सुनकोशी-मरिण डाइभर्सनको ठेक्का रद्दमा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे छानबिन गर्न माग 

काठमाडौं, १० मंसिर । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् । 

बिहीबार बिहान उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई पनि छानबिन हुनुपर्ने माग गरेका हुन् । कांग्रेसकै आह्वानमा गत १७ कात्तिकमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् र संसदीय समितिको बैठक बोलाउन माग गरिएअनुसार मंगलबार सार्वजनिक लेखा समिति बैठक बसेर सरकारलाई सात बुँदे निर्देशन दिएको थियो । यही पृष्ठभूमिमा उनले बिहीबार निष्पक्ष छानबिनको माग गरेका हुन् ।

उनले आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक यातना दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको भन्दै छानबिन आवश्यक हुने बताए । ‘ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला तर कानुन कुल्चिने अधिकार छैन । यस घटनामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले भनेका छन् ।

आङ्देम्बेले प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने ठाउँ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । ‘प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातनागृह ?’ उनले प्रश्न गरेका छन्, ‘कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दियो ? ठेक्का रद्द गर्ने कानुनी आधार के हो ? राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने ?’

मंगलबारको समिति बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले ठेक्का रद्द गर्ने सन्दर्भमा सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लंघन र राज्यशक्तिको दुरुपयोगबारे प्रश्न उठाएका थिए । समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन पनि दिएको छ ।
मधेशका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको यो राष्ट्रिय गौरवको आयोजनाको १३ दशमलव ३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको र यस्तो आयोजनालाई सरकारी मनपरी र प्रशासनिक हस्तक्षेपको सिकार बनाइएको भन्दै आङ्देम्बेले पनि असन्तुष्टि जनाएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖