ताप्लेजुङको दोभान बजारमा आगलागी हुंदा १० घरमा क्षति
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी हुँदा १० वटा घरमा क्षति पुगेको छ।
बुधबार दिउँसो करिब १ः४० बजे डङ्डु शेर्पाको ढुंगा, माटो र टिनको छाना भएको दुईतले घरमा सञ्चालित कपडा पसल तथा होटलबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ। आगो आसपासका घरमा समेत फैलिएको थियो।
आगलागीबाट ९ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने एउटा घरमा आंशिक क्षति पुगेको छ। आगो नियन्त्रणका लागि फुङलिङ नगरपालिकाका दुई वटा दमकलसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न बाँकी रहेको छ भने भौतिक क्षतिको विस्तृत विवरणसमेत संकलन भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

