केरुङबाट एक सातासम्म सामान आयात नहुने, यस्तो छ कारण…
रसुवा । चीनसँगको व्यापारीक नाका रसुवागढीमा सोमबारदेखि कन्टेनर सञ्चालन रोकिने भएको छ। माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनले एक साताका लागि माघ १ गतेबाट कन्टेनर सञ्चालनमा रोक लगाउने भएको हो। सामग्री आयातका लागि केरुङ पुगेका कन्टेनरमा आइतबारसम्म शिल लगाइएको छ।

आज शिल लगाइएका कन्टेनर भोलि साँझसम्ममा नेपाल आइसक्ने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए।
सामग्री बोक्ने कन्टेनर सञ्चालन नभएपनि पर्यटक बोक्ने सवारी तथा नागरिकलाई आवतजावत गर्न समस्या नहुने प्रमुख भन्सार अधिकृत कोइरलाले बताए। केरुङमा ल्होसारको समयमा भन्सारको काम ठप्प हुने भएपछि त्यहाँ पुगेका व्यावसायी पनि नेपाल फर्कने तयारीमा रहेका छन्।
व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार केरुङमा रहेका व्यापारी, व्यावसायी र चालक नेपाल फर्कन सुरु गरिसकेका छन् । चिनियाँ भन्सार बन्द हुने भएपछि केरुङ जाने तयारीमा रहेका कन्टेनर जिल्लाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन्।
रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् ।
चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ ।
चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ भने नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरा लगायतका सामग्री निर्यात हुने गरेको छ ।


