राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्बाट माघे संक्रान्ति-माघीको शुभकामना

काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आज मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आ÷आफ्नै राष्ट्रिय महत्व रहेको भन्दै यसले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

यस्ता पर्वले नेपालका विभिन्न जातजाति बीच एकआपसमा भाइचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत गर्ने राष्ट्रपतिले विश्वास व्यक्त गर्नु भएको छ । राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।”

उहाँले सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्नसकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

यसैगरी, उपराष्ट्रपति पुनले ‘नेपालका मगर, थारु र छन्त्याल समुदायको महान् सांस्कृतिक पर्व एवं नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति÷माघी पर्व–२०७४ को पावन अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सूर्य धनु राशीलाई छाडेर मकर राशीमा प्रवेश गरेको तिथिलाई आधार मानेर सम्पूर्ण नेपालीहरुले नै आ–आफ्नो मौलिकतामा धुमधामका साथ मनाउने यस पावन पर्वको माध्यमबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने कुरामा आफु विश्वस्त रहेको उपराष्ट्रपतिले बताउनुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ, “हाम्रा विभिन्न मौलिक चाडपर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्दै विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउँदै हाम्रो राष्ट्रिय एकतालाई सुदृढ् गर्न मद्दत पु¥याइरहेका छन् ।”

माघे संक्रान्ति÷माघी पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्न र देशलाई आर्थिक समृद्धिको मार्गमा द्रुततर गतिमा अगाडि बढाउन सबैलाई प्रेरणा प्रदान गरोस् भनी उपराष्ट्रपतिले कामना पनि गर्नुभएको छ ।

प्रधानमन्त्रीद्वारा माघे संक्रान्ति तथा माघी पर्वको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज एक शुभकामना सन्देशमार्फत यस पर्वले सम्पूर्ण नेपालीबीचमा कायम रहेको सद्भाव, सहिष्णुता र एकतालाई अझ प्रगाढ बनाउँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । साथै, उहाँले थारू समुदायको समग्र हितका लागि संविधानमा थारू आयोगको व्यवस्था गरिएको र यो व्यवस्थाको कार्यान्वयनमार्फत थारू समुदायको विकास र उत्थान हुने उल्लेख गर्नुभएको छ ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक हो । नेपालको संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्थाहरू गरेको छ”–प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖