक र आयोजकको भूमिकामा, कहिले नेतृत्वकर्ताका रूपमा उहाँले फुटबलसँग आफ्नो सम्बन्ध निरन्तर कायम राख्नुभयो  ।

उर्लाबारीको फुटबल सम्झिँदा सम्झिइने नाम

समय बदलियो, मैदान फेरिए ,पुस्ता फेरियो, फुटबल खेल्ने शैली फेरियो, तर उर्लाबारीको फुटबल इतिहासमा दीपेन्द्र धिमालको नाम एउटा पुस्तासँगै जोडिएर रह्यो  ।

उहाँले आफैँले बनाएको बाटोमा धेरै खेलाडी अघि बढे । आफूले समातेको फुटबल अरूको खुट्टामा पुर्‍याउँदै आएका ‘ड्राइभर’ ले एउटा पुस्तालाई मैदानमा ल्याउनुभयो, खेलाडी बन्ने सपना देखाउनुभयो र धेरैलाई राष्ट्रिय तथा व्यावसायिक फुटबलसम्म पुर्‍याउन योगदान गर्नुभयो।

त्यसैले दीपेन्द्र धिमाललाई सम्झिँदा केवल एउटा पूर्वफुटबलरको सम्झना आउँदैन । उर्लाबारीको फुटबल संस्कृति निर्माणमा जीवन समर्पण गरेका एक खेलकर्मी, संगठक र नेतृत्वकर्ताको सम्झना आउँछ ।

मैदानमा बल बोकेर दौडिने त्यो ‘ड्राइभर’ अब मैदानमा हुनुहुन्न  । तर उहाँले अघि बढाएको फुटबलको यात्रा, उत्पादन गरेका खेलाडी र छाडेको योगदानले उहाँलाई उर्लाबारीको फुटबल इतिहासमा लामो समयसम्म सम्झाइरहनेछ  ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖