कांग्रेसले सुदूरपश्चिमको बजेटमाथिको छलफल बहिष्कार गर्ने
काठमाडौं, २७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथिको छलफल बहिष्कार गर्ने भएको छ।
कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले विवादित बजेटमाथिको छलफलमा सहभागी नहुने बताएका छन्। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै कांग्रेसले छलफल बहिष्कार गर्ने निर्णय गरेको उनले बताए।
बजेटमाथि छलफल गर्न मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको थियो। तर, निर्धारित समय बितिसक्दा पनि बैठक सुरु हुन सकेको छैन।
यसअघि सत्तारूढ नेपाली कम्युनिस्ट पार्टीले बजेटमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको थियो। नेकपाले विवादित विषय छानबिनमार्फत टुंग्याउने र त्यसअघि तत्काल बजेट पारित गर्ने तयारी गरेको छ।
नेकपा र एमाले गठबन्धन सरकाले पुरानै ढर्राको बजेट ल्याएको छ । विगतमा कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले गठबन्धन छाडेर नेकपासँग सहकार्य गरेको थियो । खगराज भट्ट नेतृत्वको सरकारले पनि सडक निर्माणमा भन्दा मठमन्दिर निर्माण र मर्मत सम्भारमा दोब्बर बजेट छुट्याएको छ ।


